भारतका विदेश राज्यमन्त्री एमजे अकबर पनि #Me Too को आरोपले घेरिए

 असोज २४, २०७५ बुधबार २०:१६:१० | एजेन्सी
unn.prixa.net

भारतमा चलिरहेको #Me Too अभियानमा फेरि एउटा नाम अगाडि आएको छ । चर्चित सम्पादक तथा वर्तमान सरकारमा विदेश राज्यमन्त्री रहेका एमजे अकबरमाथि पनि यौन दुर्व्यवहारको आरोप लागेको छ । 

राज्यमन्त्री एमजे अकबरमाथि(प्रिडेटरी बिहेबियर’ को आरोप लागेको छ । जसमा उनले महिलाहरुलाई मिटिङको नाममा होटेल बोलाउने गरेको आरोप लागेको छ । 

यो आरोपमा राज्यमन्त्री अकबर तथा विदेश मन्त्रालय दुवैले केही प्रतिक्रिया दिएका छैनन् । तर केन्द्रीय महिला तथा बाल कल्याण मन्त्री मेनका गान्धीले राजनेतालगायतका व्यक्तिमाथि लगाइएको आरोपको अनुसन्धान हुनुपर्ने बताएकी छिन् । 

पछिल्ला केही दिनमा भारतमा अभिनेता, पत्रकार, लेखक तथा फिल्म निर्मातामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । यसमा सबैभन्दा माथिल्लो तहका व्यक्ति एमजे अकबर हुन् । 

भारतका प्रभावशाली सम्पादकमध्ये एक रहेका एमजे अकबर ‘द टेलिग्राफ’, ‘द एसियन एज’ को सम्पादक र इन्डिया टुडेको एडिटोरियल डाइरेक्टर बनेका थिए । 

सबैभन्दा पहिले अकबरको नाम सोमबार वरिष्ठ पत्रकार प्रिया रमानीले लिएकी थिइन् । उनले एक वर्ष पहिलो भोग इन्डियाका लागि ‘टु द हार्बे वाइन्स्टिन्स अफ् द वर्ल्ड’ शीर्षकमा एउटा लेख लेखेकी थिइन् । उनले सोमबार त्यही लेखलाई रिट्वीट गर्दै त्यो लेख एमजे अकबरको बारेमा भएको खुलासा गरेकी थिइन् । उनले लेखेको लेखमा भने अकबरको नाम थिएन । त्यसपछि अन्य पाँच जना महिलाले पनि अकबरको नाम लिएका थिए । 

को हुन् अकबर ?

  • वरिष्ठ पत्रकार एमजे अकबर सन् २०१४ मा भएको लोकसभा चुनावभन्दा केही समय पहिले भारतीय जनता पार्टी(बीजेपी) मा प्रवेश गरेका थिए । 
  • सन् २०१५ मा उनी झारखण्डबाट राज्यसभा सदस्यका रुपमा चुनिएका थिए । 
  • कुनै समय राजीव गान्धीको खास मान्छे रहेका एमजे अकबर १९८९ मा बिहारको किशनगञ्जब क्षेत्रबाट कांग्रेसको टिकटमा लोकसभा सदस्य चुनिएका थिए । 
  • राजीव गान्धीको प्रधानमन्त्री कालमा एमजे अकबर उनका प्रवक्ता थिए । 
  • सन् १९९१ मा उनी फेरि चुनावी मैदानमा उत्रिए, तर हार व्यहोरे । 
  • चुनावमा हार व्यहोरेपछि एमजे अकबर पुनः पत्रकारितामा फर्किएका थिए । 
     

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया