प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
तेह्रथुम – ठेकेदारको लापरबाहीको कारण फेदाप गाउँपालिका वडा नम्बर–५, इसिवुको वडा कार्यालयको भवन निर्माण कार्य अलपत्र भएको छ ।
भवन नहुँदा वडा कार्यालयको सेवा प्रवाहमा समस्या भएको छ । तत्कालीन इसिवु गाविसको कार्यलयमा सशस्त्र आन्दोलनमा उत्रिएको नेकपा माओवादीले आगजानी गरेपछि ध्वस्त भएको भवन पुननिर्माण हुन नसकेको हो । शान्ति तथा पुन निर्माण मन्त्रालयले २०७१ सालमा भवन पुनर्निर्माणका लागि तत्कालीन जिल्ला विकास समितिलाई ३२ लाख रुपैयाँ उपलब्ध गराइएको थियो ।
जिल्ला विकास समितिले टेण्डर मार्फत २२ लाख रुपैयाँमा भवन निर्माणको कामको जिम्मा भालुखोप निर्माण सेवालाई दिएको थियो । तर निर्माण कम्पनीले १ वर्षभित्र सक्ने गरी जिम्मा लिएको भवन निर्माणको काम ५ वर्षसम्ममा पनि पूरा गरेको छैन ।
भवन निर्माणका लागि पटक–पटक ताकेता गर्दा पनि गाउँपालिका र जिल्ला समन्वय समितिलगायत जिम्मेवार निकायहरुले बेवास्ता गरेको वडाध्यक्ष टेकबहादुर घिसिङले बताउनुभयो । भवन नहुँदा अहिले वडा कार्यालय स्थानीय विद्यायलयको कक्षाकोठाबाट सञ्चालन हुँदै आएको छ । साँघुरो कोठा भएकाले दैनिक सेवा प्रवाहमा समेत कठिनाइ भएको वडासचिव दुर्गाप्रसाद भण्डारीको भनाई छ ।
भवन नहुँदा वडा कार्यालयको महत्वपूर्ण कामकाजहरु विभिन्न प्राविधिक उपकरणहरु नै सुरक्षित गर्न समस्या हुन थालेको वडाध्यक्ष घिसिङले बताउनुभयो । निर्माणाधीन भवनको काम वर्षाैदेखि रोकिँदा झार र बुट्यानले ढाकेको छ ।
उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ ।