जंगली हात्तीकाे आतङ्कबाट पीडित शुक्लाफाँटाका बासिन्दा

 असोज २८, २०७५ आइतबार ११:४८:५३ | रासस
unn.prixa.net

कञ्चनपुर – एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन् । पाकेर काट्नै लागेको धानबाली जोगाउनका लागि स्थानीय बासिन्दा अनिदोमै रात काट्न थालेका हुन् ।

पुरै गाउँका बासिन्दाले होहल्ला गर्दै पटका पड्काउने, ढोलक बजाउने गरे पनि हात्ती खेतमा छिरेर धानबाली सखाप पार्ने गरेको छ । रातभर अनिदो रहने बासिन्दा दिउँसभर सुत्ने गरेका छन् । पटाका पड्काउने र आगो देखेर तर्सेर भाग्ने गरेका हात्तीको झुण्ड तर्सनसमेत छाडेको स्थानीय पल्टु डगौराले भन्नुभयो, “धान खाएर आफँै हात्तीको झुण्ड बिहानीपख शुक्लाफाँटा निकुञ्ज र सामुदायिक वनतर्फ लाग्ने गरेको छ ।”

छावासहित २० भन्दा बढी हात्तीको झुण्ड भगाउनका लागि रातभर स्थानीयवासी छिमेकी गाउँका बासिन्दाको सहयोगमा लाग्ने गरेका छन् । जति गरे पनि हात्तीको झुण्ड नभाग्ने गरेको सोनु चौधरीले बताउनुभयो । 

हालसम्म हात्तीको झुण्डले रानीपुर र खजुवापट्टिमा मात्रै दश बिघा बढी क्षेत्रफलमा लगाएको धानबाली नोक्सानी गरेको छ । हात्तीको झुण्ड दुई भागमा बाँडिएर रहेकाले स्थानीय किसानले बढी क्षति व्यहोनुृपरेको छ ।

दुईतर्फबाट घेरेर हात्तीको झुण्डले धानबाली खाने गरेको छ । एउटा झुण्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिर्ने र अर्को झुण्ड नजिकैको सामुदायिक वनबाट बस्तीमा आउने गरेको छ । एकै ठाउँमा हात्तीको झुण्ड भए भगाउन सजिलो हुन्थ्यो, सागर धामीले भन्नुभयो, “दुईतर्फबाट आउने भएकाले धानबालीमा बढी क्षति गरेको छ ।”

दुई दिनअघि मात्रै हात्तीको झुण्डले वैशाखा र गणेशपुरका सात बढी बासिन्दाको घरसमेत भत्काएको थियो । घर भत्काएका परिवार छिमेकीको शरणमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नसमेत हात्तीले खाएपछि हात्ती पीडित परिवारको बिजोग भएको छ ।

धनवीरे सार्कीले भन्नुभयो, “घर भत्कायो, भित्र राखेको अन्न सबै खायो, कपडा सबै च्यातचुत पार्‍यो । भाँडाकुडा कामै नलाग्ने बनायो । आउनै लागेको दशैँ हात्तीले खल्लो बनाइदिएको छ । हात्ती हाम्रै लागि दशा बनेर आएका रहेछ ।”

हात्तीको झुण्डले शुक्लाफाँटा नगरपालिकाको वडा नं १, २, ३, ५, ८ र १२ का दर्जनौँ बासिन्दाको धानबालीमा क्षति गरेको छ ।

महीना दिनअघि भारतको दुधुवा नेशनलपार्कबाट यहाँ पुगेका हात्तीको झुण्डले शुक्लाफाँटा नगरपालिकामा मात्रै ४० बिघा बढी क्षेत्रफलमा लगाएको धानबाली नोक्सानी गरेको र एक स्थानीयलाई घाइते बनाएको नगरप्रमुख दिलबहादुर ऐरले बताउनुभयो । हात्तीको आतङ्कबाट पुरै नगरपालिकाका बासिन्दा त्रासमा छन्, उहाँले भन्नुभयो, “धानबाली खाएर सखाप त पार्‍यो नै स्थानीय बासिन्दाको ज्यान जोगाउन निकै सकस छ ।”

स्थानीवासीको जीउधनको सुरक्षा गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सजग गराइएको उहाँको भनाइ छ । सुरक्षा निकायका तीनवटै अङ्गलाई हात्ती प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया