बलिउड महानायक अमिताभ बच्चनको ७६ औं जन्मदिन

 असोज २५, २०७५ बिहिबार १३:२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडका महानायक अमिताभ बच्चनको आज ७६ औं जन्मदिन हो । उनको जन्म सन् १९४२ अक्टुबर ११ भारतको इलाहवादमा भएको थियो । बलिउडमा अमिताभलाई एङग्री योङ्गम्यान, शेहनशाह, बिग बि लगायत कयौं नामहरु दिइएको छ । ७६औं वर्षको उमेरमा पनि अमिताभ बच्चन निकै जोश र हौसलाका साथ बलिउड तथा टेलिभिजनमा काम गरिरहेका छन् । अमिताभ एक यस्ता कलाकार  हुन जसको चार्म यस उमेरमा पनि कायम नै छ । 

अमिताभ बच्चन सफलताको शिखरमा सजिलै भने पुगेका होइनन् । उनले जीवनमा यस्तो समयको पनि सामना गरेका छन जुन बेला उनी पूर्ण रुपमा ऋणमा डुबेका थिए । अमिताभको जीवन त्यति सहज थिएन तर त्यस अप्ठ्यारो समयमा परिवारको साथ र दृढ निश्चयले उनले सारा कठिनाई पार गरे । 

अमिताभलाई अभिनय गर्ने रहर बाल्यकाल देखि नै थियो । उनले सेन्टमेरी स्कुलबाट उनको पढाई सुरु गरेका थिए । त्यसपछि उनलाई नैनीतालको शेरवुड स्कुलमा पठाइयो । स्कुलमा अमिताभ हरेक वर्ष अभिनयमा भाग लिने गर्थे । 

अमिताभको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ हो । त्यसको केही समयपछि उनले फिल्म ‘आनन्द’मा अभिनेता राजेश खन्नाका साथ काम गरे । यही फिल्मबाट अमिताभले बलिउडमा आफ्नो पहिचान बनाए । यसै फिल्मबाट उनले बेस्ट सपोर्टिङ एक्टरको अवार्ड पाएका थिए । यसपछि उनले फिल्म ‘बम्बे टू गोवा’ मा काम गरे तर यो फिल्म सफल भएन । 

अमिताभलाई भने यसै फिल्मको एक फाइट सिन हेरेर निर्देशक प्रकाश मेहराले उनको फिल्म ‘जंजिर’ मा मुख्य अभिनेताको रुपमा लिए । जुन फिल्म बक्स अफिसमा सुपरहिट भयो । यसपछि अमिताभका साथ काम गर्न नमान्नेहरु पनि अमिताभको अघिपछि लाग्न थाले । 

सुरुवातमा अमिताभ निकै अग्लो र दुब्लो पातलो भएकै कारण फिल्महरुमा काम पाउदैनथे । उनलाई भारतको अलइण्डिया रेडियोले समेत आवाज नराम्रो भनेर निकालिदिएको थियो  । 

अमिताभको जीवनमा एक यस्तो समय पनि आयो जुनबेला उनले कमाएको स्टारडममा कमी आउन थाल्यो । उनलाई फिल्ममा काम पाउन कमी हुन थाल्यो र अभिनय गरेका फिल्महरु समेत एक पछि अर्को गर्दै फ्लप हुन थाले । एकै पटक कयौं फिल्म फ्लप भएपछि उनको जीवन निराशामा बित्न थाल्यो । उनले फिल्ममा काम गर्न  नै बन्द गरिदिए । 

त्यसपछि अमिताभले उनका साथी राजीव गान्धीको आग्रहमा राजनिति गर्न थाले । तर राजनितिमा पनि उनी जम्न सकेनन । तीन वर्षमै राजिनामा दिएर राजनितिबाट पनि बाहिरिए । त्यसपछि उनले आफ्नै प्रोडक्शन कम्पनी खोले । जसलाई उनी उत्कृष्ट कम्पनी बनाउन चाहन्थे । उनले कयौं कलाकारलाई यही कम्पननिका माध्यमबाट फिल्ममा काम गर्ने अवसर पनि दिए । तर यस कम्पनीबाट पनि उनी असफल भएपछि अमिताभको हौसला सक्कीसकेको थियो । 

तर सन् २००० को नयाँ वर्ष अमिताभ बच्चनको जीवनमा नयाँ उर्जा लिएर आयो । त्यही वर्ष अमिताभलाई टेलिभिजन च्यानलबाट ‘कौन बनेगा करोडपति’ मा काम गर्ने अफर आयो । उनले पहिलो पल्ट टेलिभिजनमा डेब्यू गरे । दर्शकले यो शो निकै मन पराए । यो शो निकै सुपरहिट बन्यो । ‘कौन बनेगा करोडपति’ ले अमिताभ बच्चनको जीन्दगी नै बदलियो । अमिताभको आर्थिक स्थिति पनि सुध्रिन थाल्यो । उनलाई लागेको ऋण पनि सबै चुक्ता गरे ।  

त्यही वर्ष यश चोपडाको फिल्म ‘मोहब्बतें’ मा उनले शाहरुख खानका साथ काम गरे । यो फिल्म सुपरहिट भयो र उनले बलिउडमा दमदार रुपमा कमब्याक गरे । त्यस पछि अमिताभले कहिल्यै पछाडी फर्केर हेर्नु परेन । आज उनी बलिउडकै महानायक बनेका छन् ।  

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया