चिनियाँ राष्ट्रपतिले गरे समुद्रमाथि बनेको विश्वकै लामो पुलकाे उद्घाटन
 

 कात्तिक ६, २०७५ मंगलबार १४:६:१७ | रासस

चीनका राष्ट्रपति सि चिनफिङले समुद्रमाथि बनेको विश्वकै लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गर्नुभएको छ । 

सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ । चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ । 

समुद्रमाथि निर्मित यो पुल ५५ किलोमिटर लामो छ । चीनका राष्ट्रपति चिनफिङले मङ्गलबार त्यो पुल उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा मकाउ र हङ्कङका उच्चस्तरीय नेताहरुको पनि उपस्थिति रहेको बताइएको छ । 

एक वाक्यांशमा उद्घाटन सम्बोधन गर्नुभएका राष्ट्रपति चिनफिङले भन्नुभयो, ‘मैले हङकङ, जुहाई र मकाउ पुल औपरिक रुपमा खुल्ला गरेको छु ।’ उहाँको यो घोषणासँगै त्यो पुल औपचारिक रुपमा खुला भएको छ । 

अर्बौँ डलरको लगानीमा बनाइएको यस पुल सार्वजनिक रुपमा खुल्ला भएपछि हङकङ, चीन र मकाउबीचको व्यापारमा वृद्धि हुने तथा यात्रा सहज हुने अनुमान गरिएको छ । 

चीनका उपप्रधानमन्त्री हान जेङले यस पुलको निर्माण विकासको एक भाग भएको बताउनु भएको छ । यस मेगा ब्रिजले हङकङ र मकाउ शहरसँग दक्षिणी चीनका नौ ओटा शहरलाई आर्थिक लगायतका सञ्जालसँग जोड्ने जेङले बताउनु भएको छ । 

तर विश्लेषकहरु भन्छन्– यो पुल हङकङलाई चीनमा एकीकृत गर्ने थप एउटा बाटो हो र यसले हङकङको स्वतन्त्रताको अभियानलाई थप खुम्च्याउन सक्छ । 

चीनद्धारा निर्मित हङकङ र चीनको मुख्य भूमि जोड्ने यो दोस्रो परियोजना हो । यसअघि गत महिना चीनले हङकङलाई जोड्ने द्रूत गतिको रेल निर्माण गरी सञ्चालनमा आएको थियो ।

चीनले बनायो समुद्रमाथि विश्वकै लामो पुल(तस्बिरसहित)
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया