पत्रकारसामु गर्जिए मुख्यमन्त्री : देश र प्रदेश हाँक्नेलाई चुनौती दिने ?

प्रदेश १ : नाम र राजधानीको विषय नटुङ्ग्याउँदै प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य

 असोज २३, २०७५ मंगलबार १८:३५:३४ | सुमन तिमल्सिना
unn.prixa.net

प्रदेश नम्बर एककाे मंगलबारकाे बैठक

मोरङ – एक नम्बर प्रदेशसभाले प्रदेशको नाम र राजधानी नटुङ्ग्याउँदै प्रदेशसभा अन्त्य गरेको छ ।

गएको जेठ १७ गतेदेखि शुरु भएको बर्खे अधिवेशन ५२ वटा बैठक पूरा गरेपछि अन्त्य भएको हो । बर्खे अधिवेशन अन्त्य गर्ने क्रममा सबै संसदीय दलका नेतालाई सदनमा बोल्न दिइएको थियो ।

सदनलाई सम्बोधन गर्दै एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, कांग्रेस संसदीय दलका नेता राजिव कोइराला, संघीय समाजवादी फोरमका जयराम यादव तथा  राप्रपाको तर्पmबाट एक मात्र सांसद इन्दीरा राईले शुभकामनासहित सरकारको काम कारबाही तथा अहिलेसम्म भएका प्रगतिको बारेमा बोल्नुभएको थियो ।

नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री राईले बैठकमा अहिलेसम्म प्रदेश सरकारले गरेका कामको बारेमा सदनलाई जानकारी गराउनुभएको थियो । केही समय सरकारको काम कारबाही, प्रदेश सरकारले भोग्नुपरेको अप्ठेराका बारेमा जानकारी गराएपछि मुख्यमन्त्री राईको अरु समय मिडिया र पत्रकारको आलोचनामा मात्रै सीमित भयो । 

उहाँले एक नम्बर प्रदेशलाई राजधानी बनाउनको लागि बृहत बिराट क्षेत्रको कुरा अघि सारिएको बताउनुभयो । उहाँले बिराट क्षेत्र बनाएर स्याटेलाइट सिटी, स्मार्ट सिटी, टुरिजम सिटी, औद्योगिक तथा स्पोर्ट सिटीको अवधारणा र कृषि जोनको रुपमा अगाडि बढाउने उदेश्य अघि सारिएको भए पनि केही साँगुरो सोच बोकेकाहरुको कारण समस्या आएको बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, ‘यस्ता सोचले आफ्नो ठाउँ बनाउन सकिँदैन ।’  संविधानसभाबाट ५ वर्ष ८ महिनामा टुङ्गो लाग्न नसकेको प्रदेशको स्थायी राजधानी र नामको दायित्व प्रदेशसभाको काँधमा आएकोले त्यति सजिलै टुंगो नलाग्ने उहाँले बताउनुभयो  ।

‘प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा सरकारले सहजिकरण गरेको मात्र हो, यसको अधिकार सबै सदनमा रहेका ९३ जना निर्वाचित जनप्रतिनिधिभित्र रहेको छ’, मुख्यमन्त्री राईले भन्नुभयो । मुख्यमन्त्री राईले प्रदेश राजधानीको विषय हल्का बनाएर सतहमा ल्याउने काम पत्रकारले गरेको भन्दै आक्रोश पोख्नुभयो । 

प्रदेशको नाम र राजधानीको विषयहरु हल्का रुपमा सतहमा ल्याएर  आफ्नो मर्यादाभन्दा तल झरेको भन्दै पत्रकारप्रति मुख्यमन्त्री राईले आक्रोश पोख्नुभयो । ‘न्यूनतम व्यावसायिक मार्यादालाई समेत  ख्याल नगरी लेखेर प्रकाशित गर्ने काम भइरहेको छ’, मुख्यमन्त्री राईले भन्नुभयो, ‘वास्तवमै त्यो विषय त्यस प्रकारको सतहमा ल्याएर छलफल गर्ने तथा प्रकाशनमा ल्याउने विषय हैन ।’

‘हामी त्यतिकै आएका छैनौं । हामी यहाँ नेपाल राष्ट्र बनाउन यस देशको राष्ट्रियता, राष्ट्रिय एकतालाई जोगाउन आएका हौं’, पत्रकारको कामको खण्डन गर्दै मुख्यमन्त्री राईले भन्नुभयो, ‘देश र प्रदेश हाँक्ने अख्तियारी लिएर यहाँ आएका सदस्यलाई चुनौती दिने मान मर्दन गर्ने र लाञ्छित गर्ने कुरा यो प्रदेशसभाका निमित्त सैह्य हुन सक्दैन र प्रदेशसभाले गम्भीर रुपमा लिनु पर्दछ ।’

उहाँले पत्रकारप्रति लक्षित गर्दै भन्नुभयो, ‘विवेक छैन, तर्कमा तर्क गर्न सकिँदैन, स्पष्ट बहस गर्न सकिँदैन भने भने चूप लागेर बस्दा हुन्छ तर यस विषय र यस मामिलाको बारेमा जुन प्रकारको अस्वस्थ,  जुन किसिमको नीचस्तरको गतिविधिहरु, अभिव्यक्तिहरु, प्रकाशित समाचाहरु, हामीले देखेका छौं, त्यो राम्रो कुरा हैन ।’

‘यो प्रदेशमा साढे ४५ लाख नागरिक बसोबास बस्छन् । हिमाल–पहाड–तराई जोडिएको प्रदेश छ । प्रदेशसभामा चुनिएका सदस्यहरु यस प्रदेशमा हुनुहुन्छ । यसको अधिकार प्रदेशसभामा छ’, मुख्यमन्त्री राईले भन्नुभयो, ‘प्रदेशसभाको नाम र राजधानीको बजन गर्ने अधिकार कसैलाई पनि नरहेको छैन्  ।

मुख्यमन्त्रीको ट्याग र नाम  लेखाउन आफू नआएको, अनुचित लाभको लागि नआएको भन्दै उहाँले अलिकति बोल्दा, कलम चलाउँदा, विचार गरेर आफ्नो मर्यादा, आफ्नो हैसियत र आफ्नो व्यवसायिकतालाई जोगाएर राख्न आग्रह गर्नुभयो ।

उहाँले संवैधानिक दायित्वको बारेमा प्रदेशसभा सचेत रहेको दाबी गर्दै  प्रदेशसभाका सबै दल र सांसदबीच गम्भीर छलफल भइरहेको बताउनुभयो । हामीले यसै चालु अधिवेशनबाट राजधानी र नाम टुङ्ग्याउने तयारीसहित प्रदेश सरकारले तयारी गरिरहेको थियो ।

२६ गतेसम्म प्रदेशको राजधानी र नामाकरण टुंग्याउने विषयमा आफूले प्रस्ताव ल्याएको भए पनि सबै दलको छलफल र परामर्शबाट विषय गम्भीर बनेकाले तेश्रो अधिवेशनमा लग्न खोजिएको बताउनुभयो । 

‘यसप्रकारको विषयको गम्भीरता, थप समयको माग, चाडपर्वको चापले ती विषय छताछुल्ल नबनाई उच्च समहमतिको आधारमा लैजाने संसदमा सहभागी दलहरुसँग सहमति भएको बताउनुभयो ।  उनले प्रदेशको  नाम र राजधानीको विषयलाई तेश्रो अधिवेशनबाट सुरुबाटै विधिवत सदनमा प्रवेश गराई टुङ्ग्याउने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दलहरुबीच समझदारी छ, यस्तो सुझबुझ देख्दा–देख्दै विषयबस्तुलाई बंङ्ग्याउने, हल्का बनाउने काम भइरहेको छ, म दुःख गर्छु ।’ मुख्यमन्त्रीले यति भन्दा पनि मिडियाप्रति उहाँको आक्रोश झनै बढेको थियो । उहाँले पत्रकारले प्रदेशको राजधानी र नामांकरणमा भाँजो हाल्ने र नभएको कुरालाई सपनामा समाचार लेख्ने गरेको आरोप लगाउनुभयो ।

‘के तपाईँहरु सपनामा सोचेर समाचर लेख्नुहुन्छ ? कि कुन मनस्थितिमा तपार्इँहरु भनेका कुराहरु लेख्नुहुन्छ ?’, मुख्यमन्त्री राईले आक्रोश पोख्नुभयो ।

‘हामी समझदारीबाट अघि बढिरहेका छौं । विषयबस्तुलाई मिलन बिन्दु खोजेर सबैको सहमतिको आधार तय गरेर अघि बढ्न चाहन्छौं । यो हाम्रो सम्बोधन हो’, मुख्यमन्त्री राईले भन्नुभयो, ‘सक्नुहुन्छ भने हाइलाइट गर्नुहोस्, हामी समग्र नागरिकको भावनालाई प्रतिनिधित्व गर्दै अघि बढ्दैछौं, सक्नुहुन्छ योगदान गर्नुस्, नसक्दा आफ्नो कमजोर, स्तरहिन हैसियत प्रदर्शन गर्ने कुराबाट जोगिनुहोस् भन्ने म आग्रह गर्न चाहन्छु ।’ 

अन्तिम अपडेट: चैत २८, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया