‘क्वान्टिको’मा बोलेको सम्वादका कारण प्रियंका चोपडाको खोइरो खनियो

 जेठ २४, २०७५ बिहिबार १७:३७:२ | एजेन्सी

अमेरिकी श्रृंखला क्वान्टिकोमा अभिनय गरेर चर्चामा रहेकी बलिउडकी नायिका प्रियंका चोपडा यतिबेला विवादित बनेकी छिन् ।

क्वान्टिकोको तेस्रो संस्करणको पाँचौं भागमा बोलेको एउटा सम्वादका कारण उनी चर्चामा आएकी हुन् ।

भारतीय सामाजिक सञ्जालमा यतिखेर #ShameOnYouPriyankaChopra  र  #BoycottQuantico  ह्याशट्याग राखेर प्रियंकालाई ट्रोल गरिरहेका छन् ।

उनले बोलेको सम्वाद यस्तो छ 

‘यो पाकिस्तानी होइन, यसको घाँटीमा रुद्राक्षको माला छ । यो कुनै पाकिस्तानी मुसलमानको घाँटीमा हुन सक्दैन । यो एउटा भारतीय राष्ट्रजादी हो जो पाकिस्तानलाई फसाउने प्रयास गर्दैछ ।’

यही सम्वाद भएको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएपछि उनी आलोचित भएकी हुन् ।

पाँचौ भागको कथा अनुसार प्रियंका एफबिआइ एजेण्टको भूमिकामा छिन् । उनको टोलीले गिरफ्तार गरेका केही शंकास्पद व्यक्तिहरु पाकिस्तानी भएको शंका हुन्छ । प्रियंकाले एउटा व्यक्तिको घाँटीमा रुद्राक्षको माला देखेपछि यो सम्वाद बोल्छिन् ।

भारतीय अभिनेता शत्रुघन सिन्हाले ट्वीट गर्दै केही पैसा र प्रसिद्धिका लागि आफ्नै देशको बेइज्जती गरेको भनेका छन् ।

त्यस्तै फिल्म निर्माता विवेक अग्नीहोत्रीले आफूले प्रियंकाको साहस र प्रतिभाको कदर गर्ने तर कुनै पनि सच्चा भारतीय यस्तो श्रृंखलाको हिस्सा बन्न चाहँदैन, अस्वीकार गर्छ भन्ने व्यहोराको ट्वीट गरेका थिए । 

  
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया