अब कलंकीका सबै काउण्टर हटाइने, दसैंका लागि गाडी नयाँ बसपार्कबाटै छुट्ने

बढी भाडा लिने विरुद्ध तुरुन्त उजुरी गर्न  सरकारको आग्रह

 असोज २३, २०७५ मंगलबार ९:५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दशैंका लागि गाउँघर जाँदा बढी भाडा लिइएको पाइए तुरुन्त खबर गर्न सरकारले आग्रह गरेको छ । केही गाडीले यात्रुलाई ठगीरहेको पाइएकाले सरकारले ठगी गर्नेविरुद्ध तुरुन्त नजिकैको प्रहरी वा ट्राफिक प्रहरी र यात्रु सहायता कक्षमा उजुरी गर्न यात्रुलाई आग्रह गरेको हो । 

यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले  ठगी विरुद्ध उजुरी गरे लगत्तै यात्रुले राहत पाउने दावी गर्नुभएको छ । सरकारले सार्वजनिक गाडीमा १० प्रतिशत भाडा बढाए पछि त्यसको फाइदा उठाउँदै केही गाडीले आफूखुशी भाडा लिइरहेका यात्रुको गुनासो छ । 

यस्तै यात्रु धेरै ठगीएको भेटिएपछि विभागले कलंकीमा रहेका सबै काउण्टर हटाउने तयारी गरेको छ । ट्राफिक प्रहरीसँगको सहकार्यमा विभागले कलंकीका काउण्टर हटाउने तयारी गरेको हो ।

काठमाडौं भित्रने र बाहिरिने मुख्य नाका भएकाले कलंकीमा बिचौलियाको हावी भएको पाइएको छ । पूर्व पश्चिमका गाडी छुट्ने  मुख्य नाका कलंकीमा यात्रुले सम्बन्धित गाडीको काउण्टर भट्दैनन् र बिचौलियाले बीच बाटोमा नै बार्गेनिङ गरेर यात्रुलाई प्रभावित पार्ने गरेका छन् । 

कलंकी हुँदै छुट्ने गाडीलाई अब नयाँ बसपार्कबाट मात्रै छुट्न दिइने यातायात व्यवस्था विभागले जनाएको छ । यस्तै कोटेश्वरमा रहेको काउण्टरबाट पनि यात्रु ठगिएको गुनासो आएकाले अनुगमन थालिएको विभागले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया