यो कस्तो पार्किङ शुल्क : पाँच मिनेट गुडेको सवारीबाट ४० रुपैयाँ असुलियो

 असोज २६, २०७५ शुक्रबार १७:४६:५१ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – पहाडी जिल्लाबाट राजधानी र तराई जाने सवारीमा कटारी नगरपालिकाले राजमार्गमा गुडेकै अवस्थामा पार्किङ शुल्क लिँदै आएको छ ।

नगरपालिकाले ठेक्का नै लगाएर सिद्धिचरण राजमार्ग र मध्य पहाडी राजमार्ग हुँदै पहाडका तीन जिल्ला आउने सवारीमाथि मनपरि कर उठाएको हो । 
पहाडका तीन जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बु आवत–जावत गर्ने सवारीमाथि उदयपुरको घुर्मीमा सडकबाट रोकेर पटकैपिच्छे पार्किङ शुल्क उठाउने गरेको हो । ओखलढुंगाबाट काठमाडौंलगायत तराईका अन्य जिल्ला जान मध्यपहाडी राजमार्गको घुर्मी खण्डमा झण्डै तीन किलोमिटर सडक पर्छ । बाँकी ओखलढुंगा र सिन्धुलीको भाग पर्छ । तर नगरपालिकाले राजमार्गमा नरोकिने सवारीलाई पार्किङ शुल्क भन्दै रकम असुलिरहेको छ । 

अझ कर असुल्न तोकिएका व्यक्तिले सवारी पिच्छे फरक–फरक रकम लिने गरेका छन् । रकम लिएपछि नगरपालिकाको रसिद दिने भए पनि रसिदपिच्छे फरक–फरक रकम उल्लेख गरिएको छ ।

टाटा सूमोलाई ३५ देखि ४५ रुपैयाँसम्म असुलिएको पाइएको छ । यसरी हरेक दिन काठमाडौंबाट पाहाडी जिल्ला आएका सवारीले शुल्क तिर्दै आएका छन् । असोज २५ गते ४९६९ नम्बरको सुमोले काठमाडौंबाट ओखलढुंगा आउँदा घुर्मीमा पार्किङ शुल्क ४५ रुपैयाँ दियो, तर बील ४० रुपैयाँको मात्रै दिइएको छ ।

त्यस्तै भदौ २५ गते ओखलढुंगा आएको निजी सवारीले ३५ रुपैयाँमा १३ प्रतिशत कर थपेर तिरेको छ । यसरी कटारी नगरपालिकाले मनपरि दरमा गुडेका गाडीबाट पार्किङ शुल्क उठाइरहेको छ । यो कर नगरपालिका आफैले जारी गरेको आर्थिक ऐन विपरित छ । ०७५ असार २४ गतेको नगरसभाबाट पारित कटारी नगरपालिकाको आर्थिक ऐनको दफा ७ मा सवारी कर सम्बन्धी व्यवस्था गरेको छ । उक्त ऐनमा नगरपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा सवारी कर लगाइने उल्लेख छ । 

तर, पहाडका तीन जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बु हुँदै काठमाडौं र तराइका जिल्ला जाने अधिकांश सवारी सम्बन्धित जिल्ला र केही काठमाडौं र सिन्धुलीमा दर्ता छन् । ऐनमा नगरक्षेत्रभित्र दर्ता भएका सवारीमा कर लिने भनिए पनि देशभर चल्ने सबै सवारीमा मनपरि असुल्न थालेपछि व्यवसायी आक्रोशित बनेका छन् । उदयपुरको कटारी नगरपालिका वडा नं. १४ मा जम्मा सवारी पाँचदेखि ७ मिनेट मात्रै गुड्छन् । 

निजी यातायात तथा सवारी कटारी नगरपालिकाको गैर कानुनी करको मारमा परेको उद्योग वाणिज्य संघ, ओखलढुंगाका सचिव निबन्ध श्रेष्ठले बताउनुभयो । ‘राजमार्गमा गुड्दा किन पार्किङ शुल्क लिने ?, कटारीको भूभागमा १० मिनेट पनि सवारी गुड्दैनन्’, श्रेष्ठले भन्नुभयो ।

सडकमा गुडेका सवारीमाथि पार्किङ शुल्क लिएको विषयमा कटारी नगरपालिकाका सूचना अधिकारी ओमबहादुर मिश्रले नगरपालिकाले ‘पार्किङ जोन’ तोकर त्यस क्षेत्रमा रोकिएका सवारीलाई मात्र कर लिएको बताउनुभयो ।
‘घुर्मी बजार जोनमा परेकाले रोकिएका सवारीमा मात्रै कर लिइएको हो, अन्य सवारीमा छैन’ मिश्रले भन्नुभयो, ‘होटल छेउमा रोकिएका सवारी पार्किङ हुन, कि होइनन् ?’ 

अन्तिम अपडेट: चैत ११, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया