शेर खानको पोते पसल

 असोज २३, २०७५ मंगलबार १४:०:४७ | दीपा तिमल्सिना
unn.prixa.net

‘पाटली पाटली रैछ, सबै बस्नु’ नेवारी ‘टोन’मा उमार खानले यसो भनिरहँदा उहाँका दाइ शेर खान पावरवाला चस्मामाथिबाट ग्राहक हेर्दै हुनुहुन्थ्यो । काठमाडौं इन्द्रचोकको पोतेबजार । नजिकिएको चाडपर्व । ग्राहकको घुईंचो नहुने त कुरै भएन ।

शेर खान र उमार खान टाइप मेसिन जस्तै फटाफट ग्राहकको अनुहारसमेत नहेरी काम गर्दैछन् ।  म सँग बोल्न भ्याउनुहुन्छ त ? प्रश्न झर्न नपाउँदै पोतेबाट आँखा नहटाई शेर खानले भन्नुभयो, ‘किन नभ्याउनु, पोते  हातले हो उन्ने, मुखले हो र !’ पसल अगाडि मेचमा लहरै बसेका ग्राहक गलल हाँसे ।

२८ वर्ष भयो, शेर खानले पोते उन्न थालेको  । उहाँ आफैंले भने यो पेशा रोज्नु भएको हैन । जानी नजानी उहाँले सिक्दै जानु भयो, पछि रस बस्यो काममा । 

‘के चाहियो दिदी, यता बसाैं कान्छा भाइ उमारले फेरि ग्राहकलाई बस्न भने । पसल पुगेका ग्राहक कति बेला पालो आउला बनेर पर्खिरहे । 

‘एक जना बस्नुस्, अरु यसो बजार घुमेर आउनुुस्’ काईंयोले पोतेका धागो केर्सा पार्दै उमार खानले भन्नुभयो । पसलको भीड व्यवस्थापन गर्ने उहाँको पुरानै ‘फर्मुला’ हो यो । 

पुख्र्यौली घर गोरखा हो । ‘हामी त गोरखाका खान हौं’ उमारका दाजु शेर खानले भन्नुभयो । धेरैले भारतीय नागरिक भन्ने गरेकाले शेर खानले कुराकानीको सुरुवातमा नै आफू गोर्खाली भएको प्रष्ट पार्नुभयो ।

गोरखाका खान पोते व्यवसाय गर्न कसरी काठमाडौं भन्न नपाउँदै शेर खानले भन्नुभयो, ‘उबेला गाउँमा त्यहीँका मान्छेले लाज मान्ने अरे । अनि हाम्रो समुदाय (मुस्लिम) का मानिसले चुरा पोते, र टिकाको व्यापार गर्ने अरे । घरघर नै पुगेर । हामीलाई त मुस्लिम चुरौटे नै भन्थे नि ।’ 
पोतेको लाछी धागोमा सार्दै खानले बाबु बाजेलाई सम्झिनुभयो ।

‘तपाईंहरु त गोरखाको मुस्लिम । टोन चाहिँ कसरी नेवारी ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘मेरो आमा भक्क्तपुरको नि त, अनि टोन यहीँको जस्तो भयो नि ।’

शेर खानको दाहिने हात भएका छन् उमर खान । दिनमा १०÷१५ वटा पोते उन्ने उमरको उमेर २४ वर्ष मात्रै हो । दुई दाजुको अभिभाकत्वमा कान्छा उमरले आफूलाई निखार्दै लैजानु भएको छ । 

शेर खान

‘नाप्नुस् त दिदी तपाईंलाई साइज ठिक भयो की भएन ।’ कुराकानी भैरहँदा शेर खान र कान्छा भाइ उमरले एउटा -एउटा तिलहरीमा पोते उन्ने काम सकाउनुभयो । 

‘कति छिटो पो भयो त, है ?’ भन्ने प्रश्नमा शेर खानले भन्नुभयो, ‘सीप हो नि हजुर, यही सीप र ढंग छ र पो परिवार बाँच्न पाएको छ,’ शेर खानले भन्नुभयो । 

खानको परिवार अहिले काठमाडौंको ठमलेमा बस्दै आएको छ । ठमेलको बसाई पुरानै भइसकेको छ । गोरखाबाट बसाईं सरेर खानको परिवार पोतेको व्यवसाय गर्न ठमेल आइपुगेको हो । ठमेलमा संयुक्त परिवार छ । परिवारमा पुरुष सबैले पोतेकै काम गर्दछन् । अनि महिलाले घर धन्दा सम्हाल्छन् । 

‘तपाईंले श्रीमतीलाई पनि पोते बनाइदिनुहुन्छ ?’ भन्ने प्रश्नमा हाँस्दै शेर खानले भन्नुभयो, ‘खासै बनाउदिन । हाम्रो समुदायमा पोते लगाउने चलन नै छैन । यसो रहर लागे गहना हालेर कहिलेकाहीँ मात्रै हो  लगाउने ।’ 

इन्द्रचोकको एक गल्लीको पोते पसलमा खानले तीन जनालाई रोजगारी दिनु भएको छ । उहाँ पनि काम गर्ने व्यक्ति सरह नै खटिनुहुन्छ । जति कामलाई माया गर्यो लक्ष्मी (पैसा)ले पनि उति नै माया गर्छिन । खानले यो कुरा राम्ररी बुझनु भएको छ । 


 

अन्तिम अपडेट: असोज २९, २०७५

तपाईको प्रतिक्रिया