दाङमा जिल्लामा उत्पादित सबै वस्तु उपलब्ध हुने कोसेली घर सञ्चालनमा

 असोज २७, २०७५ शनिबार १८:२:११ | हेमराज शर्मा
unn.prixa.net

दाङ - जिल्लामा उत्पादन भएका वस्तुबारे जानकारी तथा बिक्री वितरण एकै ठाउँबाट दिने उदेश्यले दाङको घोराहीमा पहिलो पटक कोसेली घर सञ्चालनमा आएको छ ।

दाङ जिल्ला उद्योग वणिज्य संघले निजी क्षेत्रको लगानीमा पहिलो पटक कोसेली घर सञ्चालनमा ल्याएको हो । कोसेली घरमा जिल्लाको पहिचान झल्काउने वस्तु तथा सामग्री राखिएका छन् ।

कोसेली घर जिल्लाका सबैकाे पहिचान समेट्ने गरि सञ्चालनमा ल्याइएको संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव माया पोख्रेलले जानकारी दिनुभयाे । यसले गर्दा जिल्लामा आउने पर्यटक तथा जिल्ला भित्रका पर्यटकहरुलाइसमेत जिल्लाको बारेमा जानकारी हुने छ ।

‘बाहिरबाट आउने व्यक्ति कोसेली घरमा पुगेमा जिल्लाको बारेमा सबै जानकारी लिन सक्ने गरी हामी अगाडि बढेका हौं’ संयोजक पोख्रेलले भन्नुभयो ।

कोसेली घरमा जिल्लामा उत्पादन हुने सबै खाद्य वस्तु, च्याऊ, मह, सिन्की, अचार, चिप्स, ढकीया, वोदीया भाले, टकी, माटाका भाँडा, घ्यु जस्ता सामग्री पाइने तथा धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको बारेमा समेत जानकारी लिन सकिनेछ ।

कोसेली घरको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य शर्माले कोसेली घरले स्थानीय उत्पादनलाई प्रोत्साहन तथा प्रचार प्रसारमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयाे ।

अब स्थानीय उत्पादन गर्ने व्यक्तिले बजार पाउने र उपभोक्ताले राम्रो वस्तु उपयोग गर्ने पाउनेसमेत उहाँको भनाइ छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया