सुधार हुँदै सप्तरीको एकमात्र गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल

 असोज २३, २०७५ मंगलबार ११:४:३७ | शुभनारायण यादव

सप्तरी – सप्तरीकाे सदरमुकाम राजविराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तीन महिना अघिसम्म ‘रेफर सेन्टर’का रुपमा मात्र परिचित थियो ।

यो अस्पतालले उपचारका लागि आउने अधिकांश बिरामी धरान, विराटनगर, काठमाडौंलगायतका अस्पतालमा रेफर गर्ने काम मात्र गर्दथ्यो । विशेषज्ञ डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मी नहुँदा उपचारका लागि प्रयोग हुने केही उपकरण पनि  प्रयोगविहीन थिए । चिकित्सक नै नभएपछि बिरामी अन्यत्र रेफर गर्नुको विकल्प थिएन । फोहरमैला फ्याँक्ने र घरपालुवा जनावरको चरनस्थलमा परिणत हुनै लागेको अस्पतालको साख कमजोर हुँदै गएको थियो । कोही पनि चिकित्सक त्यहाँ जान मान्दैनथे ।


 
तर, अहिले अस्पतालले मुहार फेरेको छ । तीन महिनाअघि मात्रै सरुवा भएर आएका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासको कुशल व्यवस्थापनले अस्पताल सुधार हुन थालेको सेवाग्राहीको भनाइ छ । दरबन्दी अनुसारका चिकित्सक तथा कर्मचारी अभाव मात्र होइन, उपचारका लागि अत्यावश्यक उपकरणको अभावसँगै सरसफाइको नभएका कारण अस्पताल अस्तव्यस्त बनेको थियो । 

‘जहाँ चुनौती, त्यहीँ अवसर’ भन्ने उक्ति सार्थक पार्न मेसु दासले आफूलाई खरो उतार्ने अठोट गर्नुभयो । यही अनुरुप काम पनि अघि बढाउनुभयो । उहाँको कुशल नेतृत्व र परिश्रमले अहिले सार्थकता पाउन थालेको छ ।  तीन महिनाको छोटो अवधिमै अस्पतालमा सुधारका संकेत देखिन थालेका छन् ।

‘स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन गर्नु प्रमुख समस्या थियो,’ उहाँले भन्नुभयो, ‘अस्पतालको फोहरकै कारण अनेक जोखिम बढ्ने सम्भावना देखिएपछि मैले त्यहीबाट सुधारको थालनी गरेँ ।’ फोहर मैला व्यवस्थापन योजना नै बनाएर उहाँले अस्पतालको वातावरण सुधारमा पहल सुरु गर्नुभयो । उहाँले भन्नुभयो ‘फोहरका कारण अस्पताल आफैं रोगी देखिएपछि बिरामीको उपचार कसरी गर्नु ?’ 

अस्पतालमा अहिले विद्युत तथा पानी छैन । यसका लागि पहल भैरहेको डा. दासले बताउनुभयो । विद्युत प्राधिकरणका प्राविधक÷कर्मचारीसँग छलफल गरी नियमित विद्युत आपूर्तिका लागि काम सुरु भएको र जेनेरेटर पनि खरिद गरिसकिएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले आठवटै जिल्लाका अस्पतालमा शुद्ध पानीका लागि योजना बनाएको जानकारी आएपछि त्यसका लागि पनि समन्वय भैरहेको उहाँले बताउनुभयो । बाँकी काम पनि क्रमशः गर्दै जाने जानकारी दिँदै उहाँले भन्नुभयो, ‘अस्पतालको अवस्था सुधारेरै छोड्ने हो, त्यसमा कुनै शंका नगर्दा हुन्छ ।’

थपिँदै चिकित्सक 

अस्पतालमा जिम्मेवारी सम्हालेर आएसँगै दासले जनशक्ति व्यवस्थापन पहिलो प्राथमिकतामा राख्नुभएको छ । विशेषज्ञ चिकित्सकको अभावले उपचारमा समस्या भएको अवस्थालाई मध्यनजर गरी उहाँकै प्रयासमा अहिले हाडजोर्नी, सर्जन र बालरोग विशेषज्ञको दरबन्दीमा पदपूर्ति गरिएको छ ।

स्वास्थ्य विभाग तथा राजविराज नगरपालिकाको सहयोगमा करिब आधा दर्जन मेडिकल अधिकृतको पनि व्यवस्था मिलाइएको दासले जानकारी दिनुभयो । नगरपालिकासँगै सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिकाले पनि अस्पताल सुधारमा महत्वपूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको उहाँले बताउनुभयो । अझै पनि विशेषज्ञको अभाव छ । उहाँले भन्नुभयो ‘नाक, कान, घाँटी तथा स्त्री रोग विशेषज्ञको पदपूर्तिका लागि पनि पहल भइरहेको छ तर यहाँ बाहिरका डाक्टर आउनै चाहिरहेका छैनन् ।’

स्वास्थ्य सेवामा यसरी हुँदैछ सुधार

पूर्वाधारका दृष्टिले प्रदेश २ का अन्य ७ जिल्लाको तुलनामा राजविराजको सगरमाथा अञ्चल अस्पताल सबैभन्दा कमजोर रहेको दासको बुझाइ छ । तर पनि उपलब्ध साधन र स्रोतको अधिकतम परिचालन गरी  सुधारको थालनी गरेको दासले बताउनुभयो । उहाँले भन्नुभयो ‘जनशक्ति बढाएर र उपकरण थपेर मात्र अस्पताल सुधार हुने होइन, सिष्टममा सुधार ल्याए सेवाको गुणस्तर आफैं बढ्छ, म त्यसैमा केन्द्रित छु ।’

स्रोत साधन उपलब्ध छैन भनेर हात बाँधेर बस्नुभन्दा भएकालाई सदुपयोग गरी बाँकी विषयमा पहल गर्दा उपयुक्त हुने उहाँ बताउनुहुन्छ । उहाँको यही सकारात्मक सोचका कारण वर्षौंदेखि थन्किएर बसेका ४ वटा डायलायसिस मेसिनमध्ये अहिले ३ वटा सञ्चालनमा आएका छन् । ‘एउटा मेसिनमा केही प्राविधिक समस्या देखिएको छ, त्यसको मर्मतका लागि पहल भइरहेको छ ।’ उहाँले भन्नुभयो । 

सर्जन आएसँगै अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया पनि सुरु भएको छ । यसैगरी, अस्पतालमा शल्यक्रियाद्वारा सुत्केरी गराउने सिजरिङ्ग सेवामा पनि सुधार ल्याइएको दासले बताउनुभयो । गएको साउनमा २४ तथा भदौमा ४६ गर्भवतीको शल्यक्रिया गरी सुत्केरी गराइएको छ । साउनमा २ सय ४४ र भदौमा ३ सय ३१ जनाले अस्पतालबाट प्रसुति सेवा लिएको अस्पतालको रेकर्डमा देखिएको छ । 

थपिँदै सेवाग्राही 

अस्पतालमा आएको सुधारले छोटो समयमा नै सेवाग्राहीको संख्या बढेको छ । अहिले दैनिक दुईसयभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिन थालेका छन् ।  बिरामीको संख्या थपिएसँगै आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको संख्या पनि थप गरिएको डा. दासले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया