खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि जेल हालिन्छ: कृषिमन्त्री खनाल

 असोज २३, २०७५ मंगलबार १८:१८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि जेल हाल्ने बताउनुभएको छ । 

फोकस नेपाल नामक संस्थाले काठमाडौंमा मंगलबार गरेको समृद्धिका लागि सहकार्य, कृषि क्षेत्रको विकास अपरिहार्य विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री खनालले जनताको स्वास्थ्य माथि खेलबाड गर्ने छुट कसैलाई नभएको बताए । 

मुख्य सहरमध्ये झण्डै ५० लाख मान्छेको बसोवास भएको काठमाडौंमा अखाद्य बस्तुको मिसावट सबैभन्दा बढी हुने गरेको उहाँको भनाइ छ । अनुगमन र कडाईपछि अहिले दुध ढुक्कले खान मिल्ने अवस्थामा पुर्याएको भन्दै मन्त्री खनालले तेल, पानी र मासुमा भने अझै सुधार नभएको बताउनुभयो ।

‘अहिले नै म पानी, तेल र मासु ढुक्कले खानुस् भन्न सक्ने अवस्थामा छैन, मन्त्री खनालले भन्नुभयो, ‘राज्यले नियमन गर्ने संयन्त्रको विकास नै गर्न सकेको रहेनछ । तर केही समयपछि नै खान मिल्ने बनाइन्छ, अखाद्य बस्तु मिसावट गर्ने सबैलाई जेल हालिन्छ ।’

अनुगमन गर्दा खान नमिल्ने पानी बेच्ने २२ वटा पानी फ्याक्ट्रिमा तालाबन्दी गरिएको पनि मन्त्री उहाँले जानकारी दिनुभयो । झण्डै ६५ प्रतिशत मानिसले खेती गर्ने कृषि क्षेत्रमा विनियोजन गरिएको बजेट, सरकार र नेताहरुको प्राथमिकता आदि कारणले कृषि क्षेत्रको अवस्था दयनीय भएको उहाँको भनाई छ । 

‘सामान्य गमलामा छरेको भरमा आफूलाई पुग्ने धनियाँ उत्पादन गर्न सकिन्छ, मन्त्री खनालले भन्नुभयो, ‘तर हामी वार्षिक १३ करोडको धनियाँ विदेशबाट आयात गछौं ।’  

त्यस्तै नेपालमा एक सय २५ देखि ३० अर्बको धान चामल आयात हुने गरेको छ ।

खनालले कृषि प्राथमिकतामा नपरेकाले यसलाई उल्टाउनु पर्ने, उल्टोबाट सुल्टो बाटोमा ल्याउनु पर्ने र त्यसका लागि सरकारको सोचाई बदलिनु आवश्यक रहेको बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया