वामदेव गौतम अहिल्यै आउटडेटेड हुनु भएको छैन : नेता राई

 असोज २५, २०७५ बिहिबार १८:४९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले पार्टीका प्रभावशाली नेता वामदेव गौतमको भूमिका संसद, सरकार र पार्टीभित्र सबै ठाउँमा रहेकोले प्रतिनिधिसभाको सदस्य बन्नुपर्ने स्पष्ट पार्नुभएको छ  । 

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद झाँक्रीले भन्नुभयो, ‘सबै कुरा हामीले मिडियामा आएपछि थाहा पाएका छौँ ।  अर्को कुरा पार्टीले अहिलेसम्म निर्णय गरेको छैन भन्ने पनि थाहा पाएका छौँ । मलाई लाग्छ के लाग्छ भने यो बाहिर सडकमा, सतहमा या सामाजिक सञ्जालमा बहस गरेर यसको निरुपण वा निधान हुँदैन ।’

पार्टीको लागि या पार्टीका नेताहरुलाई के–के जिम्मेवारी दिने भन्ने कुरा र व्यवस्थालाई कतातिर लैजाने भन्ने कुरा पार्टीका नेताहरु अथवा केन्द्रिय कमिटीले निर्णय गर्ने उहाँको भनाई छ । 

नेतृ झाँक्रीले नेता गौतमको आवश्यकता संसद, सरकार र पार्टीमा पनि रहेको उल्लेख गर्दै गौतमलाई संसदमा ल्याउँदा फाइदा हुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीका आदरणीय नेताहरु हुनुहुन्छ, उहाँहरुले विवेकसम्मत् आवश्यकत्ताको पहिचान गरेर आवश्यकत्ताको सिद्धान्तअनुसार अर्को एकजना शीर्षस्थ नेतालाई चुनाव लडाउने, सांसद बनाउने कुरा पार्टीले गर्न खोजेको हो भने हामी कार्यकर्ताले हाम्रो अधिकार केन्द्रीय कार्यसमितिबाट प्रत्यायोजित गरेका छौँ । उहाँहरुले नै न्याय गर्नुहुन्छ । हामी पार्टीले गरेको निर्णयलाई कार्यान्वयन गरेर जान्छौँ ।’

‘०६२/०६३ पछिको ऐतिहासिक क्रान्तिपछाडि हामीले संविधानसभा बनायौँ । त्यतिबेला संविधानसभामा ठूलो संख्या थियो । समावेशी र समानुपातिकतर्फको थियो । त्यतिबेला नयाँ संविधान निर्माण प्रक्रियामा कोही मान्छे छुट्ला कि, त्यस्तो हो भने अर्को एउटा ढोका पनि खोलेका छौंँ भनेर क्याबिनेटबाट २६ जना मनोनित गर्ने व्यवस्था पनि थियो । पहिला त्यो बाटोलाई प्रयोग गरिएको थियो ।’

गएको निर्वाचनमा कयौं प्रभावशाली नेताहरुले हारेको उल्लेख गर्दै झाँक्रीले भन्नुभयो, ‘संसदमा एकदमै महत्वपूर्ण विषयमा छलफल भैरहँदा, सरकारका नीति तथा कार्यक्रम, बजेटलगायत अहिले हामीले मौलिक हकसम्बन्धी १६ वटा कानुन पनि बनायौं । त्योसँग सम्बन्धित बहसमा शीर्षस्थ नेताहरुको आवश्यकत्ता खड्किन्छ । त्यो बखत उहाँहरु भएको भए त्यो संसद यो भन्दा अझै जीवन्त हुन्थ्यो भन्ने पनि लाग्छ । त्यसले गर्दा हाम्रो पार्टीका शीर्षस्थ नेताहरु संसदमा हुनुहुन्छ । तर, वामदेव गौतम हुनुहुन्न । स्वभावैले उहाँ पनि भएको भए अलिकति सफल र जीवन्त हुन्थ्यो, अथवा संसद चल्ने कुरा अझै फरक हुन्थ्यो की भन्ने कुरा हामीले अपेक्षा गर्नु स्वभाविक हो ।’

झाँक्रीले वामदेव गौतमको आवश्यकत्ता छैन भनेर आफूजस्तो नेताहरुले भन्ने दिन आज नआएको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘वामदेव गौतमको आवश्यकता आज पनि जरुर छ । पार्टीभित्र छ, संसदभित्र छ, र सरकारमा पनि छ । राजनीतिक विचार निर्माण गर्न पनि उहाँको आवश्यकता छ ।’

त्यस्तै कार्यक्रममा नेकपाकै केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य राजेन्द्र राईले साधारण भूमिकाको लागि मात्रै वामदेव गौतमलाई संसदमा लैजान जरुरी नभएको स्पष्ट पार्नुभयो । राईले भन्नुभयो, ‘साधारण भूमिकामा उहाँलाई संसदमा लैजान जरुरी छैन । असाधारण भूमिका छ भने लैजानुपर्छ । यदि उहाँलाई संसदमा लैजाने भनेर पार्टीका शीर्ष नेताहरुबीच सहमति भएको छ भने लैजानुपर्छ ।’

उहाँले पार्टीका नेताहरुले वामदेव गौतमको असाधारण भूमिकाबारे भनेर वा गरेर पुष्टि गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । ‘अहिले भन्न मिल्छ भने अहिले नै भन्नुपर्यो । केही समय लाग्छ भने त्यो पनि कुरेर भए पनि भन्नुपर्यो । वामदेव गौतमलाई विशेष जिम्मा दिनेगरी लैजानुपर्छ । यतिकै सांसदमात्रै बनाउनको लागि लैजानुहुँदैन’, राईले भन्नुभयो ।  

उहाँले सांसदमात्रै बनाउनको लागि भएका र जितेका सांसदलाई राजीनामा गराउनु उचित नहुने तर्क गर्नुभयो । उहाँले नेता गौतम अहिले नै आउटडेटेड नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँको आवश्यकता संसदभित्र र बाहिर दुवै ठाउँमा छ ।’ 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया