रक्सीले मातेका वडाध्यक्षको दादागिरी : सर्वसाधारणलाई पिटेपछि पुगे प्रहरीको खोरमा

 कात्तिक ५, २०७५ सोमबार १५:२६:२७ | शिव ढुंगाना

ओखलढुंगा – मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ६ थाक्लेका वडाध्यक्ष हेमराज राईले सर्वसाधारण र पेट्रोल पम्प सञ्चालकमाथि कुटपिट गरेका छन् । 

रक्सी पिएर सर्वसाधारणमाथि हातपात गर्दा राई प्रहरी खोरमा पुगेका छन् । रक्सी पिएर अर्पण आयल हर्कपुरका सञ्चालक र स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई प्रहरी खोरमा पुगेका हुन् । शनिबार राति रक्सीले मातेर पेट्रोल पम्पमा पुगेका राईले सञ्चालक र स्थानीयमाथि हातपात गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

रक्सी पिएर आयल स्टोरमै पुगी डाङडाङ डुङडुङ गरेकाले पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले बताउनुभयो । अनुसन्धान गरेर सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइने उहाँको भनाई छ । 

शर्माले जिम्मेवार व्यक्ति नै झडपमा उत्रिएपछि कानुनी कारबाही गर्नु परेको दावी गर्नुभयो । स्थानीय तहको चुनाव अघिसम्म राईले यातायात क्षत्रेमा गुण्डागर्दी गर्दै आएको स्थानीयको आरोप छ । वडा अध्यक्षबाटै असुरक्षित हुने अवस्था आएको पीडित पक्षले गुनासो गरेका छन् । घटनापछि प्रहरीले हर्कपुरबाट राईलाई पक्राउ गरेको थियो । 

अन्तिम अपडेट: चैत ३, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया