दुई हजार महिलाले लिए आत्मरक्षा तालिम !

 असोज २६, २०७५ शुक्रबार १८:५३:५७ | निर्मला खडायत
unn.prixa.net

फाइल तस्बिर

कैलाली – एक हजार महिलालाई सहभागी गराउने उद्देश्यका साथ सुरु गरिएको ‘वुमेन्स सेल्फ डिफेन्स क्याम्प २०१८’ मा दुई हजारभन्दा बढी महिलाले आत्मरक्षा तालिम लिएका छन् ।

प्रत्येक दिन बिहान ६ः३० मा सुरु भएको तालिम आठ बजे सहभागी महिलाहरुको ‘हुस’ भन्ने चिच्याहटबाट अन्त्य हुन्थ्यो । एक सातासम्म बालिका, गृहणी र केही पाका महिलाहरुले हिंसाबाट बच्न र प्रतिकार गर्न सिकेको बताएका छन् ।

समाजमा बलात्कारका घटना बढिरहेका बेला राष्ट्रिय गोजुरियो कराँते–दो संघले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा असोज २० गतेबाट एक हजार किशोरी तथा महिलाका लागि ‘वुमेन्स सेल्फ डिफेन्स क्याम्प २०१८’ शुक्रबार समापन गरिएको हो । तालिममा महिलाहरको आत्मबल बढाउन र आत्मरक्षाका लागि किक र पञ्च हान्न सिकाइएको छ ।

‘यो तालिमले जोस र जाँगर थपिएको भान भएको छ’, मोनिङ बेल पत्रिकामा कार्यरत शर्मिला बागचन्दले भन्नुभयो, ‘पहिले आफूलाई पुरुषभन्दा कमजोर छु भन्ने महसुस हुन्थ्यो, तर अब लाग्छ, तरिका हुनुपर्दो रहेछ मानिससँग । अब चाहिँ म सक्छु है भन्ने लागेको छ ।’ 

धनगढी उपमहानगरपलिका वडा नम्बर–१, कि ३० वर्षीय मिना श्रेष्ठले लगातर ७ दिनसम्म आत्मरक्षा तालिम सिक्नुभयो । आत्मरक्षाका उपायहरु सिक्न प्रतिकार गर्ने शैली जान्न प्रत्येक दिन उहाँ एका बिहानै धनगढीको रंगशालामा पुग्नु हुन्थ्यो । ‘म सातै दिनको तालिममा सहभागि भएँ’, उहाँले भन्नुभयो,  ‘शिविरमा नियमित आएकोले अब कसैले आक्रमण गरे त्यसको प्रतिकार गर्ने सक्छु भन्ने लागेको छ ।’

‘हाम्रा पालमा यो तालिम लिन पाइएन, धेरै दिदी बैनी बलात्कार र महिला हिंसाका सिकार भए’, ३० वर्षीय जानकी भट्टराइले भन्नुभयो, ‘यो तालिमले अहिलेका साना नानीदेखि लिएर हाम्रो उमेरका महिलाहरुमा थप उर्जा थपेको छ ।’ 

‘मैले तालिममा आत्मसुरक्षाका लागि सीप र आत्मविश्वास दुवै लिन पाएँ’,  १४ वर्षीय पुष्पा सिंहले भन्नुभयो, ‘कञ्चनपुरकी निर्मलाले यो तालिम पहिले नै सिक्न पाउनु भएको भए, उहाँ त्यो दुर्घटनामा पर्नु हुँदैनथ्यो होला ।’

पुष्पाको मनमा आक्रोश थियो । उहाँले थप्नुभयो, ‘हामी छोरीहरु पनि छोराभन्दा कमजोर छैनौं । यो तालिमबाट सिकेका कुरा व्यवहारमा लागू गर्नेछौं र प्रदेशमा थप बलात्कारका घटना हुन दिने छैनाैं ।’

पुष्पा शारदा माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा हुन् । ‘म मैले सिकेको कुरा साथीहरु र छिमेकमा पनि सिकाउँछु’, पुष्पाले अन्तमा भन्नुभयो ।
कैलालीको सुदूरपश्चिमाञ्चल क्याम्पस स्नातक तह तेस्रो वर्षमा अध्ययनरत पूजा भट्टले कसैले बाटोमा समात्यो भने कसरी छुटकारा पाउने, अंगालो हाल्दा कपाल समात्दा त्यसबाट तुरुन्तै कसरी छुटकारा पाउने ? भन्ने  कुराहरु थाहा पाएको बताउनुभयो । 

‘पछिल्लो समय बढिरहेको बलात्कार लगायतका घटना न्यूनिकरण गर्न र स्वंय आफैलाई परेको अवस्थामा पनि त्यसको प्रतिकार गर्न सक्नेछु’, १५ वर्षकी कोपीला जोशीले बताउनुभयो । कञ्चनपुरमा भएको निर्मला पन्तको बलात्कार पछिको हत्याले यो तालिमको आवश्यकता परेको आयोजक राष्ट्रिय गोजोरियो कराँते दो संघले जनाएको छ ।

आत्मरक्षा क्याम्पका संयोजक तथा राष्ट्रिय गोजोरियो कराँते दो संघका केन्द्रिय महासचिव प्रकाशकुमार चन्दले भन्नुभयो, ‘अब महिला निरिह भएर हिँडनु पर्दैन, स्वभिमानका साथ हिँडनुपर्छ भनेर मोटिभेसन तालिम पनि दिइएको छ ।’

‘धेरै खुशी छु’, उहाँले थप्नुभयो, ‘महिलामाथि हिंसा गर्नेलाई कसरी प्रतिकार गर्ने भनेर सिकायौं । तालिमले सोचेभन्दा बढी सफलता प्राप्त गरेको छ । महिलाहरुले आफूभित्रको क्षमतालाई चिनेका छन् ।’

किशोरी र महिलाहरुको एकदमै उत्साहजनक सहभागिता रहेको आत्मरक्षा तालिमको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नु भएको थियो । उद्घाटन गर्दै भट्टले भन्नुभएको थियो, ‘प्रदेश सरकारले छिट्टै महिलाहरुका लागि आत्मरक्षा र उनीहरुको आत्मबल बढाउने खालको कार्यक्रम ल्याइरहेको छ ।’

शुक्रबार शिविरलाई समापन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीले महिला हिंसा न्यूनिकरणका लागि आत्मरक्षा तालिमले महत्वपूर्ण भूमिका निरबाह गर्ने बताउनु भएको थियो ।
   
      
 

अन्तिम अपडेट: बैशाख २, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया