व्यंग्य - फेसबुकमै पिङ, फेसबुकमै टिका

 कात्तिक ३, २०७५ शनिबार ६:५०:३० | मिलन तिमिल्सिना

पहिलेपहिले दसैंमा आकाशमा चंगा उड्थे । बाटोघाटोमा केटाकेटी पिङ खेल्थे । बुढापाका पनि रोटेपिङ र लिंगेपिङमा रमाउँथे, रमाइलो गर्थे । तर योपाली चंगा उडेको त्यति देखिएन । पिङ खेलेको पनि कतै कतै मात्र देखियो । 

किन यस्तो भयो भनेर बुझ्दै जाँदा थाहा भयो खेल्ने जति सबैजना मोबाइलमा मस्त । अरुबेला त कोर्सबुकको सट्टा फेसबुकमा मस्त हुनेहरु दसैंको बेलामा पनि मोवाइल, ल्यापटप र कम्प्युटर अघिल्तिर फेसबुकमै व्यस्त भए ।

पिङ हाल्नेहरु पनि मोबाइलमै, पिङ खेल्नेहरु पनि मोबाइलमै । मोबाइलमा पिङ पनि खेल्न पाइने, चंगा पनि उडाउन पाइने । अनि आफूले टिका लगाएको अरुलाई पनि देखाउन पाइने ।

बस चढेर घर गएको, खसी काटेको, मासु खाएको, बाटोमा एक दुई ठाउँमा भेटिएको पिङमा चढेको, तास खेलेको, ससुराली र माइत हिँडेको, टिका लगाएको सबै कुरा फेसबुकमै देख्न पाइयो ।

हुन त फेसबुक कोर्सबुक र तासको बुकभन्दा पनि पपुलर भैसक्यो । स्कुल कलेजमा पढ्नेहरुलाई कोर्सको बुक हेर्न अल्छी लाग्छ । तर फेसबुक हेर्न भने कहाँबाट कहाँबाट जाँगर पलाउँछ । मन पर्ने मान्छेका फेस हेर्न पाइने, आफ्नो बिग्रेको फेसलाई पनि मिलाएर राख्न पाइने, पिसाब गरेको देखि हिसाब गरेको सम्मका कुरा लेख्न पाइने, हाइ हेलो भन्दै मन पर्नेसँग मनका कुरा साट्न पाइने भएकाले फेसबुकले सबैलाई भुलाएको छ ।

हातमा मोवाइल छ, साथमा कम्प्युटर । चोरेको, मागेको, कमाएको नोट यसो खर्च गर्यो भने इन्टरनेट चल्छ । इन्टरनेट चलेपछि फेसबुक खुल्छ । फेसबुक खुलेपछि मान्छे त्यसै भुल्छ ।

फेसबुक प्रयोगकर्ता पनि धेरैथरीका हुन्छन् । कोही सर्च गर्ने मात्र हुन्छन् । राम्रा राम्रा मान्छे को कहाँ छ भनेर धुईंपत्ताल खोज्ने, मन पर्ने बित्तिकै लाइक र कमेन्ट ठोक्ने । अनि अर्काथरी हुन्छन् जहाँ गएपनि फेसबुक चलाइरहने, अपडेट गरिरहने । भात खाँदै, सुत्दै, उठ्दै, खोक्दै, हिँड्दै, भात पकाउँदै, अचार मोल्दै......। अझ चर्पीभित्र पसेर बसिरहेको मान्छेले समेत आफू के गर्दैछु, त्यो पनि फेसबुकमा लेख्ला भन्ने डर ।

आज बुढीसँग झगडा पर्यो, आज बुढासँग ठाकठुक भयो । यि मेरा बुढा, उनी मेरी बुढी । यि चाहिँ मेरी गर्लफ्रेन्ड, उ मेरो व्याईफ्रेन्ड । हरेकलाई चिनाइरहेको हुन्छ । लभ परेको, डेट गएको, भेट भएको सबै कुरा फोटो सहित फेसबुकमा अपडेट गर्न भ्याइसकेका हुन्छन् । धन्न राजेश हमाल बाहेक अरु कसैले पनि सुहागरातको फोटो चाहिँ फेसबुकमा अपलोड गरेका छैनन् ।

जहाँ पुगेपनि, जे गरेपनि, जसलाई भेटेपनि, जे भएपनि फेसबुकमा स्टाटस लेखिरहने, फोटो हालिरहने मान्छे लाइक र कमेन्टका सधैं भोका हुन्छन् । बरु उनीहरुलाई भात र खाजा चाहिँदैन । तर लाइक र कमेन्ट भने चाहिन्छ । कुन स्टाटसमा कति लाइक र कमेन्ट आयो भनेर उनीहरु हेरिरहन्छन् । पिङ खेलेको र टिका लगाएको फोटोमध्ये कुनमा बढी लाइक आयो भनेर हिसाब गर्छन् । त्यही लाइक र कमेन्ट कमाउनकै लागि फेसबुकमा स्टाटस अपडेट र फोटो अपलोड गरेजस्तो ।

कतिपयको स्टाटस र फोटो हेर्दा लाग्छ, उनीहरुले फेसबुकमा फोटो राख्नकै लागि बच्चा जन्माएका हुन् । फेसबुकमा राख्नकै लागि विवाह गरेका हुन् । फेसबुकमा फोटो राख्नकै लागि दसैंमा निधारभरी टीका लगाएका हुन् । ससुराली, मावल र माइत हिँडेका हुन् । फेसबुकमै राख्नका लागि पिङमा झुण्डिएका हुन् । अझ कतिपयले गाउँ जाँदा हलो जोतेको, भारी बोकेको, भात पकाएको, भाँडा माझेको मोडलिङ गरेर पनि फोटो खिचाउँछन् र फेसबुकमा राख्छन् । हाम्रो हजुरबा हजुरआमाहरुको पालामा फेसबुक भएको भए गोठालो गएको, सुन्तला चोरेर खाएको, खेतमा पानी लाउन गएको, मेलापात र जात्रामात्रा गएको फोटो फेसबुकमा कति राख्नुहुन्थ्यो होला । अनि अहिले पनि हामी त्यो फोटो हेरेर कति लाइक ठोक्थ्यौं होला ।

कतिपय यस्ता पनि छन्, जो लौन मलाई लाइक गर, मलाइ एड गर, मलाइ हेर, मलाई पछ्याउ भनेर इन्भाइट पनि गर्छन् । अरुलाई उ मन पर्छ पर्दैन भन्ने पत्तो हुँदैन, तै पनि उ मलाई मन पराउ न भनेर इन्भाइट गरिरहेको हुन्छ । यस्तालाई ठीक पार्न फेसबुकमा केही वटन थाप्नुपर्यो । लाइक गर्न या मन पराउन मात्र पाइने वटन छ । खै अनलाइक गर्न या मन पराउँदिन भन्ने वटन । फेसबुकमा धेरैको स्टाटस र फोटो त मन नपर्ने खालको पनि हुन्छ । यस्तलाई त अनलाइक भन्न, मन परेन भन्न पाइयोस् न । त्यसैले यो बटन थप्नुपर्यो ।

फेसबुक नचलाउने त अहिले तेस्रो दर्जाको नागरिक जस्तो । भर्खर स्कुल जान थालेको नाति गाउँमा गएर बुढा हजुरबा हजुरआमालाई भन्छ–मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउनुस् न म कन्फर्म गरेर बेलाबेला च्याट गरौंला । बिचरा हजुरबा हजुरआमा ट्वाँ परेर हेरेको हेर्यै ।

फेसबुकका फाइदा, बेफाइदा, राम्रो नराम्रो कुरा सबै सराबरी । कतिले राम्रै सदुपयोग पनि गरेका छन् । कतिले नराम्री दुरुपयोग गरेका छन् । आफूलाई हिरो देखाउन एउटाले नक्कली फोटो राख्छ । अर्कीले पनि आफूलाई स्लिम देखाउन कुनै हिरोइनको फोटो राख्छे । फोटो राम्रो देखेर उनीहरु साथी बन्छन् । कोर्सबुक पल्टाउन छाडेर चौबीसैघण्टा फेसबुकमा भुल्छन् । च्याट गर्छन् । आज च्याट, भोलि च्याट हुँदाहुँदै भेट गर्ने कुरा हुन्छ । अनि भेट्न भनेर जान्छन् । दुवैलाई दुवैको फोटो झल्झली आइरहेको हुन्छ । आहा क्या ह्यान्डसम, आहा क्या च्वाँक । फोटोमा त यस्तो, झन् भेट्दा कस्तो होला, कस्ती होली । दुवैलाई खुल्दुली । जब भेट हुन्छ, दुवैजना हेरेको हेर्यै । फोटोमा भएको तिमी नै हौ ? उसले पनि सोध्छ, उसले पनि सोध्छे । त्यसपछि दुवै टाप । फेसबुकको कमाल ।

फेसबुकले केही कुरा विस्थापित पनि गरेको छ । पहिलेपहिले कुरा गर्नुपर्दा मान्छेले चिठी पठाउँथे । टेलिफोन गर्थे । चिठी त हराइसक्यो नै । फोनमा भन्दा पनि फेसबुकको च्याटमै कुरा गर्ने बानी धेरै भैसकेको छ । च्याटमा कुरा गर्दा केही शब्द नै दुब्लाइसक्यो । केही उदाहरण हेरौं । अंग्रेजीमा हेलो हाउ आर यू भन्नुपर्ने ठाउँमा च्याटमा कुरा गर्दा हे यू अरे । आइ लभ यु को ठाउँमा आइ एल यू । ह्वाट अ म्यान अरे । फेसबुकले त शब्द भण्डार नै खाली गराउने हो कि भन्ने डर पो भैसक्यो त ।

विद्यार्थीले त हिजोआज कोर्सबुक नै हेर्न छाडे । फेसबुक मात्र हेरेर दिन बिताउने भए । भर्खर जन्मेको केटाकेटीलाई पनि फेसबुक नै चलाउनुपर्ने । जन्मँदा जन्मँदै उसले आफ्नो स्टाटसमा म धर्तीमा...भनेर स्टाटस लेख्ला कि भन्ने डर । अनि मर्नै लागेको मान्छेले पनि अब तपाईंको अन्तिम ईच्छा के छ भन्दा खै फेसबुकमा मैले धर्ती छाडें भनेर लेख्न पर्यो भनेर मोवाइल या ल्याटप माग्ला भन्ने डर । अनि मैले यसो गरें, मैले उसो गरें भनेर स्टाटस लेखेजस्तै म मरें, म स्वर्ग हिँडे, आहा क्या रमाइलो स्वर्ग, कस्तो घिनलाग्दो नर्क...भनेर लाइभ अपडेट गर्ने दिन पनि आउने पो हो कि !

अहिले पनि दसैँको टिका थाप्दै, घर फर्किंदै गरेको फोटो फेसबुकमा राख्नेहरुले पनि त्यो दिनको कल्पना गरेका होलान् त ?

अन्तिम अपडेट: कात्तिक २२, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया