मदन पुरस्कार ग्रहण गर्दा गुरु यज्ञनिधिलाई सम्झेर भावुक भइन् निहारिका

 असोज २५, २०७५ बिहिबार १८:१८:११ | उज्यालो सहकर्मी

काठमाडौं – यस वर्षको मदन पुरस्कार निलम कार्की निहारिका र जगदम्बा–श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीले बिहीबार रातो बंगलास्थित दीक्षित थिएटरमा एक कार्यक्रमकाबीच मदन र जगदम्बा–श्री पुरस्कार विजेतालाई सम्मान तथा पुरस्कार वितरण गरेको हो ।

यस वर्षको मदन पुरस्कार निलम कार्की निहारिकाको कृति ‘योगमाया’ले प्राप्त गरेको थियो । यस्तै बाल साहित्यमा पाँच दशकदेखि निरन्तर समर्पित रहनुभएका बाल साहित्यकार शान्तदास मानन्धरले जगदम्बा–श्री पुरस्कार प्राप्त गर्नुभएको छ । 

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले निलम कार्की निहारिकाको पुस्तक ‘योगमाया’ले हाम्रो समाजमा कम देखेका, कम सुनेका, कम लेखेका वा कम बुझेका थुप्रै पात्रहरु साहित्यमार्फत अगाडि बढ्ने विश्वास रहेको बताउनुभयो ।

यस्तै उहाँले शान्तादास मानन्धरको लेखनमा निरन्तरता रहिरहोस् भन्दै उहाँका पुस्तकहरु पढेर नेपाली नयाँ पुस्ताहरुले कथा परम्परा सिकेको, बुझेको कुरा अविस्मरणीय रहेको बताउनुभयो । 

कार्यक्रममा डा. तीर्थबहादुर श्रेष्ठले नेपालको भौगोलिक अवस्थाको अनुसन्धानात्मक अभिव्यक्ति दिनुभयो । उहाँले नेपालको अस्तित्व हिमाल, पहाड र तराईको सहअस्तित्वमा टिकेको भन्दै हराभरा तराई, रसिलो पहाड र सुन्दर हिमालको परिदृश्यमा नेपालको पहिचान खुल्ने अभिव्यक्ति राख्नुभयो ।

मदन पुरस्कार ग्रहण गर्दै ऐतिहासिक उपन्यास ‘योगमाया’ की सर्जक निलम कार्की निहारिकाले आफ्ना गुरु तथा रेडियो नेपालका कार्यक्रम प्रस्तोता  दाहाल यज्ञनिधिको अनुपस्थिति खड्किएको बताउँदै भावुक हुनुभएको थियो ।  

निहारिकाले दाहाल आफ्ना गुरु यज्ञनिधिले गृहकार्यको रुपमा सुझाएको पाठ इमान्दारीपूर्वक खोज गरेर तयार पारिएको पुस्तक नै ‘योगमाया’ रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मैले लेखिसकेको अवगत गराउँदा उहाँ अति नै हर्षित हुनुभएको थियो; मेरो दुर्भाग्य जब मदन पुरस्कार घोषणा भयो, मेरा गुरु भने यस दुनियाँमा रहनुभएन ।’

विशिष्ट समारोहमा ‘योगमाया’ सम्मानित हुँदा आफ्ना गुरु नहुनुको पीडाले सताएको भावना निहारिकाले व्यक्त गर्नुभयो । आफू सानो छँदा दाहाल यज्ञनिधिकै रेडियो कार्यक्रम ‘साहित्य संसार’ सुनेर नै साहित्यमा रुचि बढेको र पछि उहाँसँगै सहकार्य गर्न पाउँदा गुरुको रुपमा उहाँलाई पाएको स्रष्टा निहारिकाले बताउनुभयो ।

त्यस्तै बाल साहित्यकार शान्तदास मानन्धरले मदन पुरस्कार गुठीले ‘जगदम्बा पुरस्कार’ द्वारा सम्मानित गर्दै आफूलाई हौसला प्रदान गरेको बताउनुभयो । अहिले धेरै स्रष्टाहरु बालसाहित्यमा लागेको बताउँदै यो क्षेत्र उज्ज्वल भएको मानन्धरले बताउनुभयो । 

मदन पुरस्कार गुठीले पुरस्कार दिने वर्षभरि प्रकाशित भएका पुस्तकहरु मध्यबाट छानेर पुरस्कार प्रदान गर्ने गर्दछ । २०७४ सालमा नेपालमा प्रकाशित भएका २ सय ५३ पुस्तकमध्येबाट गुठीले मदन पुरस्कारका लागि ८ पुस्तकको नाम सार्वजनिक गरेको थियो ।

दुवै पुरस्कारको राशी २ लाख रहेको छ । वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया