अन्तर्राष्ट्रिय फोटो प्रतियोगितमा रौनियारले जिते तेस्रो पुरस्कार

 जेठ २४, २०७५ बिहिबार १८:२९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

यूरोपेली कमिसनमा रहेकाे अन्तर्राष्ट्रिय साझेदारी र विकाससम्बन्धी निर्देशनालयले आयोजना गरेको अन्तर्राष्ट्रिय फोटो प्रतियोगितामा नेपालका ईश्वर रौनियारले तेस्रो पुरस्कार जितेका छन् ।

नेपालमा रहेकाे डयान्चर्च एड नामक अन्तर्राष्ट्रिय गैरसरकारी कार्यालयमा कार्यरत उनले बेल्जियमको ब्रसेल्समा यही बुधबार आयोजित समारोहमा पुरस्कार जितेका हुन् ।

दीर्घकालीन उर्जामा महिला सशक्तिकरण विषयक प्रतियोगितमा पेरु र फ्रान्सका सहभागीले क्रमशः प्रथम र दोस्रो पुरस्कार प्राप्त गरेका छन् । रौनियारको तस्बिरमा नेपालको ग्रामीण भेगका महिलाले सुधारिएको चुल्होमा खाना पकाउनाले उनीहरुको समय बचत र स्वास्थ्यमा आएको सकारात्मक परिवर्तन देखाइएको छ।

‘त्यस प्रकारका चुल्होले दाउराको खपत कम गर्नुका साथै एकै समयमा तीनथरी खाना बनाउन मद्दत गर्छ । साथै हिमाली र पहाडी भेगमा न्यानो दिने काम पनि गर्छ। धूँवाको निकास पाइपबाट हुने भएकोले यसले स्वास्थ्यमा नराम्रो असर गर्दैन र यसबाट निस्केको खरानीले करेसाबारीको मलको काम पनि गर्दछ,’ रौनियारले भने ।

ब्रसेल्सको कार्यक्रममा पुरस्कार प्राप्त गरेपछि रौनियारले भने, ‘यस पुरस्कारले यूरोपली देशहरुले नेपाल जस्ता विकासशील देशमा विकासका मुद्दामा रहेकाे चासो झल्काउँछ।’

प्रतियोगितमा ७० भन्दा बढ़ी देशको जम्मा ९९ फोटोहरु प्रतिस्पर्धाका लागी छानिएका थिए । जसमध्ये दर्शकका अनलाइन भोटका अधारमा ३० उत्कृष्ट फोटोहरु छानिएका थिए। उत्कृष्ट तीन फोटोहरु भने यूरोपेली कमिसनकाे अन्तर्राष्ट्रिय साझेदारी र विकाससम्बन्धी निर्देशनालयका प्रतिनिधि तथा बाहिरी फोटोग्राफरले छानेका थिए ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया