कुमारीलाई कुमारी घर भित्र्याइयो, तलेजुमा जमरा राखी दसैं सुरु

 असोज २४, २०७५ बुधबार ९:२४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आजबाट विधिवत रूपमा बडा दसैं सुरु भएको छ । 

बुधबार बिहान ७ बजेर १५ मिनेटमा पाञ्चाङ्ग निर्णायक समितिले दिएको शुभसाइतमा जोशी, कर्माचार्य र राजोपाध्याय पुजारीहरुले तलेजुमा जमरा राखेर दसैं सुरु भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । 

राजा हरिसिंहदेव र देवलदेवीले नेपाल सम्बत ४४४ मा सिम्रनगढबाट ल्याएर श्री तलेजु भवानीलाई भक्तपुरमा प्रतिस्थापन गरेपछि तलेजु जात्रा मनाउने परम्परा सुरु भएको जोशीले बताउनुभयो । 

घटस्थापनादेखि दशमीसम्म मूलगुठी, चौगुठी समुदायले श्रीद्धिमाजु देवीमासमेत पूजा अर्चना गर्ने परम्परा रहेको छ भने आजै भण्डार पोखरीमासमेत विशेष पूजा गर्ने परम्परा रहेको छ । तलेजुमा सप्तमीदेखि दशमीसम्म तलेजु जात्रा मनाइन्छ भने सप्तमीदेखि महानवमीसम्म ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँसको बली दिई कालरात्री गरि जात्रा मनाउने गरिन्छ । 

तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा रहेको छ । सप्तमीको दिन तलेजुलाई देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराई जात्रा माउने परम्परा रहेको छ । 

तलेजुलाई दसैं घरमा राखेर पुजा गर्ने परम्परा अनुसार मूल नाईके जोशीले खड्ग बोकेर अन्य व्यक्तिहरूले तलेजुलाई विधिवत रूपमा दसैंघर पु¥याएर विजयादशमीको दिनसम्म तलेजुलाई दसैंघरमा राखेर पूजा गर्ने परम्परा रहेको छ । विजयादशमीको दिन भने तलेजुलाई विजययात्रागरी दसैंघरबाट मूलघरमा भित्र्याइने परम्परा रहेको जोशीले बताउनुभयो । 

एकान्तकुमारीलाई कुमारी घर भित्र्याइयो

त्यसैगरि जीवितदेवीको रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी जीविका बज्राचार्यलाई कुमारी घर भित्र्याइएको छ । कुमारी घर भित्र्याएपछि आजदेखि कुमारी एवं तलेजु जात्रा सुरु भएको छ ।

घटस्थापनादेखि दसैंभरी कुमारीघरमा विराजमान गराई कुमारीजात्रा मनाइने परम्परा अनुसार कुमारीलाई तान्त्रिक विधि अनुसार पुजा गरी कुमारी घरमा बिराजमान गराई पूजा गरिएको छ । 
     
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया