दसैं आयो तर थारु बस्तीमा पहिले झैं सखियाको रौनक आएन

 असोज ३१, २०७५ बुधबार १६:१७:४३ | निर्मला खडायत
unn.prixa.net

केही वर्ष अघिसम्म पनि दसैं सुरु हुनुअघि नै कैलाली कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक सुरु हुन्थ्यो । उनीहरु गाउँभरिका मानिसहरु एक भएर सखिया नाचको तयारी गर्न थाल्थे, र थारुको अटवारी पर्वको दोस्रो दिनदेखि तिहारसम्म सखिया नाच गरेर रमाइलो गर्थे । 

दिनभरि खेतबारीमा काम गरेर बेलुकी सखियाको रमाइलोले उनीहरु आफ्नो थकाइ मार्थे । बेलुकाको खाना खाइसकेपछि फुर्सदको समय सदुपयोग गरी नाच्ने युवतीहरू, मादल बजाउने युवा र हेर्न जाने दर्शकहरूले गर्दा बस्ती नै उल्लासमय हुन्थ्यो ।

‘तर हिजोआज थारु बस्तीमा सखिया नाचको धुन विरलै सुन्न पाइन्छ ।’, धनगढी उपमहानगरपालिका ७ पटेलाकी पार्वती चौधरीले भन्नुभयो–‘नाचको सुरूआत गर्नुअघि गुरुवाको आदेश अनुसार विशेष किसिमको पूजा हुन्छः दुष्टात्माको भवितव्यबाट बचाउन गुरुवाले गाउँको देवताको पूजा गरेपछि सखिया नाच सुरु हुन्छ ।’

सखिया नाचमा युवतीहरू सामूहिक रूपमा नाच्ने र पुरुषहरूले मादल बजाउने गर्छन । थारु समुदायमा यसले आफ्नै ऐतिहासिक विशेषता बोकेको  छ । उहाँले भन्नुभयो, ‘यो नाचमा भगवान श्रीकृष्णको लीलामा आधारित गीत गाएर शास्त्रीय नृत्य हुने गर्दछ ।’

थारु संस्कृतिको फरक पहिचान बोकेको सखिया नाच अहिले भने हराउँदै जान थालेको भन्दै थारु बुद्धिजीवीहरुले चिन्ता व्यक्त गरेका छन् । पटेला गाउँका भलमन्सा सुनिता चौधरीले भन्नुभयो, ‘बस्तीमा अहिले मादल बजाउने र गीत गाउन जान्ने मान्छेको कमी हुन थालेको छ ।’ 

केही युवा पुस्ता पढाइको सिलसिलामा घर बाहिर भएका कारण त केही युवा पैसा कमाउन देश विदेश गएका कारण पनि अहिले थारु बस्तीमा सखियाको धुन सुन्न नपाइएको हो । 

गाउँमा भएका युवा पुस्ता पनि सखिया नाचको महत्वबारे अनभिज्ञ देखिन्छन् । गाउँका युवा उमेश चौधरीले भन्नुभयो, ‘साँझ आमा र दिदीहरु सखिया नाच गर्दै गीत गाउँछन्, यो बारे खासै थाहा नभए पनि म हेर्न जाने गर्छु ।’

धेरै युवा सखिया नाचबारे अनभिज्ञ भैरहँदा केही युवा भने सखिया नाच हेर्न शहरबाट गाउँ फर्किने गरेका छन् । २३ वर्षीया जीविका चौधरीले भन्नुभयो, ‘सरकारले पनि हामीहरुलाई संस्कृति जोगाउन सहयोग गरेको छ ’ उहाँले थप्नुभयो, ‘म दसैंका बेला हरेक वर्ष सखिया नाच हेर्न र नाच्न गाउँ फर्किन्छु ।’ 

दसैंका बेला मात्रै होइन विभिन्न महोत्सवहरुमा पनि आफूले साथीहरुलाई जम्मा गरेर सखिया नाच प्रस्तुत गर्ने गरेको उहाँ बताउनुहुन्छ । 

पहिले दसैं सुरु हुनुभन्दा केही दिन अघिदेखि सुरु हुने यो नाच एक महिनासम्म हुने गथ्र्यो ।  गाउँका गुरुवा धर्म बहादुर चौधरीले निराश हुँदै भन्नुभयो, ‘सखिया नाच अहिले हराउँदै जान थालेको छ, नयाँ पुस्ताले आफ्नो संस्कृति बिर्संदै जान थालेका छन्, उहाँले थप्नुभयो, ‘माघमा नाचिने मघौटा नाच र दसैंका बेला नाचिने सखिया नाच हामी थारुहरुको चर्चित र निकै रमाइला नाच हुन् ।’  

उहाँले आफ्नै भाषामा निराश भएर भन्नुभयो, ‘आजकाल पहिलेक जैसिन नाच नै हो ।’

‘पहिले अटवारीको व्रत बारिसकेपछि लगत्तै सखिया नाच सुरु हुन्थ्यो’ सञ्चराम चौधरीले भन्नुभयो, ‘हामीहरु आफ्नो संस्कृति रहिरहोस् भन्न चाहन्छौं तर यो बिस्तारै लोप हुदै गइरहेको छ ।’ 

सखिया गीतमा कृष्ण लीलाको आरम्भबाट अन्त्यसम्म गाउने गरिन्छ । धनगढी उपमहानगरपालिका ५ की जोधौनी चौधरीले न्यास्रो मानेझै भन्नुभयो, ‘खोई किन यो वर्ष हाम्रो गाउँका भलमन्साले नै सखिया नाच खेल्न मान्नुभएन ।’ 

धनगढी उपमहानगरपालिका ५ कै लक्ष्मी चौधरीले जोधौनी चौधरीकै कुरामा थप्दै भन्नुभयो, ‘अहिले ठेट सखिया नाच पूर्ण रुपमा हराउन थालेको छ,’ उहाँले भन्नुभयो, ‘पहिलेको मान्यता अनुसार आधा कृष्ण लीला गायो भने नराम्रो हुन्छ भन्ने मान्यता थियो ।तर हिजो आज कसैले पनि पूरा कृष्ण लीला गाउँदैनन ।’

‘पहिले हामी सखियामा पूरा कृष्ण लीला गाउन नभ्याए मनमनै गुनगुनाएर पनि त्यो पूरा गर्थ्याैं। तर अहिले रमाइलोको लागि थोरै थोरै गाउने गर्छन्’ उहाँले भन्नुभयो । 
कतिपय युवा पुस्ता अहिले सखिया नाच बिर्सेर डिजे डान्समा रमाउने गरेका छन् । जसका कारण अहिले थारु जातिका युवाहरुमा पनि डिजे प्रतिको आकर्षण बढ्दै गएको पाइन्छ । 

यो परिपाटीले परम्परागत नाचमा धक्का पुग्ने खतरा रहेको छ । सबैको लोकप्रिय सखिया नाचले थारु समुदायको मौलिक पहिचान बोक्ने भएकोले यसलाई निरन्तरता दिइ जीवन्त राख्नुपर्नेमा थारु बुद्धिजीवीहरू जोड गर्छन् । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया