‘हो, म वीर्य बेच्छु तर मैले कुनै अपराध गरेको छैन’

 असोज २७, २०७५ शनिबार ९:८:४० | एजेन्सी
unn.prixa.net

‘विक्की डोनर’ मा त अडल्ट तस्बिर लगाइएको थियो तर यहाँ त एउटा वाशरुम छ जहाँ पर्खाल, कमोड, धारा र वाशबेसिन छ । 

पहिलो पटक निकै असहज महसुस भैरहेको थियो । आफ्नो कोठामा हस्तमैथुन गर्नु र बेच्नका लागि गर्नुमा निकै ठूलो फरक छ ।

वाशरुममा एउटा प्लास्टिकको कन्टेनरमा मेरो नाम लेखिएको थियो । हस्तमैथुन गरेपछि मैले त्यो त्यहीँ छाडिदिएँ । मलाई यसका लागि चार सय रुपैयाँ दिइयो । 
म २२ वर्षको भएँ । म इञ्जिनियरिङको विद्यार्थी हूँ ।

मेरो उमेरमा गर्लफ्रेन्डको चाहना राख्नु तथा कोहीप्रति यौन आकर्षण हुनु सामान्य कुरा हो । तर यसको अर्थ यो होइन कि तपाईँ जोसुकैसँग शारीरिक सम्बन्ध राख्नुहुन्छ ।

विवाहपूर्व सम्बन्ध

मेरोजस्तो सानो शहरमा विवाहपूर्व शारीरिक सम्बन्ध राख्न त्यति सजिलो छैन । मलाई लाग्छ केटीहरुलाई पनि त्यस्तै हुन्छ होला । 

यस्तोमा केटाहरुका लागि हस्तमैथुन एउटा विकल्प बन्छ । तर मलाई त्यतिबेला थाहा थिएन मैले त्यसै खेर फाल्ने गरेको चिज एकदिन बेच्नेछु । 

स्पर्म डोनेशन(वीर्य दान) का बारेमा मैले अखबारमा एउटा रिपोर्ट पढेको थिएँ ।

योभन्दा पहिले मैले रक्तदानका बारेमा सुनेको भए पनि वीर्य दानका बारेमा भने सुनेको थिइनँ । 

मेरो जिज्ञासा बढ्दै गयो । त्यो रिपोर्ट मैले पुरै पढेँ । रिपोर्ट पढेपछि मैले थाहा पाएँ कि हाम्रो देशमा लाखौँ दम्पत्ती वीर्यमा गुणवत्ताको कमीका कारण बच्चा जन्माउन सकिरहेका छैनन् । त्यसैले वीर्य  दानको दायरा एकदमै तीव्रताका साथ बढिरहेको छ । 

म दिल्लीको जुन क्षेत्रमा बस्छु, त्यहीँ नै स्पर्म डोनसन सेन्टर रहेको मैले थाहाँ पाएँ । मलाई यस्तो लाग्यो, घरनजिकै छ त, किन एकपल्ट गएर नहेरुँ ।

म कस्तो देखिन्छुले फरक पार्दैन

म गोरो वर्णको छु । मेरो शारीरिक बनोट पनि ठिकै छ । म बास्केटबल खेल्ने गर्छु । 

जब म स्पर्म कलेक्सन सेन्टरमा गएर विर्य दानको प्रस्ताव गरेँ, त्यहाँ रहेका डाक्टर मलाई देखेर मुस्कुराए । उनी मेरो पर्सनालिटीटी देखेर खुशी भए । डाक्टरको प्रतिक्रियाका कारण मलाई अलिकति असहज महसुस भयो ।

कुरा म कस्तो देखिन्छु भन्ने मात्रै थिएन । मैले वीर्य बेचिरहेको थिएँ । त्यसैले म बाहिर जस्तो देखिन्छु, भित्री रुपमा पनि त्यत्तिकै तन्दुरुस्त छु भन्ने कुरा प्रमाणित गर्नुपर्थ्यो । 

डाक्टरले मैले केही जाँचहरु गराउनुपर्ने बताए । 

मेरो रगतको नमुना लिइयो । त्यसैका माध्यमबाट एचआईभी, डायबिटिजलगायतका रोगहरुको परीक्षण गरियो । सबै परीक्षणमा म सफल भएपछि मलाई तेस्रो दिन बिहान नौ बजे बोलाइयो ।

मेरो वीर्यबाट कोही आमा बन्न सक्छिन्

मलाई एउटा फारम भराइयो । जसमा गोपनीयताको शर्त थियो । त्यसपछि मलाई प्लास्टिकको एउटा सानो डिब्बा दिएर वाशरुम देखाइयो । 

त्यसपछि यो सिलसिला जारी रह्यो । म आफ्नो नाम लेखेको प्लाष्टिकको डिब्बा वाशरुममा छोड्थेँ र पैसा लिएर त्यहाँबाट निस्कन्थेँ ।

म यो कुराले खुशी हुन्छु कि मेरो वीर्यबाट कुनै महिला आमा बन्न सक्छिन् । 

वीर्य दिनका तीन दिनको समयको फरक हुनुपर्ने कुरा पनि मलाई बताइयो । अर्थात पहिलो पटक वीर्य  दिएको ७२ घण्टापछि मात्रै फेरि वीर्य  दिन सकिन्छ ।

आफै ठगिएको महसुस गरिरहेको थिएँ

केही महिनापछि मलाई यस्तो महसुस भयो कि के मैले यो कामबाट राम्रै पैसा पाइरहेको छु त ?

‘विक्की डोनर’ फिल्ममा त यो कामबाट एकाएक धनी हुन्छ । मलाई त एकपटक वीर्य  दिएको मात्रै चार सय रुपैयाँ दिइन्छ ।

हप्तामा दुईपल्ट विर्य दान गर्दा आठ सय रुपैयाँ अर्थात महिनामा ३२०० रुपैयाँ मात्रै । अब मैले आफू ठगिएको महसुस गर्न थालेको थिएँ । म स्पर्म कलेक्सन सेन्टर गएर फिल्मको उदाहरण दिँदै कम पैसा पाएकोमा आपत्ति जनाएँ ।

जब मलाई वीर्य दानका लागि मेलमार्फत लाइन लागेका कुरा कम्प्युटरमा देखाइयो, म आफ्नो शारीरिक बनोट र गोरो रंगमाथि गर्व गर्न छाडेँ । मानिसहरु मेलमार्फत नै वीर्य बेच्छु भन्दै लाइन लागेका थिए । 

मैले आफू कोही आयुष्मान खुराना त होइन नि भन्दै चित्त बुझाएँ । शायद थोरै पैसाका कारण नै हामीलाई डोनर भनिन्छ, सेलर त भनिँदैन ।

पैसा कमै पाएको भए पनि यसले मेरो जीवनमा सकारात्मक प्रभाव भने पारेको थियो । अब मलाई यस्तो लाग्छ कि त्यसै वीर्य खेर फाल्नु हुँदेन ।
अर्को कुरा घरमा हरेक दिन हस्तमैथुन गर्ने मेरो बानी छुट्यो । 

मलाई थाहा थियो मैले कुनै गलत काम गरेको छैन । तर मैले यो कुरा सबलाई बताउन पनि त सक्दिनथेँ । यसको मतलब यो होइन कि म कोहीसँग डराउँछु । मलाई हाम्रो समाज यो संवेदनशीलतालाई बुझ्न सक्ने भैसकेको छ जस्तो लाग्दैन ।

मेरो मनमा कुनै अपारधबोध त छैन, तर मानिसहरुलाई बताउन पनि त्यति सहज महसुस गर्दिनँ ।

गर्लफ्रेन्डलाई बताउन समस्या छैन

म यसबारेमा घरमा कसैलाई बताउन सक्दिनँ । किनकी यो कुराले मेरो आमाबुवालाई झट्का लाग्न सक्छ । तर साथीभाइबीच यो कुरा सामान्य हुन्छ । समस्या त परिवार र आफन्तसँग मात्रै हो । 

मलाई आफ्नी प्रेमिकालाई यो कुरा भन्न समस्या हुँदेन । त्यसो त अहिले मेरो कोही प्रेमिका छैन । पहिले थिइन् । तर मेरो प्रेमिका जोसुकै हुन्, उनी पढेलेखेकी होलिन् र यो कुरालाई सही ढंगले बुझ्नेछिन् । 

मलाई लाग्छ धेरै श्रीमती पोजेसिव हुन्छन् । उनीहरु चाहँदैनन् कि आफ्नो श्रीमान बाहिर गएर कसैलाई वीर्य  दिऊन् । म पनि आफ्नी श्रीमतीलाई यो कुरा भन्न चाहन्नँ ।

त्यसो त वीर्य किन्नेहरुले अविवाहित युवकहरुलाई नै प्राथमिकता दिन्छन् । उनीहरुले २५ वर्षसम्मका युवालाई बढी प्राथमिकता दिने गर्छन् ।

एउटा स्पर्म डोनर भएको नाताले मलाई धेरै कुरा थाहा छ । वीर्यकाे  मूल्य केवल गुणस्तरले मात्रै निर्धारण हुँदैन । तपाईँ कस्तो पारिवारिक पृष्ठभूमिबाट हुनुहुन्छ, आमाबुवा के गर्नुहुन्छ, तपाईँको पढाई–लिखाई कस्तो छ, सबै कुराले निर्धारण गर्ने गर्छ । 

यदि तपाईँ फरर अंग्रेजी बोल्नुहुन्छ भने वीर्यको मूल्य बढी पाउनुहुन्छ । तर अंग्रेजी बोल्ने व्यक्तिको वीर्यबाट जन्मने सन्तानमा त्यसको के असर पर्छ मलाई थाहा छैन ।

मलाई थाहा छ मेरो पहिचार जीवनभर स्पर्म डोनरका रुपमा रहने छैन । किनकी जीवनभर वीर्य  पनि रहने छैन । मलाई थाहा छ स्पर्म डोनरका रुपमा मेरो पहिचान मेरी आमाको लागि लाजको विषय बन्न सक्छ । त्यस्तै कुनै युवती मसँग विवाह गर्न मान्ने छैनन् । तर उनीहरुलाई यो त थाहा हुनुपर्छ कि मेरो उमेरका युवाहरु हस्तमैथुन गर्छन् । यदि स्पर्म डोनशन शर्मनाक कुरा हो भने हस्तमैथुन गर्नु पनि शर्मनाक कुरा हो । 

तर म यो मान्छु कि दुवै कुरा लाज र बेइज्जतको कुरा होइन ।

(यो कथा एक युवकको जीवनमा आधारित छ । युवकसँगको कुराकानीमा यो सामग्री बीबीसी संवाददाता रजनीश कुमारले तयार पारेका हुन् । युवकको पहिचान गोप्य राखिएको छ ।) 

यो कथा #HisChoice   शृङ्खलाको हिस्सा हो । यो शृङ्खलामा त्यस्ता पुरुषहरुको कथा पस्कने गरिएको छ, जो समाजको परम्परागत ढाँचामा जीवन बिताउन अस्वीकार गर्दछन् ।

अन्तिम अपडेट: कात्तिक २५, २०७५

तपाईको प्रतिक्रिया