१५ वर्षदेखि बेहोस बनाउँदै १४५ भन्दा बढी व्यक्तिलाई लुट्ने गिरोह यसरी पर्‍याे पक्राउ

 असोज २३, २०७५ मंगलबार १४:३५:१० | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न बहानामा नागरिकलाई बेहोस बनाई लुटेर हिँड्ने गिरोहलाई पक्राउ गरी सार्वजानिक गरेको छ ।

१५ वर्षदेखि निरन्तर यसैगरी लुट्दै आएका उनीहरुले १४५ भन्दा बढी व्यक्तिलाई बेहोस बनाई लुटेको स्वीकार गरेका छन् । 

कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नम्बर –६, का ५६ वर्षीय कालु परियार(गोपाल) र मकवानपुर जिल्ला थाहा नगरपालिका –२, घर भई अहिले तनहुँको देवघाटमा डेरा गरी बस्ने ४९ वर्षीय हरि गोले पक्राउ परेका हुन् । 

उनीहरुले यात्राको क्रममा यात्रुसँग चिनजान गर्ने र चिया वा जुसमा झुक्याएर बेहोस बनाउने औषधि एटिभन टु एमजी मिसाएर खुवाउँदै बेहोस बनाउने गरेको पाइएको छ ।

बास बसेकै घरमा लुटेर फरार

असोज १२ गते राति चितवनको माडी नगरपालिका –६, कल्याणपुरमा भिमबहादुर सुनारको घरमा दुई जना अमिलो बिक्री गर्दै हिँडेकाले बास मागे ।

घरमा सुनारकी आमा माया कुमारी सुनार, श्रीमती अनिसा सुनार र ४ वर्षकी छोरी मात्र बस्दथे  । भिमबहादुर घरमा थिएनन् । रातको समयमा बास मागेका कारण उनीहरुलाई बास दिए । अमिलो बिक्री गर्ने एक महिला र पुरुष त्यहीँ बसे ।

 

रातको समयमा कुरा गर्दै गएपछि बास बसेकाले माया कुमारी र अनिसालाई पेय पदार्थ म्याङ्गो जुस खुवाउन सफल भए । जुसमा बेहोस हुने औषधि मिसाइएको कुरा खानेले थाहा पाउन सकेनन् । जुस खाएर बेहोस भएपछि घरधनीले लगाएका र घरमा राखेका १५ तोला सुनका गरगहना र २ थान मोबाइल लुटेर उनीहरु रातमै भाग्न सफल भए । 

भोलिपल्ट बिहान घरका मानिसहरु नउठेपछि स्थानीय नागरिकले इलाका प्रहरी माडीलाई जानकारी गराए । प्रहरी पुग्दा दुवै बेहोस अवस्थामा भेटिएपछि भरतपुर अस्पतालमा उपचारका लागि ल्याइयो ।

५ दिनको उपचारपश्चात अनिसाको होस आएको छ भने माया कुमारीको ११ दिनसम्म आईसीयूमा राखेर उपचार गर्दा समेत होस आउन सकेको छैन ।

यसरी गरियो पक्राउ

इलाका प्रहरी माडीले जिल्लामा घटनाको विषयमा जानकारी गराएपछि प्रहरी निरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा विशेष अनुसन्धान टोली बनाएर परिचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुशील सिंह राठौरले बताउनुभयो ।

प्राविधिक अनुसन्धान र म्यानुअल अनुसन्धान गरी दुई तरिकाले अनुसन्धान गरिएको उहाँले बताउनुभयो । नारायणगढ–माडी चल्ने सवारी चालकहरुबाट म्यानुअल अनुसन्धान र पीडितहरुबाट लुटिएको दुईवटा मोाबइललक्षित गरी प्राविधिक अनुसन्धान गरिएको राठौरले जानकारी दिनुभयो ।

अनुसन्धानपछि गोलेलाई असोज २२ गते चितवनको आँपटारीबाट पक्राउ गरिएको र परियारलाई बुटवलमा लुट्ने योजना बनाइरहेको अवस्थामा पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

परियारको साथमा जुस, बेहोस बनाउने औषधि, टर्च, कैँचीलगायतको सामग्रीसहित पक्राउ गरिएको उहाँले बताउनुभयो । दुवै जनालाई मंगलबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सर्वजानिक गरेको छ ।

प्रारम्भिक बयानपछि खुलेका तथ्य

गोपाल भनिने कालु परियार १५ वर्षदेखि यही काम गर्दै आएका उनले अहिलेसम्म एक सय ५० जनालाई लुटेको स्वीकार गरेका थिए ।

बेहोस बनाउने औषधि उनले गोरखपुरबाट खरिद गरेर ल्याउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो । परियारले १५ वर्ष अगाडि भारतको एक होटलमा काम गर्दा एक भारतीय नागरिकबाट यो अपराध कर्म सिकेको बताएका छन् ।

१० वर्ष अगाडि नेपालगञ्जबाट सुर्खेत जाने बसमा एक यात्रुलाई बेहोस बनाई २५ हजार लुटेको उनले स्वीकार गरेको प्रहरीले बताएको छ । 

दुई महिना अगाडि बुटवलबाट बाग्लुङ जाने बसमा यात्रु बेहोस बनाई ६० हजार नगद र एक थान मोबाइल लुटेको उनले स्वीकार गरेका छन् । माडीबाट लुटेको १५ तोला सुन २ लाख ८० हजारमा बिक्री गरेर नारायणगढ बसपार्कमा बसेर कालु परियारले एक लाख बाँकी रकम हरि गोले र एक महिलालाई बाँडेको खुलेको प्रहरीले बताएको छ । ती महिला को थिइन भन्ने अहिलेसम्म पत्ता लागेको छैन ।  

देशका १२ वटा सहरमा सवारी साधानमा यात्रा गर्ने यात्री, बोर्डरबाट नेपाल फर्कँदै गरेका नागरिकलाई उनीहरुले बढी लुटेको देखिएको छ । 

यसैगरी हरि गोले चितवनको पर्सामा बेहोस बनाई लुटेको चोरी घटनामा २०७१ सालमा कारागारमा परेर २०७५ साल वैशाखमा छुटेका थिए । शरणपुरमा राम परियारले आफूलाई बेहोस बनाउन सिकाएको बताउने गोलेले जेलबाट छुटेपछि २ महिना अगाडि हेटौडाबाट काठमाडांै जाने बसमा एक यात्रु लुटेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । 

गोलेको कालु परियारसँग ५ वर्ष अगाडि चिनजान भएको थियो । पहिले कसको घरमा कति गहना र सम्पत्ति छ भन्ने बुझेर नजिक हुने काम उनले गर्दै आएको र घर लुटने काममा कालु परियार सक्रिय हुने गरेको पाइएको ढकालले बताउनुभयो ।

जसलाई लुट्नु छ, उसँग नजिक हुने काममा गोले सक्रिय भएको पाइएको प्रहरीले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनालाई ज्यान मार्ने उद्योग र चोरी मुद्धामा कारबाही प्रक्रिया अगाडि बढेको छ ।

सचेत रहन प्रहरीको आग्रह

यात्राको क्रममा चिनजान नभएका व्यक्तिले दिएको खाने कुरा नखान, शंका लागेका व्यक्तिलाई घरमा बास नदिन, चाडवाडको समयमा सचेत भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । 

अनेक बहानामा लुटेराले लुटन सक्ने भएकाले सचेत रहन आग्रह गर्दै प्रहरी प्रमुख राठौरले  कतै केही शंकास्पद अवस्थामा कोही भेटिए तत्काल प्रहरीलाई जानकारी गराउन पनि आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया