१५ हजारको चेक साट्न ८ हजार खर्च !

 असोज २८, २०७५ आइतबार ८:५:८ | डीबी बिष्ट

बझाङ – स्थानीय सरकारले काम सुरु गरेको झण्डै डेढ वर्ष वित्न लाग्यो । स्थानीय सरकार आएपछि जनताले सुख पाउँछन्, गाउँगाउँमा सिंहदरबार आउँछ भने पनि जनताको सास्ती ज्यूँका त्यूँ छ । बझाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साईपाल गाँउपालिकाका स्थानीय बैकिङ्ग कारोबार गर्न मात्र तीन, चार दिन पैदल हिँड्नुपर्छ । 

नेपाल सरकारले स्थानीय तहमा नै बैंकिङ सेवा पुर्‍याउने लक्ष्य राखेको भएता पनि अहिलेसम्म बझाङ जिल्लाको साइपाल गाँउपालिकालगायत अधिकांश स्थानीय तहमा बैङ्क सेवा पुर्‍याउन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । बझाङ जिल्लाका ६ वटा स्थानीय तहमा अझैसम्म पनि बैङ्क सेवा पुग्न नसक्दा सरकारको केन्द्रिकृत अधिकार गाँउमा गएको भन्ने कुरा नेताको बोलीमा मात्र सीमित भएको  स्थानीय बासीको आरोप छ ।  

साइपाल गाँउपालिकाको काँडामा घर भएका जसबीर बोहराका अनुसार गाँउपालिकाबाट चेक लिएर चैनपुर जान हिँड्न सक्ने मानिसलाई तीन दिन र कमजोर मानिसहरुलाई चार दिन लाग्छ । एकपटक सदरमुकामसम्म पुगेर फेरि गाउँ फर्किनमात्रै ८ देखि १० दिन लाग्छ । बोहराले भन्नुभयो ‘सरकारले चैतभित्र सबै स्थानीय तहहरुमा बैङ्क स्थापना गर्ने भनेर भनेको सुनेका थियौँ तर अहिले सम्म भने कुनै अत्तोपत्तो छैन । १० हजारको चेक साट्न परेमा ६ हजारभन्दा बढी खर्च सदरमुकाम चैनपुर जाँदा र आउँदा बाटोमा नै हुन्छ ।’

साइपाल गाउँपालिका धलौनका बसन्त बोहरा १५ हजारको चेक साट्का लागि चैनपुर आउनुभयो । उहाँ तीन दिन हिँडेर चैनपुर आइपुग्नुभयो । उहाँलाई फर्किन अब फेरि तीन दिन नै लाग्छ । चैनपुर आइपुगेको दिन नै उहाँले चेक साट्न भ्याउनु भएन । दसैंको बेला भएकाले बैङ्क भीड थियो । उहाँलाई चेक साट्न भोलिसम्म बस्नुपर्ने भयो । सदरमुकाम चैनपुरमा भेटिनुभएका बोहराले भन्नुभयो ‘मैले १५ हजारको चेक साट्नका लागि ८ दिन लगाएको छु । आठ दिनमा आठ हजार नै पैसा खर्चभैसकेको छ ।’

बझाङका अधिकांश गाँउपालिकाहरुका केन्द्रहरुमा अहिलेसम्म इन्टरनेटको पनि सुविधा छैन, बैङ्किक सेवा सुविधा पनि छैन, कतिपय गाँउपालिकामा प्रहरी चौकी, यातायात र बिजुलीकोसमेत सुविधा पुग्न सकेको छैन । साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले भन्नुभयो,  ‘हामीले गाँउपालिकामा बैंक स्थापना, टेलिफोन नेटवर्क, खाध्य डिपोका लागि बारम्बार पहल गरिरहेका भए पनि अहिलेसम्म केन्द्र सरकारले कुनै वास्ता गरेको छैन ।’

सरकारले तत्काल सबै स्थानीय तहहरुमा  आवश्यक सेवा सुविधा पुर्‍याउनु पर्ने हो जिल्ला समन्वय समितिका संयोजक खड्क खड्काले भन्नुभयो, ‘हामीले पहल गरिरहेको छौँ ।’

सदरमुकाम क्षेत्र रहेको चैनपुरसहित मष्टा गाँउपालिकामा राष्ट्रिय बाणिज्य बैङ्कको शाखा स्थापना भएका छन् । यसबाहेक केदारस्यूँ गाँउपालिकाको झोतामा नेपाल इन्भेष्टमेन्ट बैङ्क, चिर बिथ्थड गाँउपालिकाको देउलेखमा नबिल बैङ्कको शाखा कार्यालय स्थापना भएका छन् । त्यस्तै, थलारा गाँउपालिकामा एनआईसी एसिया र छबीसपाथीभेरा गाँउपालिकामा कुमारी बैङ्क स्थापना भएका छन् ।  यी बाहेक जिल्लाका ६ वटा गाँउपालिका र एक नगरपालिकामा बैङ्क पुगेका छैनन् । 


 

अन्तिम अपडेट: चैत १२, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया