‘आम्मै ! छोरामान्छे जस्तै पो रहिछिन् त यी दिदी !’

 असोज २३, २०७५ मंगलबार ११:३४:३ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाडाैं –  उनलाई नपुग्दो केही छैन । दुई भाइ छोरा दुबईमा छन् । जे चाहियो भन्यो, त्यही पठाउन सक्छन् । श्रीमानले यहीँ बसेर टन्न कमाउँछन्, भयो काम गर्न पर्दैन भन्छन् । बिहे भएर अर्काको घर गएका दुई छोरीहरु पनि परेको बेला आमालाई सरसहयोग गर्न तयार छन् । दिनभरी घरमै सुतेर पनि खान पुग्छ । तै पनि उनी चुप लागेर बस्नै सक्दिनन् ।

बिहान ५ बज्नुअघि नै उठ्छिन् । काँधमा ब्याग बोक्छिन् र बाटो लाग्छिन् । अरु ओछ्यानमै हुँदा उनी काम गर्ने ठाउँमा पुगिसक्छिन् । घरबाट लगाएर गएको लुगा फेर्छिन् र काम गर्दा लगाउने लुगा लगाउँछिन् । मोबाइलमा एयरफोन फिट गर्छिन् र तार कानमा सिउरेर गीत सुन्छिन् ।

एकछिन गफगाफ र चियापान भएपछि काम सुरु हुन्छ । खाल्डो खन्ने, माटो बोक्ने, ढुंगा फुटाउने, ढुंगा बोक्ने, सिमेन्ट र बालुवा ओसार्ने, सिमेन्ट मुछ्ने, प्लास्टर गर्ने, सम्याउने लगायत घर बनाउँदा गर्नुपर्ने सबै काम उनले जानेकी छिन् ।

ढुंगा पनि फुटाउँछिन्, गर्हौं भारी पनि बोक्छिन् । कहिले गैंची उठाएर खाल्डो खन्छिन्, कहिले साबेल समातेर माटो फाल्छिन्, कहिले जाबेल समातेर सिमेन्ट घोल्छिन् । पिल्लर हाल्नुअघि काठको फर्मा पनि तयार पार्छिन्, मिस्त्रीले भ्याएनन् भने प्लास्टर गर्न पनि तम्सिन्छिन् ।

उनको काम देखेर अरुले भन्छन्, ‘आम्मै यी दिदी त छोरामान्छे जस्तै बलियो पो रहिछिन्, कति धेरै काम गर्न सकेको ।’ अनि उनले जवाफ दिन्छिन्, ‘हामी चाहिँ छोरामान्छे भन्दा के मा चाहिँ कम छौं त, परिआए सबैथोक गर्न सक्छौं ।’

१५ वर्ष भयो घर बनाउन थालेको

देख्नेहरुलाई छक्कै पार्नेगरी काम गर्न सक्ने गीता सापकोटाको खास घर नुवाकोट हो । बिहेपछि उहाँ श्रीमानसँगै काठमाडौं बस्न थाल्नुभयो । श्रीमान पनि घर बनाउने काम नै गर्छन् । तर उनले गर्ने कामको क्षेत्र अलि फरक छ । गीता ज्यामीको काम गर्नुहुन्छ, श्रीमान चाहिँ रड काट्ने र बुन्ने काम गर्छन् । 
गीता जहाँ घर बनाउन पुग्नुहुन्छ, श्रीमान पनि रडको काम गर्न त्यहीँ पुग्छन् । तर पिल्लर, बिम र ढलान गर्ने बेलामा मात्रै रडको काम हुने भएकाले श्रीमानसँग सधैं काम गर्न पाईंदैन ।

पहिले छोराहरु पनि बावुसँगै काम गर्थे । बिहान क्याम्पस पढ्ने, अनि दिउँसो बावुसँगै रडको काम गर्ने । पछि उनीहरुले विदेश जाने रहर गरे । गीताले यहीँ कमाइ भैहाल्छ, किन जानुपर्यो र विदेश भनेर सम्झाउन खोज्नुभयो । तर छोराहरुले जिद्दी गरेपछि रोक्न सक्नुभएन । अलि वर्षपछि छोराहरु फर्किएर यहीँ काम गर्छन् भन्ने उहाँलाई विश्वास छ ।

पहिले श्रीमानले मात्रै काम गर्थे । छोराछोरी हुर्किसकेपछि भने गीतालाई पनि काम गर्न मन लाग्यो । श्रीमानले पर्दैन त भन्दै थिए, तर उहाँले मान्नुभएन । जे आउँछ, त्यही गर्छु भनेर सुरुमा घर बनाउने ठाउँमा ढुंगा माटो बोक्ने काम गर्न थाल्नुभयो । भारी बोक्दै गर्दा घर बनाउने अरु काम पनि सिक्नुभयो ।
‘१५ वर्षअघि ढुंगामाटो बोक्न मात्रै आउँथ्यो, अहिले सिमेन्टको प्लास्टर गर्न पनि आउँछ’ गर्वका साथ गीताले सुनाउनुभयो ।

उहाँको काम देखेर सँगै काम गर्ने मिस्त्रीहरु पनि छक्क पर्छन् । ‘दिदीलाई नआउने केही छैन, हामीले जत्तिकै जानिसक्नुभएको छ’ सँगै काम गर्दै गरेका मिस्त्री विशाल मगरले भन्नुभयो ।

‘काम गर्नेलाई रोग लाग्दैन’

काम गर्न थालेपछि गीताको दैनिक तालिकामा तालमेल मिलेको छ । बिहान सबेरै उठेर हिँड्दा तन र मन चंगा हुन्छ । काम गर्न थालेपछि शारीरिक स्फूर्ति मिल्छ । खाना र खाजा खाने समय पनि निश्चित छ । 


बिहान ११ बजेतिर खाना खाएपछि एकछिन आराम गर्न पाइन्छ । अनि फेरि काम सुरु हुन्छ । बेलुकी ५ बजेअघि नै छुट्टि हुन्छ । ‘काम अप्ठ्यारो भए पनि धेरै दुःख छैन गीताले भन्नुभयो, ‘साथीहरुसँग काम गर्न पनि रमाइलो हुन्छ, कामले गर्दा शरीर पनि फुर्तिलो हुँदोरहेछ ।’

यस्तो काम थालेपछि शरीरमा रोग नलागेको उहाँले बताउनुभयो । ‘ढुंगा र फलामको काम गर्दा कहिलेकाहीँ सामान्य चोटपटक त लाग्छ, तर शरीरमा रोग छैन ।’ गीताले फूर्तिका साथ भन्नुभयो, ‘यसरी काम गर्ने मान्छेलाई पनि कतै रोग लाग्छ त ?’

मन लागेको खान र लगाउन कसैको मुख ताक्न पर्दैन

श्रीमान र छोराहरुको कमाइ समेत जोड्दा घरखर्च चलाउन मज्जाले पुग्छ । सबैको इलम भएपछि खर्चको दुःख छैन । कहिलेकाहीँ मीठोमसिनो खान र राम्रो लगाउन मन लाग्यो भने पनि कसले देला र भन्नु पर्दैन ।

‘मन लागेको कुरा खान र लगाउन पाइएको छ′ गीताले भन्नुभयो, ‘आपूmले यसरी काम नगरेको भए कहाँ पाइन्थ्यो र ?’

हुन त छोराहरुले काम नगर्नु, जे खान र जे लगाउन मन लाग्छ दिन्छौं भन्छन् । श्रीमान र छोरीहरुले पनि भयो धुलोमैलोमा काम नगर्नु भनेर सम्झाउँछन् । तर गीता कसैको कुरा सुन्नुहुन्न । ‘काम नगर त भन्छन् नि, तर त्यसै हात बाँधेर  नि के बस्नु ?’ उहाँले कामको महत्व दर्शाउँदै भन्नुभयो, ‘ज्यानले सक्दासम्म काम गर्नुपर्छ, अनि पो बलियो भइन्छ ।’

कामले शारिरीक र आर्थिक रुपमा पनि मान्छेलाई बलियो बनाउने उहाँ बताउनुहुन्छ । ‘छोराछोरी र श्रीमानको कमाइले त पुग्छ नि, तर आफूले कमाएजस्तो कहाँ हुन्छ’ गीताले भन्नुभयो, ‘आफ्नो पनि कमाइ छ भने सबैले मान्छन्, नत्र हेपिहाल्छन् नि । अहिले कमाइ छ र त केही चाहियो भने कसैको मुख ताक्न पर्दैन ।’

उमेरले ४० कटेकी गीता आफ्नो काम र जिन्दगीप्रति सन्तुष्ट हुनुहुन्छ । उहाँको आफ्नै हातले काठमाडौंमा झण्डै सयवटा नयाँ घर बनिसके । आफ्नै घर बनाउने एउटा सपना चाहिँ पूरा हुन बाँकी छ । उहाँको यो सपना श्रीमान र छोराहरुको पनि साझा भएकाले उहाँ आफ्नो हातले आफ्नै नयाँ घर बनाउने दिनको पर्खाइमा हुनुहुन्छ ।  
 

अन्तिम अपडेट: असोज २७, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

1 Comments

  • धीरज देवकाेटा

    Oct. 9, 2018, 12:41 p.m.

    राम्राे लाग्याे स्टाेरी । तर, कतै उनी कतै उहाँ लेखेकाे चै पटक्कै मन परेन । एक किसिमकाे सम्बाेधन गरेकाे भए हुन्थ्याे नि ।

तपाईको प्रतिक्रिया