कानुनमा देखिएका जटिलता हटाउन सरोकारवाला निकायसँग परामर्श गर्नुहोस्–विज्ञ

 असोज २२, २०७५ सोमबार १४:४१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – विज्ञहरुले कानुन निर्माणमा देखिएका जटिलता  हटाउन सरोकारवाला निकायसँग परामर्श गर्न सांसदहरुलाई सुझाव दिएका छन् ।

कानुनविद् काशीराज दाहालले कानुन निर्माणमा देखिएका जटिलता हटाउन सरोकारवाला निकायसँग परामर्श गर्न सांसदहरुलाई सुझाव दिनु भएको हो । सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले कानुन निर्माणका लागि आम नागरिकको धारणा लिन सकिनेतर्फ पनि समितिको ध्यानाकर्षण गराउनुभयो ।

समितिले ऐन निर्माण तथा कार्यान्वयन सम्बन्धमा छलफल गर्न दाहाललाई समितिको बैठकमा बोलाएको थियो । बैठकमा समितिका सदस्यहरुले पनि दोहोरो अर्थ नलाग्ने गरी कानुन निर्माणको काममा केन्द्रित हुनुपर्ने आवश्यक्ता औंल्याएका थिए ।

समितिकी सदस्य उदया शर्मा पौडेलले दोहोरो अर्थ नलाग्ने गरी कानुन निर्माण भए–नभएकोतर्फ समितिले जोड दिनुपर्ने धारणा राख्नुभयो । उहाँले कानुनको प्रभावकारी कार्यान्वयनका लागि पनि समितिले निगरानी राख्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

समितिका अर्का सदस्य ठगेन्द्र प्रकाश पुरीले उपयोगितालाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण भए–नभएको विषयलाई पनि समितिले गम्भीरताका साथ उठाउनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रियसभा अन्तरगतको यो समितिको कार्य क्षेत्रभित्र संघीय संसदमा प्राप्त विधेयकमाथि छलफल तथा विधेयक व्यवस्थापन, ऐन कार्यान्वयन मापन र अनुसन्धानसम्बन्धी कार्य पर्दछ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया