प्रदेश तीनको नीति तथा कार्यक्रम बहुमतले पारित

 जेठ २४, २०७५ बिहिबार १८:३६:३३ | हरि हुमागाईं

मकवानपुर – प्रदेश नम्बर ३ को प्रदेशसभाले आर्थिक वर्ष २०७५–७६ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

संसदको बिहीबार बसेको बैठकले नीति तथा कार्यक्रमको केही बुँदामा परेको संशोधन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले फिर्ता नलिएपछि नीति तथा कार्यक्रम बहुमतको आधारमा पारित गरिएको हो । नीति तथा कार्यक्रमको संशोधन दर्ता गराएका दल बिबेकशील साझा र नेपाल मजदुर किसान पार्टीले भने नीति तथा कार्यक्रमको मौन समर्थन जनाएका छन् ।

नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएका प्रश्नहरुको उत्तर दिँदै प्रदेश तीनका डोरमणि पौडेलले सरकार र निजी क्षेत्रसमेतको साझेदारीमा विकासका कार्यहरु गर्ने बताउनुभयो । उहाँले रोजगारी सृजना गरेर युवा पलाएन रोक्नको लागि उद्योगहरु बिस्तार गर्ने नीति सरकारले लिएको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रतिपक्ष दलले संसोधन गराउन खोजेको बजेटको मुल नीतिमा फरक नपरेको तर केही बुँदाहरु संसोधन स्वीकार गर्न केन्द्रले नै स्वीकृत गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

बैठकमा सांसदहरु प्रभात तामाङ, सन्तबहादुर प्रजा, बिजुला बर्मा, विजया श्रेष्ठ केसी, रिता माझीले हाल्नुभएको संसोधनहरु फिर्ता नभएपछि बहुमतीय प्रणालीमा निर्णय भएको थियो ।

प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बाँनियाले संसदीय परम्परामा प्रतिपक्ष दलले संसोधनको लागि हालेको राम्रा बुँदाहरु पनि संसोधन नहुँदा निकट भविष्यमा सत्तापक्षले आफै मूल्याङकन गर्ने प्रतिक्रिया दिनुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया