‘छक्का पञ्जा –३’ ले गर्‍याे ओपनिङमै आक्रामक व्यापार

 असोज २४, २०७५ बुधबार १६:३१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – घटस्थापनाको अवसर पारेर रिलिज भएको चलचित्र ‘छक्का पञ्जा –३’ ले बिहानैबाट आक्रामक व्यापार गरिरहेको छ । 

नेपालका सबै हलमा सोलो रिलिज पाएको ‘छक्का पञ्जा –३’ हेर्न देश भरिका हलहरुमा दर्शकको ओहिरो लागेको छ । चलचित्र रिलिजअघि नै बुकिङ खुला भएका कारण दर्शकलाई चलचित्र हेर्नका लागि पनि निकै सहज भएको छ । 

‘हामीले चलचित्रमा धेरै मेहेनत गरेका छौँ । पहिलेभन्दा फरक देखाउने प्रयास गरेका छौँ र दर्शकले पनि हामीले राम्रो गर्न सक्छाैँ भनेर विश्वास गर्नुभयो । यो नै हाम्रा लागि महत्वपूर्ण कुरा हो’, चलचित्रकी निर्देशक दीपाश्री निरौलाले भनिन् । चलचित्र ‘छक्का पञ्जा –३’ का लागि काठमाडौं उपत्यकाका सबै जसो मल्टिप्लेक्स हलहरुमा उच्च शो दिइएको छ ।

‘हामीलाई पहिलेका चलचित्रहरुमा शिक्षा दिन नसकेको आरोप लाग्ने गरेको थियो । तर हामीले छक्का पञ्जा ३ बाट मनोरञ्जनसँगै शिक्षा पनि दिने प्रयास गरेका हौँ र आज दर्शकले मन पराउनु भएको छ’,  चलचित्रका निर्माता एवम् कलाकार दीपकराज गिरीको भनाई थियो । 

चलचित्रमा शिक्षा क्षेत्रमा हुने लापर्वाहीलाई उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएको छ । विशेष त सरकारी विद्यालयमा हुने राजनीतिले शिक्षामा पुर्याएको असरलाई बलियो ढंगबाट प्रस्तुत गरिएको छ । 

घटस्थापनाका दिन सार्वजनिक बिदा नभए पनि हलमा दर्शकको भिड लागेको छ ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया