विश्वकप २०१८ का १२ रंगशाला

 जेठ २५, २०७५ शुक्रबार १४:२९:५६ | उज्यालो सहकर्मी

फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप फुटबल आउँदो विहीबारदेखि शुरु हुँदैछ ।

संसारभरका फुटबल प्रेमीहरू यहि जुन १४ तारिखदेखि शुरु हुने फुटबलको यो कुम्भमेलालाई स्वागत गर्न प्रतीक्षा गरिरहेका छन् । छनोट खेलबाट छानिएका ३२ देशका राष्ट्रिय टोलीबीच हुने प्रतियोगिताले एक महिनासम्म विश्व खेल जगतलाई आफूतिर आकर्षित गर्नेछ ।

रुसले पहिलोपटक आयोजना गर्ने विश्वकप जुलाई १५ तारिखसम्म चल्नेछा । रुसका ११ शहरका १२ वटा रंगशालामा यो प्रतियोगिता खेलाइनेछ ।

ती १२ वटा रंगशाला निर्माणका लागि करिब १० बिलियन अमेरिकी डलर बराबरको रकम खर्च भएको रुसले जनाएको छ ।

कस्ता छन त विश्वकप फुटवलका खेल हुने रंगशालाहरु  

लुज्निकी स्टेडियम

लुज्निकी स्टेडियम रुसको राजधानी मस्कोमा छ ।  यहाँ विश्वकपको उद्घाटन र समापन हुनेछ । यो युरोपकै सबैभन्दा ठूलोमध्येको एक रंगशाला हो । यो मोस्कभा नदीको छेउमा पर्छ ।

दर्शकले रंगशाला जाने मार्गमा विश्व चर्चित कम्युनिस्ट नेता लेनिनको ठूलो कदको मूर्तिसमेत देख्नेछन्।

। सन् १९८० को ओलम्पिक, १९९९ को यूएफए कप फाइनल, २००८ मा म्यानचेस्टर यूनाइटेड र चेल्सीबीचको च्याम्पियन्स लिगको फाइनल र २०१३ मा सम्पन्न विश्व एथ्लेटिक्स च्याम्पियनसिप यसै रंगशालामा भएको थियो ।

पुनर्निर्माण गरिएपछि यो रंगशालाले ‘स्टेडियम अफ दि इयर २०१७’ को सम्मान पनि पाएको थियो । ४ करोड अमेरिकी डलर निर्माण खर्च रहेको यो रंगशालामा ८० हजार दर्शक अटाउनसक्छन् ।

यो रंगशालामा विश्वकपको ७ वटा खेल हुनेछन् । जसमा रुस र साउदी अरेबियाले जुन १४ मा, जर्मनी र मेक्सिकोले जुन १७ मा, पोर्चुगल र मोरक्कोले जुन २० मा, डेनमार्क र फ्रान्सले २६ जुनमा, राउन्ड अफ १६ को १ जुलाईमा हुने खेल, ११ जुलाईमा हुने सेमिफाइनल र १५ जुलाईमा हुने फाइनल खेल हुनेछ ।

कजान एरेना अर्थात कम्युनिस्ट एरा सेन्ट्रल स्टेडियम 

कजानलाई रुसको खेलकुद राजधानी मानिन्छ । पछिल्ला बर्षहरुमा कजान एरेनाले आधुनिक, कलात्मक र महँगो खेल सुविधा सम्पन्नस्थलका रूपमा आफुलाई स्थापित गरेको छ । २०१३मा निर्मित यो रंगशाला इंग्ल्यान्डको वेम्ब्ली र इमिरेट्स रंगशालाको ढाँचामा निर्माण गरिएको छ ।

यो रंगशाला रुसी प्रिमियर लिग अन्तर्गतको क्लब रुबिन कजानको घरेलु रंगशाला हो ।

जुन कम्युनिस्ट एरा सेन्ट्रल स्टेडियमका रुपमा पनि चिनिन्छ । कजानका नदीको छेउमा रहेको यो रंगशालामा ४५ हजार ३ सय ७९ सिट क्षमता छ ।

यो रंगशाला वाटर लिलीको आकारमा अमेरिकी कम्पनी पोपुलोसले निर्माण गरेको हो । जसको लागत झण्डै ४४ करोड अमेरिकी डलर थियो । 

यो रंगशालामा फ्रान्स र अस्ट्रेलियाले जुन १६ मा, इरान र स्पेनले जुन २० मा, पोल्यान्ड र कोलम्बियाले जुन २४ मा, दक्षिण कोरिया र जर्मनीले जुन २७ मा खेल्नेछन् ।  यस्तै, राउन्ड अफ १६ को जुन ३० मा हुने खेल र ६ जुलाईमा हुने क्वार्टरफाइनल पनि यो रंगशालामा हुने तय भइसकेको छ ।

निज्नी नोभ्गोरोड स्टेडियम  

गोलो आकारको निज्नी नोभोगोरोड रंगशाला स्टर्लकामा रहेको छ । दुईवटा नदीको छेउमा रहेकाले यो रंगशाला प्राकृतिक सुन्दरताले मनमोहक छ । २९ करोड अमेरिकी डलर लागत रहेको यो रंगशालामा ४४ हजार ८ सय ९९ दर्शक अटाउन सक्छन् ।

यो रंगशालामा स्विडेन र दक्षिण कोरियाले १८ जुनमा, अर्जेन्टिना र क्रोएसियाले २१ जुनमा, इंग्ल्यान्ड र पानामाले २४ जुनमा, स्विजरल्यान्ड र कोस्टारिकाले २७ जुनमा तथा राउन्ड अफ १६ र क्वार्टरफाइनलका एक–एक खेल हुनेछन् ।

फिस्ट ओलम्पिक स्टेडियम

फिस्ट ओलम्पिक रंगशालाको आकार अण्डाको जस्तो छ । रंगशालानजिकै रहेको फिस्ट माउन्टेनको नामबाट यो रंगशालाको नाम फिस्ट ओलम्पिक स्टेडियम राखिएको हो ।

झण्डै ५२ करोड अमेरिकी डलर निर्माण लागत रहेको यो रंगशालाको निर्माण सन् २०१४ मा सोचीमा भएको हिउँदे ओलम्पिकका लागि ा गरिएको थियो ।

हिउँदे ओलम्पिक र फिफा विश्वकप फुटबल दुवै आयोजना गर्ने भाग्यमानी रंगशालाका रुपमा फिस्ट इटालीको टुरिन रंगशालापछि दोस्रो रंगशाला बन्नेछ ।

४७ हजार ६ सय ५९ दर्शक क्षमता रहेको यो रंगशालामा पोर्चुगल र स्पेनले जुन १५ मा, बेल्जियम र पानामाले जुन १८ मा, जर्मनी र स्विडेनले २३ जुनमा, अस्ट्रेलियामा र पेरुले जुन २६ मा तथा राउण्ड अफ १६ र क्वार्टरफाइनलको एक खेल खेल्नेछन् ।

सेन्ट पिटर्सबर्ग स्टेडियम

रुसका सुन्दर मध्येको एक शहर सेण्ट पिटर्सबर्गमा रहेको यो रंगशालालाई क्रेस्टभेस्की स्टेडियम भनेर पनि चिनिन्छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनको गृहनगरमा रहेको यो रंगशालामा ६४ हजार २ सय ८७ दर्शक अटाउन सक्छन् ।

यो रंगशालाको निर्माण लागत १ बिलियन अमेरिकी डलर लगानी रहेको यो रंगशाला विश्वकै महँगा रंगशालामध्येको एक हो ।

यो रंगशालाबाट पिनल्याण्डको खाडी अवलोकन गर्न सकिन्छ । यो रंगशालामा मोरोक्को र इरानले जुन १५ मा, रुस र इजिप्टले १९ जुनमा, ब्राजिल र कोस्टारिकाले २२ जुनमा, नाइजेरिया र अर्जेन्टिनाले २६ जुनमा खेल्नेछन्। 

यस्तै, राउण्ड अफ १६ र सेमिफाइनलको खेल पनि यो रंगशालामा हुनेछ । 

इकाटेरिनबर्ग एरिना

लुज्निकी स्टेडियमभन्दा झण्डै १ हजार माइल टाढा छ, इकाटेरिनबर्ग एरेना । यो इकाटेरिनबर्ग शहरमा अवस्थित पुरानो तथा केन्द्रीय रंगशाला हो ।

सन् १९५७ मा बनेको यो सोभियत युनियनकालीन रंगशालाको पुनर्निर्माण गर्न २१ करोड ५० लाख अमेरिकी डलर लागेको थियो ।

सन् १९५९ मा भएको विश्व अलअराउण्ड स्पिड स्केटिङ च्याम्पियनसिपको आयोजना यहि रंगशालामा गरिएको थियो । पुनर्निर्माण अघि झण्डै २३ हजार दर्शक क्षमता रहेको यस रंगशालालाई अहिले ३५ हजार ६ सय ९६ सिट क्षमताको बनाइएको छ ।

यो रंगशालामा इजिप्ट र उरुग्वेले जुन १५ मा, फ्रान्स र पेरुले जुन २१ मा, जापान र सेनेगलले जुन २४ मा र मेक्सिको र स्विडेनले जुन २७ मा खेल्नेछन्।

कालिनिन्ग्राड स्टेडियम

यो रंगशाला पश्चिममा पोल्यान्ड र पूर्वमा लिथुआनियाको भू–भागले घेरिएको छ । यो क्षेत्रको पूर्वतिर मुख्य शहर अवस्थित छ । पुनर्निर्माणपछि २५ हजारबाट ३५ हजार २ सय १२ सिट क्षमता बढाइएको यो रंगशालाको लागत खर्च ३० करोड अमेरिकी डलर बराबर छ ।

यो रंगशालामा क्रोएसिया र नाइजेरियाले जुन १६ मा, सर्बिया र स्विजरल्यान्डले जुन २२ मा, स्पेन र मोरोक्कोले जुन २५ मा तथा इंग्ल्यान्ड र बेल्जियमले २८ जुनमा खेल्नेछन् ।

स्पार्टक स्टेडियम

स्पार्टक रंगशाला ओटक्रिएटिए एरेनाका नामले समेत चर्चित छ । यो रंगशाला सन् २००० अघिसम्म जर्जर अवस्थामा पुगिसकेको थियो । ४३ करोड अमेरिकी डलर बराबरको लागतमा सन २०१४ सम्म यो आधुनिकीकरण भएको थियो ।

यो रंगशालाको अघिल्तिर थ्रेसियन तरवारबाज स्पार्टकसको ठूलो कदको मूर्ति कुँदिएको छ ।

रँगशालामा अर्जेन्टिना र आइसल्यान्डले जुन १६ मा, पोल्याण्ड र सेनेगलले जुन १९ मा, बेल्जियम र ट्युनिसियाले जुन २३ मा, ब्राजिल र सर्बियाले जुन २७ मा खेल्नेछन् भने जुलाई ३ मा राउण्ड अफ १६ को एक खेल हुनेछ । 

रोस्टोभ एरिना

डोन नदीको किनारमा रहेको यो रंगशाला सन् २०१४ मा निर्माण गरिएको हो । बगिरहेको नदीको आकृतिमा निर्माण गरिएको यसको छतले सबैको ध्यान तान्ने अनुमान गरिएको छ । यहाँबाट दक्षिण पश्चिममा रहेको रुसको ठूलो शहर सजिलै देख्न सकिन्छ ।

४५ हजार १ सय ४५ जना दर्शक अट्ने यस रंगशाला निर्माण गर्न ३३ करोड अमेरिकी डलर लागेको थियो ।

यो रंगशालामा ब्राजिल र स्विजरल्यान्डले जुन १७ मा, उरुग्वे र साउदी अरेबियाले जुन २० मा, दक्षिण कोरिया र मेक्सिकोले २३ जुनमा, आइसल्यान्ड र क्रोएसियाले २६ जुनमा खेल्नेछन् भने जुलाई २ तारिखमा राउण्ड अफ १६ को एक खेल हुनेछ ।

समारा एरिना

भोल्गा नदीको किनारमा रहेको यस रंगशालालाई कसमस एरेनाको नामबाट समेत सम्बोधन गरिन्छ। समारा तत्कालीन सोभियत संघको अन्तरिक्ष अभियानको उद्गमस्थल पनि हो । तुलानात्मक रूपमा अन्य स्थानमा भन्दा यहाँ रंगशाला निर्माण असहज बनेको थियो ।

यसपटकको विश्वकपका लागि ढिलो निर्माण भएका  रंगशाला मध्ये यो पनि एक हो । जसको निर्माण यसै वर्ष मात्र सकिएको हो । ४४ हजार ८ सय ७ सिट क्षमता रहेको यो रंगशालाको कुल निर्माण लागत ३२ करोड अमेरिकी डलर हो ।

यो रंगशालामा कोस्टारिका र सर्बियाले जुन १७ मा, डेनमार्क र अस्ट्रेलियाले जुन २१ मा, उरुग्वे र रसियाले जुन २५ मा, सेनेगल र कोलम्बियाले जुन २८ मा खेल्नेछन भने जुलाई २ मा राउन्ड अफ १६ र जुलाई ७ मा क्वार्टरफाइनलका एक एक खेल हुनेछन्।

मोर्डाेभिया एरिना

विश्वकप आयोजना हुने शहरमध्येकै सानो शहर सारनस्कमा रहेको यो रंगशाला सन् २०१० मा निर्माण थालिएको र यसै  बर्षमात्र निर्माण सम्पन्न भएको रंगशाला हो । इन्सार नदीको छेउमा अवस्थित ओभल आकार रहेको ५ तले यो रंगशालाको बेसमेन्ट दुई तला छ ।

४४ हजार ४ सय ४२ दर्शक सिट क्षमता रहेको यो रंगशालाको निर्माण लागत ३० करोड अमेरिकी डलर छ ।

यो रंगशालामा पेरु र डेनमार्कले जुन १६ मा, कोलम्बिया र जापानले जुन १९ मा, इरान र पोर्चुगलले जुन २५ मा र पानामा र ट्युनिसियाले जुन २८ मा खेल्नेछन्।

भोल्गोग्राड एरिना

यो रंगशाला रुसको भोल्गोग्राड शहरमा छ । जुन शहर रुसको कम विकसित शहर मध्येमा पर्दछ । सन् १९५८ मा नै निर्माण गरिएको यस रंगशालाको पुनर्निर्माण यसै वर्ष गरिएको हो । यो रंगशाला पुनर्निर्माण गर्ने क्रममा स्टालिनग्राडको युद्धताका विस्फोट नभएका बमहरू पनि भेटिएको थियो ।

५५ हजार ६८ सिट क्षमताको यो रंगशालाको कुल लागत २८ करोड अमेरिकी डलर बराबर छ ।

यो रंगशालामा ट्युनिसिया र इंग्ल्याण्डले जुन १८ मा, नाइजेरिया र आइसल्यान्डले जुन २२ मा, साउदी अरेबिया र इजिप्टले जुन २५ मा र जापान र पोल्यान्डले जुन २८ मा खेल्नेछन्। 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया