आयल निगममा खड्काको राजीनामा र खुला प्रतिस्पर्धाबाट नयाँ हाकिमको खोजी (भिडियो)

 जेठ २४, २०७५ बिहिबार १४:४०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – इन्धन भण्डारणको लागि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिनुभएको छ । 

खड्काको राजीनामासँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले निगमको कार्यकारी निर्देशकको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने बताउनु भएको छ ।

खड्काले बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रीलाई राजीनामा बुझाउनुभएको हो । पत्रकार सम्मेलनमा खड्काले आफूलाई गएको ९ महिनादेखि भूमिकाविहीन बनाएर बदनाम गर्न खोजिएको आरोप लगाउनुभयो । 

‘मैले निगममा धेरै नीतिगत सुधार गरेको थिएँ, तर त्यसलाई छायाँमा पारेर बदनाम गर्ने काम मात्र गरियो’ खड्काले गुनासो गर्नुभयो । ‘९ महिनामा त सन्तान पनि जन्मन्छ । तर मलाई केही गर्न नदिएर भूमिकाविहीन बनाइयो’ खड्काको भनाई छ ।

खड्काले आफूले प्रधानमन्त्री र उद्योग मन्त्रीलाई सजिलो बनाउन राजीनामा दिएको पनि बताउनुभयो । खड्कालाई इन्धन भण्डारको लागि क्षमता बढाउन आवश्यक जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको आरोप लागेको थियो । 

तत्कालीन संसदीय समितिले खड्काकै निर्देशनमा महंगोमा जग्गा खरिद गरेर भ्रष्टाचार गरेको निश्कर्ष निकालेपछि सरकारले बर्खास्त गरेको थियो । सरकारले बर्खास्त गरेपछि खड्का सर्वोच्च अदालत जानुभएको थियो । सरकारले बर्खास्त गर्ने निर्णय सर्वोच्चले उल्टाइदिएपछि खड्कालाई आपूर्ति मन्त्रालयमा खटाइएको थियो । तर उहाँलाई कार्यकारी भूमिका दिइएको थिएन ।

निगमको नयाँ हाकिम खुला प्रतिस्पर्धाबाट

पत्रकार सम्मेलनमा राजीनामा पत्र पढेपछि खड्काले मन्त्री मातृका यादवलाई राजीनामा बुझाउनुभएको थियो । खड्काको राजीनामा बुझ्दै मन्त्री यादवले निगमको नयाँ कार्यकारी निर्देशक खुला प्रतिष्पर्धाबाट हुने बताउनुभयो । 

मन्त्री यादवले खड्काले पदबाट राजीनामा दिएर नेपाल आयल निगमको कामलाई अघि बढाउन सहज भएको प्रतिक्रिया पनि दिनु भयो । उहाँले निगममा क्षमतावान नेतृत्व ल्याउन पनि खुला प्रतिस्पर्धा गरेर कार्यकारी नियुक्ति प्रक्रिया अघि बढाउने सोचाईमा आफू रहेको बताउनुभयो । मन्त्री यादवले निगममा राजनीतिक नियुक्त हुनै नसक्ने पनि उल्लेख गर्नु भयो ।

मन्त्री यादवले नेपाल आयल निगमको गिरेको साखलाई माथि उठाउने गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । 

हेर्नुहाेस्  भिडियाे

 

 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया