बलात्कृत बालिकाको तेस्रो पटक स्वास्थ्य जाँच, अस्पतालका दुई चिकित्सकले गलत रिपोर्ट दिएको पुष्टि

 असोज २३, २०७५ मंगलबार १२:४७:५८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सकले बलात्कृत बालिकाको गलत रिपोर्ट दिएपछि तेस्रो पटक पुनः स्वास्थ्य जाँच गरिएको छ । 

धनुषाको जनक नन्दनी गाउँपालिकाकी १२ वर्षकी बालिकाको स्वास्थ्य परीक्षण गरी जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सक डा. विजयकुमार सिंह र डा.रम्भा गोइतले बालत्कृत नभएको रिपोर्ट दिएका थिए । पछि सिरहा अस्पतालमा स्वास्थ्यजाँच गराएपछि बालिका बलात्कृत भएको रिपोर्ट आएको थियो ।  

जनकपुर अञ्चल अस्पताल र सिरहा अस्पतालको स्वास्थ्य रिपोर्ट  विपरित भएपछि अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले गएको आइतबार जनकपुर अञ्चल अस्पतालमा बालिकाको तेस्रो पटक स्वास्थ्य परीक्षण गरेको छ । गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सककै सामुन्ने डा. हरिहर वस्तीको नेतृत्वको छानविन समितिले स्वास्थ्य परीक्षण गरेको हो । समितिले गरेको स्वास्थ्य परीक्षण रिपोर्ट सिरहा अस्पतालको रिपोटसँग मेल खाएको डा.वस्तीले बताउनुभयो ।

बालिकाको दुई अस्पतालको फरक–फरक रिपोर्ट आएपछि चिकित्सकको बदमासी भएको भन्दै वस्ती नेतृत्वमा स्वास्थ्य मन्त्रालयका उपसचिव, स्त्रीरोग विशेषज्ञ र मेडिकल काउन्सिल पदाधिकारीसहितको टोली बालिकाको पुनः स्वास्थ्य परीक्षण गर्न जनकपुर आएको थियो । समितिको टोलीले गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका दुवै डाक्टरसँग ३ घण्टा सोधपुछ समेत गरेको स्रोतले जनाएको छ ।

आमाको मृत्यु भएको र बुवा रोजगारीका लागि भारत गएपछि काकीको घरमा भाइसँगै बस्दै आएकी धनुषाको जनकनन्दनी गाउँपालिककी १२ वर्षीया बालिकालाई गएको भदौ ८ गते राति साढे १० बजे घरमा सुतिरहेको बेला स्थानीय जनकनन्दनी गाउँपालिका २ का २३ वर्षीय किरण खत्वेले बलात्कार गरेका थिए । 

बलात्कारको घटनापछि बालिकालाई स्वास्थ्य परीक्षणको लागि ईलाका प्रहरी कार्यालय खजुरीले भदौ ९ गते जनकपुर अञ्चल अस्पताल पुर्याएको थियो । अञ्चल अस्पतालले ११ दिनपछि दिएको यो रिपोर्टमा स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सक द्वय डा. विजय सिंह र रम्भा गोइतले बालिकालाई स्वास्थ्य परीक्षणमा भेजिना नर्मल र ह्युमेन नर्मल उल्लेख गरेको रिपोर्ट दिएको थियो ।

गएको भदौ २५ गते जिल्ला अस्पताल सिरहामा बालिकाको पुनः स्वास्थ्य परीक्षण गराएको थियो । जसमा सिरहा जिल्ला अस्पतालका डा. राकेशकुमार सिंहले गरेको स्वास्थ्य जाँचमा पीडित बालिकाको गाला र ओठमा ‘बाइट मार्क’, ’भेजिना क्नगेसन’ र ’ह्यमेन रुप्टुरेड’ देखाएको रिपोर्ट दिनुभएको थियो ।
 
बलात्कार घटना पश्चात् भारत भागेका आरोपित खत्वे पैसा लिन घर फर्केको बेला प्रहरीले भदौ ९ गते नै पक्राउ गरेको थियो । आरोपित खत्वेलेसमेत आफूले बालिकालाई बालत्कार गरेको कुरा स्वीकारेको भिडियो समेत प्रहरीले सुरक्षित राखेको छ ।

बालिका बलात्कार भएको पुष्टि गरेको अस्पताल सिरहा र बलात्कार नभएको पुष्टि गरेको अञ्चल अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट र अभियुक्तले स्वीकारेको बयानको भिडियोसहित सरकारी वकिल कार्यालयमार्फत इलाका प्रहरी खजुरीले जिल्ला अदालत धनुषामा गत असोज ४ गते मुद्दा समेत दायर गरेको छ ।  

सरकारी वकिलको कार्यालय धनुषाले जनकपुर अञ्चल अस्पतालका दुवै चिकित्सकलाई कार्वाही गर्न स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर कार्वाहीको माग गरेको छ ।  

अन्तिम अपडेट: फागुन २८, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया