एनआरएनएले कम्पनी मोडेलमा पूर्वाधार विकास कोष स्थापना गर्ने

 असोज २४, २०७५ बुधबार १७:१०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष कम्पनी मोडलमा स्थापना गर्ने निश्चित भएको बताएको छ ।

एनआरएनएका अध्यक्ष भवन भट्टले बुधबार काठमाडौंमा अर्थमन्त्रीसँगको भेटमा पूर्वाधार विकास कोष कम्पनी मोडलमा स्थापना गर्न सकारात्मक रहेको जानकारी दिनुभयो । 

एनआरएनएले वैदेशिक रोजगारमा गएका नेपाली र सानो स्तरमा लगानी गर्ने गैरआवासीय नेपालीलाई भन्दै १० अर्ब रुपैयाँको पूर्वाधार विकासका लागि इन्भेष्टमेन्ट कम्पनी खोल्ने र शेयर जारी गर्न दिन सरकारसँग अनुरोध गर्दै आएको थियो । उहाँले नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र सेबोनको साझेदारीमा कोषस्थापना गर्ने निश्चित भएका बताउनुभएको हो ।

यस्तै एनआरएनएले असोज २६, २७ र २८ गते विज्ञ सम्मेलन गर्ने भएको छ । विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरू र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरूसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा व्यावसायिक संस्थालाई जोड्ने अभिप्रायले सम्मेलन आयोजना गर्न लागिएको गैर आवासीय नेपाली संघले बताएको छ ।

विदेश र स्वदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिको नेपाल सुहाउँदो प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनले ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । सम्मेलनमा भारत, इटली, अमेरिका, क्यानाडा, अष्ट्रेलियालगायतका देशबाट विदेशी विज्ञहरुले भाग लिने एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिनुभयो ।

सम्मेलनमा नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरुबीच छलफल र द्विपक्षीय परामर्श बैठक पनि हुने गैर आवासीय नेपाली संघले जनाएको छ  ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया