दसैंका लागि मुस्ताङ र तिब्बतबाट भेडा र च्याङ्ग्रा, स्थानीय सरकारले धेरै कर लिएको गुनासो

 असोज २४, २०७५ बुधबार ७:२७:२३ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – यस वर्षको दसैं नजिकिँदै गर्दा हिमालपारीको जिल्ला मुस्ताङ र छिमेकी देश चीनको तिब्बतबाट भेडा–च्याङ्ग्रा भित्रिन थालेका छन् । 

म्याग्दी जिल्लासहित देशका विभिन्न जिल्लाहरुबाट व्यापारीहरु हिमाली जिल्ला मुस्ताङ र तिब्बतको सिमानासम्म पुगेर भेडा–च्याङ्ग्रा खरिद गरेर ल्याएका छन् । दसैं नजिकिँदै जाँदा मुस्ताङ–तिब्बत नाका कोरलाबाट भेडा–च्याङ्ग्राको आयात सुरु भएको हो । च्याङ्ग्रा खरिद गर्न भन्दै व्यापारीहरु उपल्लो मुस्ताङका स्थानीयहरुको गोठमै पुगेका छन् । 

मुस्ताङको लोमान्थाङ, छोसेरसहित माथिल्लो क्षेत्रका लेक र तिब्बतमा भेडा–च्याङ्ग्राको उत्पादन हुँदै आएको छ । हिमाली क्षेत्रको बुट्यान र झाडीमा यार्सागुम्बा, सतुवा, जटामसीलगायत महत्वपूर्ण जडिबुटीहरु खाएर हुर्किएको हुँदा भेडा–च्याङ्ग्राको मासु स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

पछिल्लो समय भेडाको भन्दा पनि बजारमा च्याङ्ग्रा बढी माग हुन थालेको छ । नेपालीहरु दसैंमा प्रायः मासु खाने गर्दछन् । तुलनात्मक रुपमा भेडाको भन्दा च्याङ्ग्राको मासु मीठो हुने उपभोक्ताको भनाइ छ । 

२०५२ सालबाट व्यावसायिक रुपमा भेडा–च्याङ्ग्राको खरिद विक्री गर्दै आउनुभएका सिन्धुपाल्चोकका व्यापारी मेखबहादुर नेपालले यसपटक मुस्ताङबाट १ हजार २५४ ओटा च्याङ्ग्रा खरिद गरेको बताउनुभयो । उहाँले खरिद गरेको सबै च्याङ्ग्रा काठमाडौंको कलङ्कीमा रहेको रामशरण खसी सप्लायर्समा बिक्री वितरण हुने उहाँले बताउनुभयो । 

भेडा–च्याङ्ग्राको मूल्य बढ्यो 

गएका वर्षहरुमा भन्दा यसवर्ष भेडा–च्याङ्ग्राको मुल्यमा वृद्धि भएको छ । गएको वर्ष १८÷२० हजार रुपैयाँ पर्ने एउटै च्याङ्ग्रालाई यो वर्ष २२ हजार रुपैयाँसम्म मूल्य परेको अर्का व्यापारी पशुपति सिलवालले बताउनुभयो । मुस्ताङमै प्रति च्याङ्ग्रा न्युनतम १८÷२० हजार रुपैयाँ परेको हुँदा बजारसम्म पु¥याउँदा त्यसलाई २८÷३० हजारसम्म मूल्य पर्ने व्यापारीहरु बताउँछन् । 

यसपटक स्थानीय सरकारलाई धेरै कर तिर्नुपरेको हुँदा भेडा–च्याङ्ग्राको मुल्य बढेको छ । बर्सेनि खसी, बोका, भेडा र च्याङ्ग्राको मूल्य बढ्दै गए पनि व्यापारीहरु भने किसानको घर गोठमै पुगेर खरिद गर्ने गरेका छन् । मुस्ताङका किसानहरुको गोठमै भेडा–च्याङ्ग्राको मूल्य बढी परेको हुँदा बजारमा पु¥याउँदा त्यसको मूल्य स्वतः बढ्ने व्यापारी सिलवालले बताउनुभयो । 

कर धेरै तिर्नु परेकोमा गुनासो 

यसपटक मुस्ताङ र म्याग्दीका स्थानीय सरकारलाई भेडा च्याङ्ग्राको धेरै कर तिर्नुपरेकोमा व्यापारीहरुले गुनासो गरेका छन् । मुस्ताङको कागबेनीमा प्रतिगोटा एकसय र म्याग्दीको भूरुङ–तातोपानीमा ३५ रुपैयाँका दरले स्थानीय सरकारलाई कर तिर्नुपरेको सिन्धुपाल्चोकका व्यापारी मेखबहादुर नेपालले गुनासो गर्नुभयो । 

उहाँले स्थानीय सरकारले कर धेरै तोकेको हुँदा व्यापारीलाई मर्का परेको भन्दै कर एउटा मात्रै स्थानीय सरकारलाई तिनुपर्ने व्यवस्थाको माग गर्नुभयो । म्याग्दीको बेनी नगरपालिका–२, भकुण्डेका व्यापारी तुलबहादुर विश्वकर्माले पनि ३८ ओटा च्याङ्ग्रा खरिद गरेर ल्याउँदा जोमसोममा चारसय र तातोपानीमा एकहजार रुपैयाँ कर तिर्नुपरेको बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया