दसैँको नवमीमा मात्रै खुल्ने तलेजु मन्दिर अझै रहस्यमयी

 असोज ३०, २०७५ मंगलबार ६:८:३६ | कुमार रञ्जित
unn.prixa.net

दसैँमा काठमाडौं उपत्यकाभित्र रहनेहरुका लागि सर्वाधिक चासो र दर्शनीय स्थल हनुमानढोका–मखन बीचमा अवस्थित तुलजा भवानी रहेको तलेजु मन्दिर हुने गरेको छ । वर्षदिनमा एकदिन दसैँको नवमीमा मात्रै सर्वसाधारणका लागि खुल्ने र दर्शन गर्न पाइने काठमाडौंको तलेजु मन्दिरको उचाई, कलात्मकता, भव्यता साथै सांस्कृतिक गतिविधि केन्द्रीत आकर्षणको तुलना अन्य कुनै मन्दिर तथा देवस्थलसित गर्न सकिँदैन ।

विश्व सम्पदास्थल क्षेत्रभित्र परेर पनि सर्वसाधारणले वर्षको एकदिन मात्रै अवलोकन गर्न पाउने साथै कतिपय अवस्थामा पुरातत्व, इतिहास र संस्कृति अध्येताहरुका लागि समेत अवरोधको स्थिति रहेको हुँदा पर्याप्त अध्ययन नभएर पनि तलेजु मन्दिर अझै रहस्यको गर्भमै रहँदै आएको हो भन्न सकिन्छ । यसकारण पनि दसैँको नवमीमा त्यहाँ घण्टौं लाइन बसेर सर्वसाधारणले आफ्नो दर्शन गर्ने इच्छा पूरा गर्छन् ।

इतिहासका व्याख्याताहरुले वंशावलीका आधारमा मिथिलाका कर्णाटवंशी राजा नान्यदेव आत्मरक्षाका लागि काभ्रेतिरबाट भक्तपुर हुँदै काठमाडौं आउँदा आफ्ना कुलदेवी तुलजा भवानीलाई पनि साथमै ल्याएको भन्ने गरिएको छ । शुरुमा भक्तपुरमा स्थापना गरिएकी देवी त्यसपछि काठमाडौं ल्याइएको र तात्कालिन राजा प्रताप मल्लले वर्तमान स्वरुपको भव्य र विशाल मन्दिर बनाएर त्यहाँ सुनको तुलादान समेत गरेको प्रमाणका रुपमा नेपाल सम्बत् ७८४ को पौभाःको तस्वीर प्रकाशित छ, जुन अहिले फ्रान्सको पेरिसस्थित म्यूजियममा रहेको भनिन्छ ।

त्यसपछिका शासकहरुले पनि तुलजा भवानीलाई आराध्य कुलदेवीकै रुपमा सम्मान दिँदै बेलाबखत् जीर्णोद्धार गर्दै आएका धेरै प्रमाणहरु पाइन्छन् । किम्बदन्तीहरुमा तुलजा भवानी कुमारीलाई शक्ति प्रदान गर्ने देवीका रुपमा समेत वर्णित छ । 

 २०५८ जेठ १९ गते राति सपरिवार हत्या गरिएका तत्कालीन राजा वीरेन्द्रले तलेजु मन्दिर पूर्ण रुपमै जीर्णोद्धार गर्ने योजना अनुरुप काम गर्न लगाएका थिए, तर उनको इच्छा पूरा हुन पाएन । त्यसपछि राजा भएका ज्ञानेन्द्रले पनि तलेजु मन्दिर भित्रैसम्म सरसफाई गर्न लगाउनुका साथै केही महत्वपूर्ण भागको जीर्णोद्धार पनि गराएका थिए । हनुमानढोका दरवार हेरचाह अड्डामा ४ दशक सेवा गरेका तेजरत्न ताम्राकारले ती दुबै राजाहरुका शासनकालमा तलेजु जीर्णोद्धार कार्यमा प्रमुख भएर कार्य गरेको अनुभव बटुलेका छन् ।

सीमित निर्धारित पुजारी र तिनका सहयोगीहरुले नित्य पूजा गर्दै आइरहेको साथै दिनरात सेनाको कडा पहराभित्र रहने गरेको तलेजुमा दसैँको “स्याक्व–त्याक्व” अर्थात् नवमी (कालरात्री पछि) को दिनमा पनि ‘हिन्दूका लागि मात्र प्रवेश’ टाँग्ने गरिएको छ भने तस्बिर लिन पनि प्रतिवन्ध गरिएको छ ।

तलेजु मन्दिरको पश्चिमतर्फ रहेको मूलद्वारबाट प्रवेश गर्ने बित्तिकै पुगिन्छ– अत्यन्तै ऐतिहासिक तथा सांस्कृतिक महत्वको भव्य त्रिशूल चोक । त्यहाँ पुगेपछि उत्तरतर्फ हेर्दा एघार तह फलकमाथि अग्लो भव्य तलेजु मन्दिर देखिन्छ ।

त्यसको चारैतिर रहेका छन्– काष्ठकलाका अनुपम उदाहरण रहेको पञ्चमुखी हनुमानको पाँचतले मन्दिर साथै अन्य काष्ठकलाका विभिन्न सम्पदाहरु, तीनवटा ठूल्ठूला ढुंगे खम्बा साथै त्यसमाथि स्वर्ण मूर्तिहरु, सिंह लगायत कलाकृति साथै त्यसमै राजा प्रताप मल्लको स्पष्ट पढ्न सकिने ठूल्ठूला अक्षरसहितका अभिलेख पनि । तीमध्ये एउटा पछाडिको खम्बा पश्चिमतर्फ ढल्किसकेको अवस्थामा छ । 

त्यसपछि अग्लो र विशाल रुखमुनि हुँदै तलेजु मन्दिर माथि जाँदा देखिने ऐतिहासिक कलाकृतिहरु म्यूजियममा जाँदा जस्तै राम्ररी पाइलैपिच्छे हेर्न सकिन्छ । जसलाई धेरैले दसैँमा भीडभाड र बेफूर्सदीका कारण उत्सुक भएर पनि हेर्न पाइएन भन्ने गरेका छन् । त्यसकारण सीमित गम्भीर संस्कृतिका जिज्ञासुले मात्रै त्यस्ता कलाकृति गहिरिएर अवलोकन गरेको पाइएको छ । तर तस्वीर लिनमा प्रतिबन्ध भएका कारण त्यस्ता कलाकृतिहरु बाहिर प्रचारमा आएका छैनन् ।

तलेजु मन्दिरमाथि चढ्ने बित्तिकै ढुंगाका कलात्मक खम्बा र मूर्तिहरु अस्तव्यस्त छरिएर रहेको अवस्थामा देखिन्छन् । त्यहाँबाट तलेजु मन्दिरको खुड्किला बीचमा एउटा ऐतिहासिक ‘जधुं’ रहेको छ, जसलाई आजको युगमा “पानी ट्यांकी” भन्न सकिन्छ । त्यसले गर्दा कुनै समयमा त्यहाँ पुगेका भक्तजन तथा दर्शनार्थीहरुका लागि पानी खाने व्यवस्था मन्दिर माथि पनि गरिएको रहेछ भनेर सहजै अनुमान गर्न सकिन्छ । अहिले त्यो पूर्ण रुपमा नबिग्रिए पनि प्रयोगहीन अवस्थामा छ । 

त्यसपछि तलेजु मन्दिर पुग्दा छुटाउनै नहुने जति हेरेपनि नपुग्ने प्रकारका भव्य मृत्तिका कला (टेराकोटा) का ढोकाहरु देख्न सकिन्छ, जसलाई मूर्ति कलाविज्ञहरुले संसारमै दूर्लभ भन्दै आएका छन् । २०७२ सालको भूकम्पले गर्दा ती कलाकृतिहरुमा धेरै नै क्षति पुगेको देखिन्छ । तर पुर्निर्माणको काम पनि सुस्त गतिमा अगाडि बढिरहेको पाइन्छ । 

त्यसैगरी त्यहीँ रहेका स–साना मन्दिरहरुमा रहेका टुंडाल काष्ठकला पनि त्यसतकै आकर्षक देखिन्छन् । आश्चर्यजनक कुरा त के छ भने कहिले पनि कनै बाहिरिया मानिसले प्रवेश नपाउने त्यस्ता मन्दिरमा रहेका मूर्तिहरु पनि फुटाइएका छन् । कसरी सम्भव भयो यस्तो ? यस प्रश्नमा त्यहाँका एक जिम्मेवारले भने– “बाँदरहरुले फुटाएका हुन सक्छन् ।” 

तलेजु प्रवेश गरेर अवलोकन गर्ने र बुझ्ने इतिहास, संस्कृति, कला र लिपि सम्बन्धित सम्पदाहरु धेरै छन्, जुन एकदिनमा असम्भव छ । त्यहाँ भित्र रहेको पोखरी सहित जलशयनी विष्णुको मूर्ति हाल पुनर्निर्माण भए पनि त्यहाँसम्म सर्वसाधारणको पहुँच सहज बनाइएको छैन ।

सैैयौं महत्वपूर्ण सम्पदाहरुको केन्द्रस्थल हनुमानढोका दरबार क्षेत्रलाई व्यवस्थित गरेर सर्वसाधारणका लागि खुलाउन राजतन्त्रकालमै कोशिस भए पनि हालसम्म त्यसले पूर्णता पाएको छैन । त्यसै कारण पनि हुन सक्दछ, तलेजु मन्दिरभित्रका वस्तु र कथाहरु सर्वसाधारणका लागि अझै रहस्यमयी नै छन् ।
 

अन्तिम अपडेट: कात्तिक २०, २०७५

कुमार रञ्जित

1 Comments

तपाईको प्रतिक्रिया