पोखरा प्रिमियर लिगले पायो आईसीसीको अनुमति

 असोज २२, २०७५ सोमबार १६:३२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आउँदो कात्तिक ९ गतेदेखि पोखरा रंगशालामा आयोजना हुन लागेको पोखरा प्रिमियर लिगका लागि आईसीसीले अनुमति दिएको छ ।
 
नेपाल क्रिकेट संघ क्यान निलम्बनमा रहेको अवस्थामा आईसीसीले नै नेपाली क्रिकेटको नियमन गर्दै आएको छ । यसकारण पोखरा प्रिमियर लिगका लागि आईसीसीको अनुमति आवश्यक परेको हो ।
 
पोखरा प्रिमियर लिगका आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले सोमबार आईसीसीको अनुमतिपत्र आएको जानकारी दिए । त्यसबापत आयोजकले २० हजार अमेरिकी डलर तिर्नुपर्नेछ । उक्त रकम नेपाली क्रिकेटको विकासका लागि खर्च हुनेछ ।
 
पोखरा प्रिमियर लिग क्रिकेट आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । त्यसका लागि सहभागी ६ टोलीको घोषणा भइसकेको छ भने खेलाडीको अक्सन पनि सम्पन्न भइसकेको छ ।
 
पोखरा रंगशालाको स्तरोन्नतिको काम पनि अन्तिम चरणमा पुगेको आयोजक संस्थाका प्रवन्ध निर्देशक लामाले जानकारी दिएका छन् । भारतीय क्युरेटरको समन्वयमा पीच निर्माण कार्य भइरहेको तथा अन्तर्राष्ट्रियस्तरको आउटफिल्ड बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ ।
 
प्राकृतिक रुपमा रमणीय पोखरामा क्रिकेट क्रेज बढाएर भविष्यमा सुविधासम्पन्न रंगशालासहित न्युट्रल भेन्यूको रुपमा विकास गर्ने उद्देश्यले पोखरा प्रिमियर लिगको आयोजना गरिएको लामाले बताए । 

याे पनि पढ्नुहाेस्

वाह ! हिमालको काखमा यस्तो राम्रो क्रिकेट मैदान

 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया