कास्किनाथका माटाका भाँडामा आजकल ग्राहकको ध्यान जाँदैन

 असोज ३१, २०७५ बुधबार ११:५५:१६ | सुश्मा राजवंशी
unn.prixa.net

झापा – माटाका भाँडा बनाएर वर्षाैंदेखि जीविका चलाउँदै आएका झापा बाह्रदर्शी गाउँपालिका वडा नम्बर–६, मा रहेको कुमाल बस्तीका कास्किनाथ पण्डितलाई अहिले परिवार पाल्नै गाह्रो छ । 

पुखांैदेखि गर्दै आएको माटाका भाँडा बनाउने उहाँको पेशा अहिले संकटमा परेको छ ।

बजारमा प्लास्टिक तथा सिसाका सुन्दर भाँडाहरु पाइन थालेपछि उहाँले मेहनत गरेर बनाउनु भएको माटाका भाँडामा ग्राहकको ध्यान आजकल जाँदैन ।

४६ वर्षीय कास्किनाथ पण्डित करिब ३० वर्ष अघिदेखि माटाका भाँडाकुडा बनाउने काम गर्दै आउनुभएको छ । दुईवटै मृगौलामा पथ्थरी छ तर त्यसको उपचार गर्ने पैसा उहाँसग छैन ।

‘उपचार त गर्नु पर्ने तर पैसा नभएपछि के नै गर्नु र, ऋण लिएर गर्छु भनि सोचेको छु ।’  उहाले सुनाउनुभयो । 

कुमाल बस्तीमा ४५ घरधुरी कुमाल समुदायका छन् । तर उनीहरु अहिले यो पेशाबाट विस्थापित हुँदै २० परिवारले मात्रै माटाका भाँडा बनाउने काम गर्छन् । 
केही स्थानीय त यो पेशाबाट पलायन भएर वैदेशिक रोजगारी, निर्माण क्षेत्र जस्ता विभिन्न पेशा अँगाल्न थालिसके । 

५२ वर्षीय देब नारायण पण्डित पनि अब यो पेशाबाट निरास भैसकेका छन् । वर्षभरि खासै व्यापार नहुने यो पेशा नै आफ्नो आम्दानीको मुख्य स्रोत भएको तर आफूले बेच्न तयार पारेका माटाका भाँडा राम्रोसँग बिकाउन भने चाडवाडहरु कुर्नु पर्ने उहाँको भनाई छ ।

सामान्यतया घैलाडुब्बा, लक्ष्मीपुर, झिलझिले, सोमबारे, सुरुङगा जस्था स्थानीय बजारहरुमा आफ्ना उत्पादित भाँडाकुडा बिक्री गर्ने कुमाल्हेहरु यतिबेला आफ्नो सामानलाई सरल र सुलभ मूल्यमा पाइने प्लास्टिकका भाँडाकुडाहरुले विस्थापित गर्दा चिन्तित बनेका छन् । 

प्लास्टिकका भाँडाकुडा आकर्षक, सस्तो, साथै ढुवानी गर्न पनि सहज हुने भएकाले आफ्ना माटाका भाँडाकुडाले महत्व गुमाएको दुखेसो व्यक्त गर्नुहुन्छ स्थानीय कमल पण्डित ।

उहाँ भन्नुहुन्छ,‘हामीलाई राज्यबाट उपेक्षा गरिएको छ किनभने आफ्नो व्यवसायलाई प्रतिस्पर्धात्मक रुपमा अघि बढाउन समयानुकू्ल प्रविधिको प्रयोग जरुरी छ । परम्परागत रुपमा भाँडाकुडा बनाउन प्रयोग गरिने हाते चक्रबाट धेरै समय लाग्ने र गुणस्तरीय उत्पादन गर्न गाह्रो हुन्छ । जुन राज्य पक्षबाट खासै चासो दिईएको छैन ।’ 
हुनत बाह्रदर्शी गाउँपालिकाको आर्थिक सहयोगमा उक्त कुमाल गाउँमा १० वटा इलेक्ट्रिक चक्र वितरण गरिएको थियो । तर वितरण गरिएका इलेक्ट्रिक चक्र पर्याप्त नभएको र सबैले इलेक्ट्रिक चक्र पाउनु पर्ने स्थानीयहरुको माग छ ।  

यसैबीच भाँडाकुडा बनाउन कच्चा पदार्थको रुपमा चाहिने माटो पनि सजिलै पाउन छोडेको छ । स्थानीय वनमा उपलब्ध हुने माटोमा पनि स्थानीय सरकारबाट रोक लगाउने निर्णयले आफ्नो पेशा धरापमा परेको कास्किनाथ पण्डितको भनाई छ । 

आफ्नो पेशालाई निरन्तरता दिन स्थानीय स्तरमा उपलब्ध हुने माटो सहज रुपमा आफूहरुले पाउनु पर्ने साथै उत्पादित सामानहरुको बजार व्यवस्थापनको जिम्मेवारी पनि स्थानीय सरकारले लिनुपर्ने उहाँको माग छ । 

पुस्ताैं पुस्तादेखि माटाका भाँडाकुडा बनाउने कुमाल समुदाय, मानिसको दैनिक उपभोग्यदेखि चाडबाड, विवाह, जन्म र मृत्यु संस्कारसम्म चाहिने घैला, गमला, खुत्रुके, फुङ्गा, नानि, धुपौरो, घडा लगायतका विभिन्न भाँडाकुडा बनाउँछन् । 

तर अहिले कच्चा पदार्थको अभाव, बजारको व्यवस्था नहुदा कुमाल समुदायको पुख्र्यौली पेशा संकटमा परेको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया