गृहजिल्लामा बालकृष्ण ढुंगेललाई सम्मान

 जेठ २४, २०७५ बिहिबार १४:१५:३४ | शिव ढुंगाना

ओखलढुंगा – पूर्व सांसद एवं माओवादी नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाको विभिन्न गाउँका स्थानीयले सम्मान गरेका छन् ।

द्वन्द्वकालको व्यक्ति हत्याको मुद्दामा जेल सजाय भोगेर गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते छुटेका ढुंगेललाई समर्थकले ओखलढुंगाका विभिन्न गाउँमा सम्मान कार्यक्रम आयोजना गरेका हुन् ।  ढुंगेल सम्मान कार्यक्रममा सहभागी हुन बुधबार ओखलढुंगा आउनुभएको थियो । उहाँलाई वामपन्थी युवा मञ्चले सदरमुकाम ओखलढुंगामा औपचारिक कार्यक्रम गरेर बिहीबार सम्मान गरेको छ । 

मानेभञ्ज्याङको केतुके, सिद्धिचरण नगरपालिकास्थित ओखलढुंगा सदरमुकाम र मोलुङ गाउँपालिकाको रामपुरमा ढुंगेललाई सम्मान गरिएको छ । सम्मान कार्यक्रममा ओखलढुंगा आएका ढुंगेलले सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्दोष भएको तर झुटा मुद्दामा फसाइएकाले गम्भीर अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन आग्रह गर्नुभएको छ ।  ‘म हत्यारा भए हत्यारा लेख्नुस्, तर म जिल्लामै नभएको समयका घटनामा झुटा अभियोग लगाएर फसाइएको छ, वास्तविकता अन्वेषण होस्’ उहाँले आग्रह गर्नुभयो ।

ढुंगेलको सम्मानमा नेकपाका नेता तथा कार्यकर्ता र समर्थकहरुको सहभासगता थियो । ढुंगेलमाथि ०५५ सालमा ओखलढुंगाको पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जिल्ला अदालत ओखलढुंगाले कैद सजाय तोकेको थियो । 

तत्कालीन पुनरावेदन अदालत राजविराजले सफाइ दिएपछि ०६४ सालको संविधान सभाको चुनावमा ओखलढुंगाबाट निर्वाचित हुनुभएको थियो । सांसद हुँदा जिल्लाको विकासमा गरेको योगदानकै कारण ओखलढुंगामा ढुंगेललाई विकास प्रेमी नेताको छवि बनाएका छन् ।

०६६ मा सर्वोच्चले जिल्ला अदालतको फैसला सुरु सदर गरेपछि ०७४ सालतमा पक्राउ परि जेलमा सजाय भोगिरहेका थिए । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया