विराटनगरमा बन्यो अन्तर्राष्ट्रिय स्तरको कृषि, तरकारी तथा फलफूल थोक बजार

 कात्तिक ६, २०७५ मंगलबार ६:४३:१६ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी गाउँपालिकामा झण्डै २ वर्षअघि निर्माण शुरु भएको तरकारी तथा फलफूल थोक बजार निर्माणको अन्तिम चरणमा पुगेको छ ।

निर्माण कम्पनीले बजारको निर्माणको काम पूरा गरेर असारमा हस्तान्तरणकोे योजना बनाएको भए पनि समयमै काम सम्पन्न नभएपछि दसैँ लगत्तै हस्तान्तरणको गर्ने तयारी कम्पनीको छ । दसैँको बिदाका कारण काम गर्न केही ढिला भएको र दसैँ लगत्तै बजार हस्तान्तरणको लागि तयारी तीव्र पारिएको हो । 

विराटनगरको गुद्री बजारलाई हटाउने गरी कटहरीमा क्षेत्रीय तरकारी बजारको अवधारणा आएको हो । कटहरी गाउँपालिकामा बजार निर्माण भए पनि उक्त बजार विराटनगर बजारसँगै जोडिएको छ । प्रदेश १ को राजधानी विराटनगरको मूल सडकमा लाग्दै आएको साप्ताहिक हटियालाई उक्त बजारमा व्यवस्थापन गर्ने महानगरको योजना छ ।

व्यावसायिक कृषि तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरी को ५ बिघा २ धुर जग्गामा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँ लागतमा बजार निर्माण सुरु गरेको हो । बजार निर्माणको ठेक्का रमन र लामा कन्स्ट्रक्सन कम्पनी जेभिलेले लिएको छ । 

बाटो ढलान, केही प्लास्टर, ट्रस्टको केही काम, झ्याल र स्यानेटरी भवन निर्माण लगायत पर्खाल लगाउने र रंग रोगनसहितको सबै काम सकिएको कम्पनीले जानकारी दिएको छ । 
विराटनगरको गुद्री बजारको फोहोर, घुइँचो, तरकारीको गाडी पार्किङ गर्ने ठाउँको अभावलाई यो बजार निर्माण भएसँगै व्यवस्थित हुने अपेक्षा गरिएको  छ । ठेकेदार कम्पनीले कामलाई अन्तिम चरणमा पुर्याएकोले काम द्रुत गतिमा अघि बढेको व्यावसायिक कृषि तथा व्यापार आयोजना कार्यान्वयन सहयोग समूह विराटनगरका प्रमुख भानुभक्त मैनालीले बताउनुभयो ।

यो जग्गा विद्यालयसँग ५० वर्षको लागि भाडामा लिइएको हो । विश्व बैंकको आर्थिक सहयोगमा व्यवसायिक कृषि तथा व्यापार आयोजनाले क्षेत्रीय थोक कृषि बजारको रुपमा यसलाई निर्माण गरेको हो ।

ठेकेदार कम्पनीले सन् २०१६ अगस्त २६ मा सम्झौता गरेर १३ महिनामा निर्माण सम्पन्न गर्ने गरी काम शुरु गरेको थियो । तर एक वर्ष अगाडि आएको बाढीका कारण पर्खाल भत्काएर निर्माण सामाग्री नै बगाएपछि काम प्रभावित भएको थियो । 

कुल १७ हजार ८ सय ८१ वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको बजार अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय मापदण्डमा बनाइएको छ । थोक बिक्रेताका लागि गोदाम सहितको १४ सय ८८ वर्गमिटरमा १७ वटा सटर, खुद्रा बिक्रेताका लागि ३ सय ५१ दशमलव २ वर्गमिटरमा सटर, कृषकले आफ्नो उत्पादन आफैँ बिक्री गर्न १ सय ३८ दशमलव ५ वर्ग मिटरको सेड निर्माण भइसकेको छ ।

विराटनगरमा निर्माण हुँदै गरेकाे अन्तर्राष्ट्रिय स्तरकाे तरकारी तथा फलफूल बजार

बजारभित्र निर्माण भइरहेको तीन तले प्रशासनिक भवनमा प्रशासन, म्यानेजर आवास, सुरक्षा गार्ड आवास, ६ बेडको कृषक अतिथि गृह, सार्वजनिक शौचालय, स्वास्थ्य क्लिनिक, चमेना गृह, बैंक काउण्टर रहने छ ।
तरकारी बोकेर आएको ट्रक तौल गर्ने मेसिन, फोहोर संकलन यार्ड, तरकारी लोड अनलोड गर्ने क्षेत्र, डिप ट्युवेल, जेनेरेटर, सोलार ब्याट्री, सीसीटीभी, सुरक्षा गार्ड पोष्ट र गाडी पार्किङको व्यवस्था तरकारी बजारभित्र रहने छ ।

यस तरकारी तथा फलफूल थोक बजारमा बर्सेनि ४४ हजार ९ सय ६६ दशमलव ३ मेट्रिक टन तरकारी र ८ हजार ७ सय ३ दशमलव ३ मेट्रिक टन फलफूल बिक्री हुने लक्ष्य रहेको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया