काठमाडौं ७ का मतदाता असन्तुष्ट

 असोज २६, २०७५ शुक्रबार ६:५५:४ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं  – काठमाडौं क्षेत्र नं. ७ का मतदाता नरेश गुभाजुलाई आफूले भोट दिएर जिताएका नेताले काम गर्न सकिन भन्दै राजीनामा दिन्छु भनेको ठीक लागेको छैन ।

चुनावमा दिनरात खटेर भोट हालियो । चुनावी र्यालीमा पनि हिँडियो । तर अहिले आएर उसैले काम गर्न सकिन भन्दै अर्कैलाई बाटो खुला गरेपछि गुभाजु आक्रोशित हुनुभएको छ । गुभाजु काठमाडौं वडा नम्वर १७ का तत्कालीन नेकपा एमालेका सक्रिय कार्यकर्ता हुन् । गुभाजु जस्तै काठमाडौं क्षेत्र नम्बर ७ मा रामवीर मानन्धरलाई मतदान गरेका धेरै मतदाता अहिले आक्रोशित देखिएका छन् । 

नेकपा नेता बामदेव गौतमलाई सांसद बनाउन भन्दै रामवीरले राजीनामा दिने घोषणा गर्नुभएको छ ।  उहाँले आफूले विकास गर्न नसकेको र पुराना तथा अनुभवी नेतालाई आफ्नो क्षेत्रबाट विजयी बनाए विकास हुने भनेर दिएको अभिव्यक्तिले गएको वर्ष उहाँलाई नै मतदान गरेका मतदाता रुष्ट भएका छन् । ‘त्योबेला नै यस्तो अयोग्य व्यक्ति हो भन्ने थाहा पाएको भए रामवीरलाई भोटै हाल्ने थिएनौँ’ गुभाजुले भन्नुभयो ।   

बालाजुका दिपेश महर्जन पनि तत्कालीन एमालेको सकृय कार्यकर्ता हुनुहुन्छ । चुनावका बेला धेरैलाई जम्मा पारेर रामवीरको पक्षमा मतदान गर्न भन्दै घरघर डुलेको महर्जनले अझै बिर्सनुभएको छैन । दिपेश भन्नुहुन्छ, ‘केही गर्न सक्दिन भनेको भए त्यतिबेला किन चुनाव लड्नु ?’ चुनावको समयमै तत्कालीन एमाले र माओवादी केन्द्रले तालमेल गर्दै चुनाव लडेका थिए । तालमेल भए पनि सबैभन्दा धेरै आफूहरुले नै रामवीरको पक्षमा मेहनत गरेको बताउनुहुन्छ तत्कालीन एमालेका दिपेश महर्जन । ‘आफ्नो स्वार्थको खेलमा रामवीरले हाम्रो मतमाथि नै खेलबाड गरे,’ उहाँले भन्नुभयो, ‘नेताहरुको यस्तो चर्तिकलाले त अहिले राजनीतिप्रति नै वितृष्णा जाग्न थालेको छ ।’ 

यसअघि नेता गौतम डोल्पाबाट सांसद बन्ने चर्चा थियो । पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा दिएर त्यहाँ गौतम चुनाव लड्ने भनेर तयारी पनि भएको थियो । तर सांसद बुढाले मात्र होइन, डोल्पाकै युवाहरुले समेत नमानेपछि त्यहाँबाट चुनाव लड्ने बामदेवको प्रयास विफल हुन पुग्यो ।  

डोल्पाबाट नमिलेपछि नेता गौतमको ध्यान दैलेख र बाँकेतर्फ पनि पुग्यो । तर त्यहाँ पनि स्थानीय नेता कार्यकर्ताले बामदेवका लागि अर्को चुनाव हुन नहुने बताए । अन्त्यमा काठमाडौं ७ मा रामवीरले बामदेवका लागि बाटो खुला गरिदिनुभयो । तर चौतर्फी आलोचना भएपछि अब सांसद बन्नको लागि चुनाव लड्ने योजनाबाट नेता गौतम पछि हट्नुभएको छ । यसबारे उहाँले शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गर्नुभएको छ ।

तर नेता गौतमको आधिकारिक धारणा सार्वजनिक नहुँदासम्म मतदाता असन्तुष्ट छन् । पाँच वर्षका लागि जिताएर पठाएको भए पनि एक वर्ष नि नपुग्दै जितेकालाई हटाएर हारेका बामदेवलाई जसरी पनि सांसद बनाउन खोज्नुले आफूहरुले दिएको मत माथि नै अपमान भएको इचंगुका रबिन श्रेष्ठ बताउनुहुन्छ । ‘हामीले त हाम्रा नेतालाई पाँच वर्षका लागि जिताएर पठाएका थियौँ,’ श्रेष्ठले भन्नुभयो, ‘तर एक वर्ष पनि नपुग्दै जितेकालाई हटाएर हारेका गौतमलाई सांसद बनाउन खोज्नु हाम्रो मतमाथिकै अपमान हो ।’ 

न्हुछेकाजी महर्जन काठमाडौं वडा नम्वर १८ का वडा अध्यक्ष समेत हुनुहुन्छ । तत्कालीन एमालेबाट चुनाव जितेर वडाअध्यक्ष बनेका महर्जनले बामदेव गौतम क्षेत्र नम्वर ७ मा आएर चुनाव लड्न सजिलो नहुने बताउनुहुन्छ । यहाँ ७० प्रतिशत जनसंख्या नेवार समुदायको छ । ‘रामवीर नेवार समुदाय र त्यसमाथि यहीँको स्थानीय भएकाले चुनाव जित्न सजिलो भएको थियो,’ उहाँले भन्नुभयो, ‘तर बामदेव गौतम अर्कै ठाउँको त्यसमाथि पनि चुनाव हारिसकेका व्यक्ति, त्यसैले उनका लागि यो ठाउँ सजिलो छैन ।’  अब फेरि चुनाव हुने हो भने हामी आफै पनि के भनेर मतदाताकोमा भोट माग्न जाने ? उहाँले प्रश्न गर्नुभयो । 

त्यही निर्वाचन क्षेत्रको (क) र (ख) बाट प्रदेशसभामा निर्वाचित प्रकाश श्रेष्ठ र बसन्त मानन्धर दुवैले पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई भेटेर बामदेवका लागि अहिले चुनाव लड्नु सहज नहुने बताइसक्नुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य एवं तत्कालीन एमालेका काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईले पनि बामदेवको जितको ग्यारेण्टी लिन नसकिने बताउनुभयो । ‘अहिलेको अवस्था चुनावमा जाने बेलै होइन,’ उहाँले भन्नुभयो, ‘अहिले चुनाव यदि भयो नै भने पनि आफ्नै मतदाताले साथ नदिने अवस्था छ ।’ 


 

अन्तिम अपडेट: चैत १४, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया