दसैंका लागि काठमाडौंबाट बाहिरिनेको संख्या बढ्यो, एकै दिनमा १ लाखभन्दा धेरै बाहिरिए

 असोज २४, २०७५ बुधबार १०:४८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दशैंका लागि गाउँ घर जाने यात्रुको संख्या बढ्न थालेको छ । गएको २४ घण्टामा काठमाडौंबाट १ लाखभन्दा धेरै यात्रु बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार २४ घण्टामा १ लाख ३० हजार भन्दा  बढी यात्रु बाहिरिएका छन् । यो संख्या आजदेखि झन् बढ्नेछ । घटस्थापनादेखि धेरै विद्यालयमा पनि बिदा दिइएकाले गाउँ घर जानेको संख्या बढ्ने अनुमान गरिएको हो । 

तर पोहोर परार भन्दा यसपालि दसैंकै लागि भनेर गाउँघर जानेको संख्या भने केही मात्रामा कम रहेको यातायात व्यवस्था विभागले जनाएको छ । यस अघिका दसैंमा कोरियन भाषा परीक्षाका लागि काठमाडौं आएकाका कारण पनि भीड हुने गरेको थियो । भाषा परीक्षाका लागि झण्डै डेढ लाख परीक्षार्थी काठमाडौं आउने गरेका थिए तर यो वर्ष असार महिनामा नै कोरियन भाषा परीक्षा सकिएकाले चाप कम भएको हो । 

यस्तै, मुग्लिन नारायणगढ, नागढुंगा नौबिसे र कलंकी नागढुंगा सडकखण्डको अवस्थाका कारण पनि यात्रुको चाप कम भएको छ । सडक सुरक्षा नभएको भन्दै केही यात्रुले हवाई यात्रा रोज्न थालेका छन् । यसले गर्दा पनि अघिल्ला वर्षमाभन्दा केही चाप कम भएको अनुमान छ ।

यस्तै, यातायात व्यवस्था विभागले बुधबारदेखि सार्वजनिक गाडीलाई इजाजत पत्र अर्थात रुट परमिट खुला गरेको छ । विभागले दसैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन बुधबारदेखि आउँदो बुधबारसम्मलाई रुट परमिट खुला गरेको हो ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले अब जुनसुकै रुटका गाडी जता पनि जान सक्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया