वामदेवलाई दसैँको शुभकामना : हुँदाछँदाको इज्जत नबिगार्नू, ५ वर्ष चुप लागेर बस्नू

 असोज २८, २०७५ आइतबार १७:३६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – यो हप्ता नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता वामदेव गौतम निकै चर्चामा हुनुहुन्छ । जनताबाट निर्वाचित सांसदलाई राजीनामा दिन लगाएर काठमाडौं क्षेत्र नम्बर ७ बाट उपचुनावबाट सांसद बन्न खोजेको चर्चाले उहाँको निकै आलोचना भयो ।

गौतमकाे मात्रै होइन, नेकपाका अध्यक्षद्वय र काठमाडौं ७ का सांसद रामवीर मानन्धरकै पनि आलोचना भयो । नागरिकबाट नै तिरस्कृत हुने अवस्था आएपछि तत्कालका लागि वामदेव गौतम आफ्नो निर्णयबाट पछि हट्नु भएको छ । 

उहाँको जसरी पनि सांसद बन्ने चाहनाबाट उहाँले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन खेलेको भूमिका मात्रै होइन, नेपाली राजनीतिमा पुर्याएको योगदानका कारण बनेको छवि पनि धमिलो भएको छ । उहाँप्रति नागरिकको आक्रोश उर्लँदो छ ।

पछिल्लो समय उहाँ उपचुनावमार्फत सांसद बन्ने निर्णयबाट पछि त हट्नुभएको छ । तर नागरिकको आलोचना भने कम भएको छैन ।

नेता वामदेवले फेसबुकमार्फत सम्पूर्ण देशबासीका लागि दसैँको शुभकामना व्यक्त गर्नुभएको छ । तर जवाफमा उहाँले शुभकामना होइन, आलोचना बढी पाउनुभएको छ । 

उहाँले फेसबुकमा दिएको शुभकामनामा झण्डै एक हजार प्रतिक्रिया आएका छन् । फेसबुकमा इमान बटाला लेख्नुहुन्छ, ‘हजुरलाई पनि शुभकामना कामरेड । उपचुनावको लफडामा नफस्नुहुन सुझाव छ कामरेड । तपाईँले नेपाली कम्युनिष्ट आन्दोलनमा दिनुभएको अतुलनीय योगदानको कद घट्न सक्छ ।’

त्यस्तै लाल प्रसाद लेख्नुहुन्छ, ‘धन्यवाद ! हजुरलाई पनि शुभकामना ! खुशी लाग्यो कमरेड सामाजिक सञ्जालमा अपडेट हुनुहुँदो रहेछ । पक्कै पनि पछिल्लो परिघटनाको बारेमा सामाजिक सञ्जालद्वारा अवगत भैसक्नु भएको होला । अब नायक बन्ने कि खलनायक बन्ने ? झोले झाम्टेको रायमा होइन आफ्नै स्वविवेक प्रयोग गर्नु होला ।’

त्यस्तै दीपेन्द्र शाही फेसबुकमा लेख्नुहुन्छ, ‘तपाईँलाइ पनि शुभकामना । बनाएको घर नभत्काउनु होला । बरु बर्दिया, प्यूठानी जनताको विचार, जनमतको कदर गर्नुहोला । स्वाभिमान उच्च हुनेछ । त्यहाँका जनताले न्याय पाउनेछन् । तपाईँकै भलो हुनेछ । चुनावमा लाग्ने खर्च त्यो क्षेत्रका लागि लगानी गर्नुहोस् जहाँ तपाईँलाई जनताको झिनो मायाको कमी भएको थियो ।’

त्यस्तै समीर घिमिरे लेख्नुहुन्छ, ‘५ वर्षलाई प्रधानमन्त्री हुने सम्भावना हटेर गयो । अर्को चुनावमा जनताको भावना बुझेर जितेर आउनु होला ताकी उपनिर्वाचन गर्नु नपरोस् । शुभकामना कमरेड ।’

त्यस्तै दिनेश राई हुँदाछँदाको इज्जत नगुमाउन आग्रह गर्दै लेख्नुहुन्छ, ‘शुभकामना, तर उपचुनाव गरेर आफ्नो हुँदाछँदाको इज्जत नबिगार्नू । ५ साल चुप लागेर बस्नू । त्यसपछि ओलीलाई हेरौँला अनि पालो तिम्रो बुढा ।’

गणेश बोहरा लेख्नुहुन्छ, ‘फोकटमा दसा बिग्रेर उल्टोउल्टो सोच आयो यो जुनीमा । तपाईँको राजनीतिक जीवन सकियो र रामवीरको पनि सक्काइदिनुभो ।’
 

दसैँको शुभकामना व्यक्त गर्दै राजु थापा लेख्नुहुन्छ, ‘शुभकामना छ । फकाउनु परेन काठमाडौंबाट नउठे हुन्छ भोट होइन चोट दिनेछन् ।’ 

सुदीप पौडेल लेख्नुहुन्छ, ‘शुभकामना कामरेड । तपार्इँलाइ कुहिरोको काग बनाउँछन् उपचुनावको दलदलमा नफस्नुहोला ।’ 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया