५०० प्रतिशतसम्म बढी मूल्य लिने ‘द कोरियन शप’ मा सिलबन्दी

 असोज २६, २०७५ शुक्रबार २०:१८:४ | रासस
unn.prixa.net

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै जमलस्थित द कोरियन शपमा आज सिलबन्दी गरेको छ । 

विभागको टोलीले गरेको अनुगमनका क्रममा पसलका सञ्चालकले ५०० प्रतिशतसम्म बढी मूल्य लिएर सामान बिक्री गरेको पाइएको थियो । कोरियन शपले उपभोक्तासँग अत्यधिक मूल्य लिएको भन्ने उजुरीका क्रममा विभागले अनुगमन गरी सिलबन्दी गरिएको विभागका शाखा अधिकृत दीपकराज पोखरेलले जानकारी दिनुभयो । 

खरि मूल्यभन्दा अधिक नाफा राखेर बिक्री गरेको अनुगमनका क्रममा देखिएको उहाँले बताउनुभयो । अधिकृत पोखरेलले भन्नुभयो, ‘कोरियन सपले ७० देखि ५०० प्रतिशतसम्म मुनाफा राखेर कपडालगायत सामग्री बिक्री गरेको पाइयो ।’

उपभोक्ता संरक्षण ऐन, २०७५, कालोबजारी ऐन तथा सामाजिक अपराध ऐनबमोजिम उक्त पसलका सञ्चालकलाई कारबाही हुने उहाँले जानकारी दिनुभयो । कालोबजारी ऐनअनुसार व्यापारीले कुनै पनि उपभोक्तालाई सामग्री बिक्री गर्दा २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाइँदैन । विभागले बजार अनुगमनलाई तीव्रता दिएको उहाँको भनाई थियो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया