रोल्पामा व्यावसायिक र्‍याफ्टिङ सुरु

 असोज २३, २०७५ मंगलबार २०:१७:५६ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – साहसिक जलयात्रा मार्फत पर्यटक भित्राउने उद्देश्यले रोल्पामा पहिलोपटक व्यावसायिक रुपमा र्‍याफ्टिङ सुरु गरिएको छ । 

सुनिलस्मृति गाउँपालिका र कर्णाली र्‍याफ्टिङ एण्ड एड्भेन्चर प्रालिको सार्वजनिक–नीजि साझेदारीमा सुलिचौरमा रहेको लुङ्ग्री खोलाबाट र्‍याफ्टिङ सुरु गरिएको हो ।

रोल्पाको सुलिचौरबाट प्यूठान हुँदै दाङको भालुवाङसम्म सञ्चालन हुने र्‍याफ्टिङको सोमबार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले उद्घाटन गर्नुभयो । 
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले जिल्लाको पर्यटन प्रवद्र्धनमा एउटा नयाँ व्यवसाय थपिएको बताउनुभयो । 

‘नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ उहाँले भन्नुभयो, ‘पर्यटक भित्रिएपछि रोल्पालीले त्यसको फाइदा लिन सक्ने छन् ।’ 

सरकारले देशभरका एकसय वटा पर्यटकीय गन्तव्य छनौट गर्दा रोल्पाको जलजला पनि परेकाले जलजला आउने पर्यटकलाई र्‍याफ्टिङले थप आकर्षित गर्नेसमेत मन्त्री पुनले बताउनुभयो ।

यस्तै कर्णाली र्‍याफ्टिङ एण्ड एड्भेन्चर प्रालिका सञ्चालक एवम् पर्यटन व्यवसायी देवराज जैसीले निकट भविष्यमै सञ्चालनमा आउन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी पर्यटकसमेत सिधै यस क्षेत्रमा ल्याउन सकिने विचार राख्नुभयो ।

‘पहिला पर्यटक आएपछि बल्ल व्यवसाय सुरु गरौंला भनेर कहिल्यै व्यवसाय हुँदैन, जैसीले भन्नुभयो, ‘पर्यटक आकर्षण गर्ने व्यवसाय सुरु भएमात्र पर्यटक आउने हो ।’

पर्यटन प्रवर्द्धन मार्फत यस क्षेत्रको गरिबी र बेरोजगारी हटाउने लक्ष्यसहित आफूहरु लागिपरेको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो । 
प्यूठान स्वर्गद्वारीको फेदमा सञ्चालित र्‍याफ्टिङले जिल्लालाई समृद्ध बनाउन सकिनेसमेत घर्तीले उल्लेख गर्नुभयो ।

करिब २० लाख रुपैयाँको सार्वजनिक–निजी साझेदारीमा सञ्चालित र्‍याफ्टिङबाट जिल्लामा धार्मिक, साँस्कृतिक तथा पर्या–पर्यटक भित्र्याउन सकिने अपेक्षा गरिएको अध्यक्ष घर्तीको भनाई छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया