‘छक्का पञ्जा ३’ आजबाट देशैभर प्रदर्शनमा

 असोज २४, २०७५ बुधबार ८:२७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

धेरै दर्शकलाई प्रतिक्षा थियो । चलचित्र छक्का पञ्जातिन रिलिजको दिन कहिले आइपुग्ला ? अब भने दर्शकको प्रतिक्षाको घडि समाप्त भएको छ । यस वर्षकै सर्वाधिक प्रतिक्षित मानिएको चलचित्र छक्का पञ्जा ३ आज बाट ‘अल नेपाल’ प्रदर्शनमा आएको छ । 

नेपाली चलचित्र सधैँ शुक्रबारबाट प्रदर्शनमा आउने भए पनि दसैंको घटस्थापनालाई केन्द्रित गर्दै चलचित्र आजबाट प्रदर्शनमा आएको हो । हाँस्यकलाकारहरुले भरि भराउ भएको चलचित्रले दर्शकलाई चलचित्र हेर्न सहज होस् भन्ने उद्देश्यले अग्रिम टिकटको व्यवस्था समेत मिलाएको थियो ।

‘यस अघि निर्माण भएका चलचित्रहरुले मनोरञ्जनलाई प्राथमिकतामा राखेको थियो तर यस चलचित्रमा भने मनोरञ्जन सँगै शिक्षा समेत दिने प्रयास गरेका छौँ ।’ चलचित्रमा शिक्षा क्षेत्रमा हुने राजनितीलाई मुख्य कथा वस्तुका रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको चलचित्रका निर्माता दिपकराज गिरीले जानकारी दिए ।

६ एकान ६ बाट सुरु भएको यो यात्रा वडा नम्वर ६, छक्का पञ्जा, छक्का पञ्जा २ हुदै छक्का पञ्जा ३ सम्म आइपुगेको छ । चलचित्र छक्का पञ्जा ३ का २ वटा गीत यस अघि नै रिलिज भइसकेका छन् । चलचित्रमा समावेश पहिलो नम्बरमा बोलको गीतले छोटो समयमा नै दर्शकको राम्रो साथ पायो यूट्युबमा १ करोड भ्यू पुगेको उपलक्षमा चलचित्र युनिटले केक  काटेर सेलिब्रेसन नै गरेको थियो । दिपक शर्माको संगीतमा रहेको उक्त गीतमा डेबिट शंकर र बिन्दु परियारको स्वर रहेको छ । यो गीत अहिलेसम्मा १ करोड ६४ लाख ३ हजार ६ सय पटक हेरिइसकिएको छ ।

यो गीतको चर्चा सेलाउन नपाउदै चलचित्र छक्का पञ्जा ३ को अर्को गीत सार्वजनिक भयो । पछि उमेर ढल्किन्छ बोलको गीत पनि यतिबेला सर्वाधिक चर्चामा छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको छ । चलचित्रको टे्रलर तथा रिलिज डेट घोषणा भए सँगै सीने बजारमा चलचित्रको चर्चा ह्वात्तै बढेको थियो । यस अघि आमा सरस्वती मुभिज प्रालिमा बनेका चलचित्र सीने बजारकै उदाहरणीय भएका कारण पनि यस चलचित्रले सबैको ध्यान केन्द्रित गरिदिएको छ ।

यो व्यानरमा निर्माण भएको पहिलो चलचित्र ६ एकान ६ लाई दिनेश डीसीले निर्देशन गरेका थिए । हाँस्य टेलिश्रृंखलाबाट चलचित्र क्षेत्रमा प्रवेश गरेको यो टिमले निर्माण गरेको यो चलचित्रलाई दर्शकले राम्रो साथ दिए । पहिलो चलचित्रले सफल व्यापार गरेपछि यो टिमलाई अझ हौसला मिल्यो र त्यही टिमले अर्को चलचित्र वडा नम्वर ६ निर्माण गर्यो ।

चलचित्र वडा नम्वर ६ लाई उज्वल घिमिरे ले निर्देशन गरेका थिए । यो युनिटले निर्माण गरेको अघिल्लो चलचित्र जस्तै यो चलचित्रले पनि दर्शकबाट अत्यन्तै राम्रो साथ पायो । चलचित्र वडा नम्वर ६ ले आमा सरस्वती मुभिजलाई ब्राण्डका रुपमा स्थापित गर्यो । राम्रो चलचित्र निर्माण गर्न सके दर्शकको राम्रो साथ पाउन सकिन्छ भन्ने उदाहरण पनि यस चलचित्रले प्रस्तुत गरेको थियो ।

वडा नम्वर ६ पछि सोहि टिमले चलचित्र छक्का पञ्जाको निर्माण गर्यो । हाँस्यकलाकार दिपाश्री निरौलाले यसै चलचित्रबाट निर्देशनमा डेब्यू गरेकी थिइन् । चलचित्र छक्का पञ्जाबाट दिपाश्री निरौलाले गरेको कामप्रति सबैले सम्मान व्यक्त गरेका थिए । चलचित्र छक्का पञ्जा चलचित्रको इतिहास मै सबैभन्दा धेरै व्यापार गर्न सफल भएको थियो । त्यस्तै उनै दिपाले निर्देशन गरेको चलचित्र छक्का पञ्जा २ ले पनि विभिन्न रेकर्ड राख्न सफलभएको थियो ।

चलचित्रले प्रदर्शन भएकै दिन करिब १ करोड ७० लाख बराबरको व्यापार गर्न सफल भएको थियो । मुख्य कुरा के हो भने दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल र केदार घिमिरेको यो सहकार्यले नेपालीचलचित्र क्षेत्रको नै शिर उच्च बनाउने काम गरेको छ । यो टिमले निर्माण गरेको चलचित्रआफैमा ब्रान्ड बनिसकेको छ भने नेपाली चलचित्र नगरीमा राम्रो चलचित्र दिन सके करिब २० करोडको व्यापार हुन असम्भव नभएको प्रमाणित नै गरिसकेको छ ।

कुनै समय सामान्य नायिका हुँदै हास्यकलाकारका रुपमा स्थापित भएकी दिपाश्री निरौला पछिल्लो समय नेपाली चलचित्र क्षेत्रकी गहना सावित भएकी छन् ।

आजदेखि प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा ३ मा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसाई, लक्ष्मी गिरी, शिवहरि पौडेल, विल्सन विक्रम राई, निर शाह, यमन श्रेष्ठ, किरण केसी, शारदा गिरी, लगायतका कलाकारहरु मुख्य भूमिकामा प्रस्तुत भएका छन् । चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, सञ्जोग कोइराला, स्वस्तीमा खड्कालगायतका कलाकारहरुलाई समेत विशेष भुमिकामा प्रस्तुत गरिएको छ ।

दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । चलचित्रमा अर्जुन पोखरेल र दिपक शर्माको संगीत छ । चलचित्रमा कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् भने चलचित्रको सम्पादन विपिन मल्लले गरेका हुन् । चलचित्रको कथा दिपकराज गिरीले लेखेका हुन् भने डाइलग भने दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र यमन श्रेष्ठले तयार गरेका हुन् । चलचित्रलाई मानकृष्ण महर्जन र श्रीबहादुर लामाले संयुक्त रुपमा खिचेका हुन् ।

दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दिपेन्द्र खनिया, सुमन गिरी (भान्जा), शिवहरी पौडेल, किरण केसी, ताराचन्द्र बजगाईँ, पुरुषोत्तम प्रधान, केशव न्यौपाने चलचित्रका निर्माता हुन् ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया