पर्वतका अनिश बने लिगलिगे राजा

 असोज २८, २०७५ आइतबार १९:३:२ | किरण लोहनी
unn.prixa.net

गोरखा – यस वर्षको लिगलिगे राजा पर्वतका अनिश थापा भएका छन् ।

लिगलिगकोट विकास अभियानको आयोजनामा भएको नवौं लिगलिगे दौड प्रतियोगिताका विजेता थापालाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाइदिनुभयो । एक सय २२ जनालाई पछि पार्दै नेपाली सेनाका थापाले  श्रीपेचसँगै ६० हजार १ सय रुपैयाँ र मेडल पुरस्कार पाउनुभएको छ ।

सम्मानस्वरुप उहाँलाई पालुङ्टार नगरपरिक्रमा गराइएको आयोजक संस्था लिगलिग विकास अभियानका अध्यक्ष पूर्ण रानाले जानकारी दिनुभयो । दौडमा निर्धारीत दूरी ५८.४० मिनेटमा पार गर्दै बाग्लुङका तीर्थ पुन दोस्रो हुनुभयो । नेपाली सेनाका रामजी बस्नेतले ५९.२१ मिनेटमा पार गरी तेस्रो हुनुभयो ।

दोस्रो भएका पुनले ३५ हजार १ सय र तेस्रो भएका बस्नेतले २५ हजार १ सय रुपैयाँ पुरस्कार पाउनुभएको छ । प्रतियोगितामा  नेपाली सेनाका कृष्णबहादुर बस्नेत चौथो, सुर्खेतका पवनकुमार ओली पाचौं,  नेपाली सेनाका हरिकुमार रिमाल छैटौं, नेपाल प्रहरीका भूमिराज राई आठौं, जुम्लाका धीरबहादुर बुढा नवौं र सशस्त्र प्रहरीका गणेशसिंह ठकुरी दशौं भएका छन् ।

भेट्रानतर्फको दौडमा कीर्तिपुरका धर्म महर्जन पहिलो, ललितपुरका पुष्पलाल श्रेष्ठ दोस्रो र काठमाडौंका बैकुण्ठ मानन्धर तेस्रो भएको स्थानीय सूर्य क्षेत्रीले जानकारी दिनुभयो ।

स्थानीयका लागि भएको प्रतियोगितामा हर्मीका कमल नेपाली पहिलो, हर्मीका सूर्य अधिकारी दोस्रो र खोप्लाङका दीपक नेपाली तेस्रो भएका छन् । स्थानीयतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद २० हजार ५ रुपैयाँ, १२ हजार ५ रुपैयाँ र ७ हजार ५ रुपैयाँ पुरस्कारसहित ट्रफी र मेडल पुरस्कार पाएका छन् ।

त्यस्तै खुल्ला महिलातर्फको ५ किलोमिटर दौडमा सशस्त्र प्रहरीकी पुष्पा भण्डारी पहिलो, साुनमायाँ कार्की दोस्रो र प्युठानकी हुमी बुढा मगर तेस्रो भएका छन् । उनीहरुले क्रमश  २० हजार ५ , १२ हजार ५  र ७ हजार ५ रुपैयाँ पुरस्कारसहित ट्रफि र मेडल पाएका छन् ।

४०० वर्षअघि दौडेर लिगलिगे राजा हुने परम्परालाई जोगाइराख्न लिगलिगे दौडको आयोजना गरेको आयोजकले जनाएको छ । लमजुङका राजकुमार द्रव्य शाह चेपेघाटबाट लिगलिगकोटसम्म दौडेर राजा बनेका थिए । त्यही इतिहासको सम्झनामा गएको नौ वर्षदेखि लिगलिगकोट विकास अभियानले दौड प्रतियोगिताको आयोजना गर्ने गरेको छ ।

लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण रानाको अध्यक्षतामा भएको कार्यक्रममा सस्ंकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, प्रतिनिधिसभा सदस्य चूडामणि खड्का, गण्डकी प्रदेश सदस्य हरिशरण आचार्य, पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेल लगायतको उपस्थित हुनुभएको थियो । 

 




 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • प्रकास

    Oct. 14, 2018, 8:06 p.m.

    राजालाई राज्य किन नदिएको ? जुन अबधिभरी इन्लाइ राजा भनिन्छ त्यस अबधिभरी सानो छेत्रफल ब्भए पनि राज्य दिनुपर्ने हो । यो मेरो ब्यक्तिगत बिचार हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया