अब एकल महिला हलो जोत्न तम्सिनुपर्छ, क्षति भए म जिम्मेवारी लिन्छु: शान्ति पुजारा

 असोज २४, २०७५ बुधबार १४:४२:४६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – नेपाल महिला संघकी जिल्ला अध्यक्ष शान्ति बोहरा पुजाराले आफ्नै खेतबारीमा हलो जोत्नु भएको छ । 

सुर्मा गाउँपालिका वडा नम्बर–१, लकुण्डमा रहेको माइती गएको समयमा गाउँका सबैले आलु लगाउनका लागी बाँझो खेत जोतिसकेको र आफ्नो माइतीको मात्रै बाँकी रहेकाे, घरमा हलो जोत्न सक्ने कोही पनि नभएका कारण आफूले हलो जोतेको पुजाराले बताउनु भयो । 

पुजाराका दुई भाईहरु छन् । एक जना शिक्षक र एक जना नेपाल आर्मीको लप्टन भएका छन् । खेतबारीमा काम गर्न अरुको सहयाता लिनु पर्ने बाध्यता उहाँको माइतीघरमा छ । 

‘म माइत गएको समयमा हलो जोत्ने काम मैले गर्छु’ पुजाराले बताउनु भयो । २०४४ सालमा बुबा नरपति बोहराको निधनपछि घरको कामको जिम्मा मेरो काँधमा आएको थियो । मैले २०४५।४६ साल तिर हलो जोत्न सुरु गरेकी थिएँ,’ पुजाराले भन्नुभयो । 

भाईहरु ठूला भएपछि उहाँले हलो जोत्ने काम छोड्नुभयो । उहाँले विवाहपछि पनि हलो जोत्ने काम गर्नु परेन । कहिलेकाहीँ भाइहरु थाकेको समयमा उनीहरुलाई आराम दिन केहीबेर उहाँले हलो जोत्नुहुन्थ्यो । 

त्यसदिन पनि घरमा भएका बुहारीहरु पनि हलो जोत्ने मान्छे नभएकाले आलु रोप्नका लागि बाँझो छोडेको जमीन बाउसोले खन्दै थिए । पछि उहाँले गएर हलो जोत्नुभयो । 

पुजाराले भन्नुभयाे, ‘हाम्रो समाजमा महिलाले हलो जोत्दा अनिकाल लाग्ने, घरमा नराम्रो हुने भन्ने अन्धविश्वास अझै पनि छ । तर मेरो परिवारका कसैले त्यस्तो मान्दैनन् । मलाई हलो जोत्न दिन्छन् । बुबाले पनि मलाई सानैमा केटा मान्छेले गर्ने काम बढी सिकाउनुहुन्थ्यो । हलो बनाउन, फाली, गाड्न सबै काम मलाई आउँछ ।’ 

गलत सामाजिक मान्यता र कुसंस्कारका कारण महिलाहरु धेरै पीडामा रहेको पुजारको भनाई छ । महिलाहरुले हलो जोत्दा अनिष्ट हुन्छ भन्ने मान्यता अहिले पनि कायमै रहेको समाजमा कोहीले प्रशंसा गरेका छन् भने बुढापाकाले भने गाली गर्ने गरेको पुजारा बताउनुहुन्छ । 

‘सबैका पुरुष सधै घरमा हँुदैनन’ उहाँले भनिन् ‘पुरुष घरमा नभएका महिलाहरुले आफन्तलाई हार गुहार गरेर हलो जोति माग्नु पर्ने बाध्यता अहिले पनी बझाङका धेरै महिलाहरुको छ ।  हलो जोतिदिएकै भरमा पुरुष घरमा नभएका महिलाहरुले विभिन्न खालका यौनजन्य हिंसा  र थिचोमिचो सहनु परेको छ  । अब मैले मात्र होईन यहाँका सबै महिलाहरुले हलो जोत्न सक्नु पर्छ ।’ पुजाराले भन्नुभयो ।

सुरुका वर्षमा महिलाले हलो जोत्दा खडेरी पर्छ, अनिकाल पर्छ भनेर हल्ला फैलाए पनि त्यस्तो केही नभएपछि सबै चुपचाप बसेको उहाँले बताउनुभयो । 
महिला हिंसाको एउटा कारण यो पनि भएको उहाँको भनाई छ । यसको अन्त्यका लागि अहिलेका जनप्रतिनिधि महिलाहरुले पनी हलो जोत्न जरुरी रहेको उहाँले बताउनु भयो । 

बोहरा नेपाल महिला संघकी जिल्ला अध्यक्ष तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति बझाङकी सदस्य हुनुहुन्छ । 

पुजारा एकल महिला पनि हुुनुहुन्छ । बझाङका एकल महिलाहरुले अरुको भरमा नै खेतीपाती गर्नुपर्ने बाध्यता रहेको बताउने पुजाराले अब एकल महिलाहरुले पनि हलो जोत्न तम्सिनु पर्ने र यसबाट कुनै क्षति भए त्यसको जिम्मेवारी आफूले लिन तयार रहेको बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Durga

    Oct. 13, 2018, 9:56 a.m.

    GGreat! I salute you Shanti ji.

  •  0 Reply

तपाईको प्रतिक्रिया