सिक्टा सिंचाई आयोजनाको समस्या समाधान सम्बन्धी प्रतिवेदन सार्वजनिक

 असोज २८, २०७५ आइतबार १७:५३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाई आयोजनाको मुल नहरमा देखिएको समस्याका सम्बन्धमा छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सिक्टा सिंचाई आयोजनाको मुल नहरमा देखिएको समस्याका सम्बन्धमा छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको जानकारी गराएको हो ।

मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीको नेतृत्वमा गठित छानबिन समितिले स्थलगत अवलोकन गरी त्यस सिंचाईको समस्याका सम्बन्धमा छानबिन गरेको प्रतिवेदनमा ठेकेदारको कमजोरीका कारण समस्या देखिएको औंल्याइएको छ ।

ठेक्का सम्झौंता अनुसार काम नहुँदा त्यो समस्या आएको प्रतिवेदनले देखाएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव संजय शर्माले जानकारी दिनुभयो । प्रतिवेदनमा आयोजनाको नहरमा आएको समस्या घुलनशील माटोका कारण भएको औंल्याउँदै त्यसमा तत्काल सुधारको प्रयोस थाल्न पनि सरकारलाई सचेत गराइएको छ ।

प्रतिवेदनले निर्माणको जिम्मा लिएको व्यवस्थापन पक्षले सम्झौंता अनुसार काम नगरेको पनि स्पष्ट पारेको छ । त्यसैगरी गएको केही वर्षदेखि चुरेबाट बग्ने खोलाहरुमा हुने सेडिमेन्ट डिपोजिशनको उचित उत्खनन्, व्यवस्थापन तथा उपयोगमा बन्देज हुँदा पनि खोलाहरुको सतह बढ्न गई त्यस नहरमा क्षेति पु¥याउने गरेको उल्लेख गरिएको छ ।
सचिव शर्माले प्रतिवेदनले आयोजनामा देखिएको प्राविधिक तथा व्यवस्थापकीय समस्याको तत्काल समाधान गर्न पनि सरकारलाई सुझाव दिएको जानकारी दिनुभयो । सिक्टा नहर तथा नहर संरचनाबाट शीघ्र सिँचाई सेवा उपलब्ध गराउने कार्यमा ढिलाई गर्न नहुने पनि प्रतिवेदनले औंल्याएको छ ।

राष्ट्रिय गौरवको यो आयोजनाको मुल नहर निर्माण सम्पन्न नहुँदै भत्किन थालेपछि सरकारले सो समस्या समाधानका लागि सहसचिव तिवारी नेतृत्वको छानबिन समिति गठन गरेको थियो ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया