बामदेवले भने : पूर्व आईजीपी खरेलले मेरो चरित्र हत्या गर्न खोजे

 असोज २२, २०७५ सोमबार १८:४२:५८ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलले भर्खरै प्रकाशित भएको ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको बताउनुभएको छ ।

सोमबार आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै पूर्वगृहमन्त्री समेत रहनुभएका गौतमले खरेलले लेखेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’ मा आफूलाई इङ्गित गरी एक पत्रकारमार्फत २० लाख रुपैयाँको प्रस्ताव पठाउँदा अस्वीकार गरेको झुटा कुरा लेखेर चरित्र हत्या गर्न खोजेको बताउनुभयो ।

‘खरेलको आत्मकथामा मैले कुन पत्रकार पठाएर २० लाख रुपैयाँ प्रस्ताव गरे । २० लाखको प्रस्ताव लिएर आउने त्यो पत्रकार को थियो ? त्यो खरेलले पुष्टि गर्नुपर्दछ’, उहाँले भन्नुभयो, ‘आफ्नो आत्मकथामा मेराबारे तथानाम जे पायो त्यही झुटा असत्य कुरा लेखेर चरित्र हत्या गर्न खोज्ने ?’

उहाँले खरेलले आईजीपीबाट हटाएको बदलामा आफ्नो आत्मकथामार्फत सार्वजनिक गरेको दावी गर्नुभयो । खरेलले लेखेका कुरामा कुनै सत्यता नभएको उल्लेख गर्दै नेता गौतमले स्थानीय चुनाव गर्न नसक्ने भएपछि पार्टीको निर्देशनमा खरेललाई प्रहरी प्रमुखबाट हटाएको स्पष्ट पार्नुभयो ।

‘मलाई खरेललाई हटाउने चाहना थिएन । म गृहमन्त्री भइसकेपछि तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधव नेपालले पहिलो काम स्थानीय निर्वाचन गर्नुपर्दछ भन्नुभएको थियो’, उहाँले भन्नुभयो, ‘तर, खरेलबाट स्थानीय निर्वाचन हुने सम्भव देखिएन । अनि बाध्य भएर पार्टीकै निर्देशनमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सहमतिमा खरेललाई हटाएको हूँ।’

खरेललाई नहटाएको भए स्थानीय तहको चुनाव हुनै नसक्ने उहाँको दावी थियो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया