प्रदेश २ का राज्यमन्त्रीमाथि सहिद परिवारका सदस्यहरुको श्रमशाेषण गर्ने गरेको आरोप

 असोज ३१, २०७५ बुधबार १३:१५:३४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - प्रदेश २ सरकारका समाजिक विकास राज्यमन्त्री अभिराम शर्मालार्इ एक मधेश आन्दोलनका सहिद परिवारका सदस्यहरुको श्रम शोषण गर्ने गरेको आरोप लागेको छ ।

शर्मालार्इ पछिल्लो मधेश आन्दोलनका सहिद अमित कापरका परिवारमाथि श्रम शोषण गरेको आरोप लगेको हो ।

सहिद कापरका माहिला भाई सुजित कापरलाई समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले सहिद परिवारका सदस्यलाई जागिर दिने क्रममा आफ्नो भान्छेमा नियुक्त गर्नुभएको थियो । महोत्तरीको क्षेत्र नं. ३ (क) मा राजपा नेपालबाट प्रदेशसभा सदस्यमा निर्वाचित शर्मा गएकाे साउनमा राज्यमन्त्री बन्नुभएको थियो ।

मन्त्री भएपछि शर्मा आफ्नो गृहघर जलेश्वर नगरपालिका ७ बखडीमै बस्दै आउनुभएको छ । सहिद अमित कापरका परिवार मन्त्री शर्माका छिमेक नै भएका कारण सहिद कापरका भाई सुजितलाई उहाँले भान्छे राख्नुभएको छ ।  

मन्त्री शर्माले सुजितालाई मात्र काममा लगाउनुपर्नेमा सहिद अमित कापरका अन्य सदस्यहरुलाई समेत आफ्नो घरको काम गराउने गरेको आरोप छ । उहाँले अमितका माहिलो भाई सुजित र सोमितलाई समेत काम गराउन लागेको सहिद अमितका पत्नी मन्तोरियाद देवीले गुनासो गर्नुभयो ।

 ‘जव सुजितलाई काममा राखेका छन् भने मात्र उनैले काम गर्नुपर्ने हो । तर राज्यमन्त्रीजीले आफुले नै जागिर लगाई दिएको भन्दै सुमितसंग समेत आफ्नो घरको काम गराउने गर्नुभएको छ ’ सहिद अमितका पत्नी मन्तोरियाले भन्नुभयो ‘ एकजनालाई मात्र राखेको ठाउँमा दुईजना किन काम गर्छ ? भन्दा मन्त्री ज्युले जागिरबाट हटाईदिने धम्की दिनुहुन्छ ।’

केहि दिनअघि मन्त्रीका भान्छे सुजितले प्रदेश सरकारबाट पाएको दसैं खर्चको वापतको १८ हजारको चेक भजाउन बैंक जाँदा राज्यमन्त्री शर्माका स्वकीय सचिव सुरेश ठाकुरले उक्त रकम लिएर हिँडेका थिए । पछि सहिद परिवारले केहि ठाउँमा गुनासो गरेपछि मन्त्री शर्माले त्याे रकम फिर्ता गर्नुभएको थियो ।  

यता मन्त्री अभिराम शर्माले आफूमाथि लागेको आरोप निराधार र आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको दावी गर्नुभयो । उहाँले आफू मधेश आन्दोलनबाटै आएकोले सहिद परिवारको सँधै कदर गर्ने गरेको बताउनुभयो । सहिद परिवारकै भएकाले एकजनालाई ससम्मान स्वरुप रोजगार दिएको राज्यमन्त्री शर्माको भनाई छ ।

‘मेरो चरित्र हत्या गर्ने प्रयास भएको छ । सहिद अमितका परिवार मेरो छिमेक हो । म घरमै बस्छु त्यसैले सुजित मेरो घरमा खाना पकाउँछन् । मेरो घरमा गाईवस्तु केहि छैन । खेतीपाती पनि छैन । परिवारमा आमाबुबा मात्र हुनुहुन्छ ।’ मन्त्री शर्माले भन्नुभयो ‘ सुजित खाना पकाउन नआएपछि उसको साटोमा उसको भाई सोमित आउँछन् । उ नआएपछि उसको घरको अरु कोहि आउँछन् । करिब तीन-चार जना आउँछन् ।’

काम मात्र सुजितको भएपनि सुजितको अनुपस्थितिमा उनको परिवारका सदस्यहरु पालै पालो आएर खाना पकाउने गरेकोले आफूले सबैलाई काममा राखेको भन्न नमिल्ने मन्त्री शर्माको भनाई छ । सुजित जलेश्वरको  वन कार्यालय महोत्तरीमा समेत खाना पकाउने काम गर्दै आएपनि प्रदेश सरकारले जागिर दिएको बताउनुभयो । आफ्नो चरित्र हत्या गर्ने प्रयास भएकाले गाउँमै आएर सत्य तथ्य बुझ्न मन्त्री शर्माले सरोकारबालाहरुलाई आग्रह गर्नुभयो ।     

राज्य मन्त्री शर्मा मधेश आन्दोलनमा मारिएका असइ थम विक हत्या आरोपी हुन् । फरारको सूचिमा रहेका शर्मा मन्त्रीभएपछि उच्च अदालतले पक्राउ गर्न परमादेश जारी गरेको थियो । त्यसपछि मन्त्री शर्मा जिल्ला अदालत महोत्तरीमा हाजिर भएर तारेकमा रिहा  हुनुभएको थियो । 

अन्तिम अपडेट: चैत ९, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया