शल्यक्रिया गर्दा सुत्केरीको ज्यान गयो, अस्पतालमा तनाव

 जेठ २५, २०७५ शुक्रबार १४:६:२६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुर अञ्चल अस्पतालमा सुत्केरी हुन पुगेकी एक महिलाको ज्यान गएको छ ।

जनकपुर उपमहानगरपालिका–१ पुल्चोककी २५ वर्षीय सोनियादेवी ठाकुरको शुक्रबार बिहान ज्यान गएको हो । बिहीबार बिहान ४ बजे सोनियालाई सुत्केरी गराउन जनकपुर अञ्चल अस्पतालमा घरपरिवारले भर्ना गराएका थिए । सामान्य रुपमा बच्चा नजन्मेपछि बिहीबार बिहान ८ बजे अस्पतालका प्रसुती रोग विशेषज्ञ डाक्टर धीरेन्द्र साहले शल्यक्रिया गरी बच्चा निकाल्नु भएको थियो । 

सोनियाकी सासु प्रेमदेवी ठाकुरका अनुसार शल्यक्रियापछि बुहारीले जोड जोडले पेट दुखेको पीडा सुनाएकी थिइन् । ‘त्यहाँ ड्युटीमा रहेका नर्सहरुलाई किन पेट दुखेको हो ? मैले पटक–पटक सोधेँ’, सासु प्रेमदेवीले भन्नुभयो, ‘नर्सहरुले अप्रेशन हुँदा अलि अलि पेट सबैलाई दुख्छ भन्दै उल्टै आफूहरुलाई नै झपारे । पछि बुहारीलाई जोड जोडले पेट दुखेको पीडा सहन नसकेपछि नर्सहरुकै सल्लाहमा बेडमै बुहारीको हातखुट्टा बाँधेका थियौं ।’

डाक्टरले अप्रेशन गर्दा सोनियाको पेटमा केही छाडेको वा त्रुटिपूर्ण अपरेशन गरेको हो भनेर अल्ट्रासाउण्ड गरेर जाँच गर्न समेत आग्रह गरेका थिए । पछि अल्ट्रसाउण्ड गरेपछि डाक्टरले फेरि अप्रेशन गरेर हेर्नुपर्ने बताएका थिए । त्यसपछि फेरि अप्रेशन गर्दा डाक्टरले पाठेघरमा समस्या रहेकाले पाठेघर नै झिक्नु पर्ने भनेका थिए ।

घरपरिवारले पाठेघर झिकेरै भए पनि सोनियालाई बचाईदिन डाक्टरलाई आग्रह गरेका थिए ।  डाक्टरले पाठेघर झिकेपछि केही समयपछि सोनियाको अवस्था केही सुधार भएको थियो । पछि आईसीयूमा भर्ना गरिएको थियो । तर बिहान ५ बजेतिर सोनियाको आईसीयूमै ज्यान गएको हो ।

शल्यक्रियामा संलग्न डाक्टर विजय सिंहले पुनः अप्रेशन गर्दा पाठेघरमा रगत जमेको बताउनुभयो । तर रगत कहाँबाट निस्केको भनेर थाहा नपाएपछि आफूहरुले घरपरिवारसँग सोधेर पाठेघर नै झिक्ने निर्णयमा पुगेको बताउनुभयो ।

‘पाठेघर झिकेपछि केही क्षणमै सोनियाको अवस्था सुधार भएको थियो । तर पछि फेरि समस्या हुन सक्छ बाहिर लैजानुहोस् भनेर घरपरिवारलाई अग्रह गरेको थिएँ’, डाक्टर सिंहले भन्नुभयो, ‘घरपरिवारले जसरी भए पनि यहीँ ज्यान बचाइदिनुस् भनेपछि हामीले भेन्टीलेटरमा राखेका थियौं । त्यतिबेला अवस्था केही सुधार थियो । घरपरिवारले पनि बिरामीसँग भेटेका थिए । म त्यतिबेला ड्युटीबाट निस्केको थिए । तर बिहान ५ बजे सोनिकायको मृत्यु भएको आफूलाई जानकारी भयो ।’

सोनियाका पति करणले लापर्बाही ढंगले अप्रेशन गर्दा श्रीमतीको ज्यान गएको भन्दै सम्बन्धित डाक्टरलाई कारबाही गर्न माग गर्नुभयो । ‘मेरो दुई वटा छोरा अनाथ भयो, जनकपुर अञ्चल अस्पतालमा भोलि फेरि कसैले यस्तो भोग्न नपरोस्’, भक्कानिँदै करणले भन्नुभयो, ‘मेरो श्रीमतीको ज्यान लिने डाक्टरलाई कडा कारबाही होस् ।’

मृतक सोनियाको तीन वर्षको अर्को छोरा पनि छन् । लापर्बाही गर्ने डाक्टरलाई कारबाही र क्षतिपूर्ति पश्चात मात्रै शव बुझ्ने परिवारजनले अडान राखेका छन् ।  
सोनियाको मृत्युपछि जनकपुर अञ्चल अस्पतालमा बिहानैदेखि तनाव बढेको छ । घटनापछि घरपरिवारले शव उठाउन मानेका छैनन् । 

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यादवले घटना विषयमा अनुसन्धान टोली बनाएर अनुसन्धान हुने र दोषी डाक्टरलाई कारबाही गर्ने बताउनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया